Files Photo
जाजरकोट । जाजरकोटका मगर समुदायहरुले हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई माघे संक्रान्ति अर्थात माघी पर्वको रुपमा मनाउने गर्दछन् । माघे संक्रान्ति नेपाल मगर र थारु समुदायहरुले विशेष महत्वका साथ मनाउने भएको कारण नेपाल सरकारले पनि २०६५ सालमा माघे संक्रान्तिलाई मगर र थारु समुदायहरुको राष्ट्रिय पर्व घोषणा गरेको थियो ।
मगर अदिवासी समुदायहरुले माघे संक्रान्तिलाई आफ्नो बितेका पुर्खाहरुको पूजा अर्थात पितृ पूजा गर्ने र छोरीचेलीलाई दक्षिणा दिई सत्कार गर्ने यस्को साथै प्रकृतिसँगको आफ्नो सम्बन्ध प्रगाढ बनाउने गर्दछन् । मगर समुदायहरु रहेका जिल्लाका स्थानीय तहहरुमा माघी पर्व मनाउने गरेका छन । मगर समुदायहरुले माघे सक्रान्तिको अघिल्लो दिन आ–आफ्नो टोलमा भेला भएर सुँगुर, खसी–बोका, राँगो काट्ने, माछा मार्ने साथै वन तरुल लगायत कन्दमूलहरु जाहो गर्ने र विभिन्न खानाका परिकारहरु पकाउने गर्दछन् ।
त्यसको साथै आआफ्ना छोरीचेली र आफन्तहरुलाई माघे पर्वको निम्तो दिने गर्दछन् । माघे संक्रान्तिको दिन विहानै घरमूली लगायत सबै दाजुभाइ नजिकैको खोला, नदी र पँधेरामा गएर नुहाउँछन् । अनि जौ, तिल र मासको दालको टीका लगाई सानो टपरीमा तरुल, जौ, तिल र सिक्का र धुपबत्ती बाली खोलामा बगाउँछन् । यसो गर्नाले वर्षभरिको ग्रहदशा बगेर जाने विश्वास राख्दछन् । नुहाएर आएपछि घरमूलीले घरको चुल्होमा आफनो पुर्खाहरुको नाममा पितृपूजा गर्छन् । र पूजा सकेपछि दाजुभाइले दिदीबहिनीलाई टीका लगाई दक्षिणा दिने गर्दछन् ।
दिदीबहिनी नहुनेले गाउँका छोरीचेलीलाई बोलाएर दक्षिणा दिने गर्दछन् । यसरी विधिसकेपछी, सपरिवार खिचडी र तरुल र मासुको परिकार र जाँडरक्सी खाएर रमाइलो गर्ने गर्दछन् । दिनभर एकठाउँमा भेला भएर सोरठी, घाटु, डाम्फ्या, मारुनी जस्ता नाचहरु देखाउने र मोजमस्ती गर्ने गरेको बारेकोट गाउँपालिका २ का कविराज पुनले बताए ।
अन्य समुदायले पनि मनाउँछन् माघी
जाजरकोटमा रहेका अन्य समुदायले पनि माघीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन । उनीहरुले पनि मगर समुदाय जस्तै मनाउने गरेको पाईन्छ । टिका लगाउने, मिठो परिकार पकाउने, तरुल,कन्दमुल खाने, विहान, धारा,खोला, पधेँरा पुगेर मनाउने गरेको देखिन्छ । नेपाल संस्कृतिक तथा बहुसंस्कृतिको धनि भएकोले एक समुदायको चाडलाई अन्य समुदायले पनि मनाउने गरेको पाईन्छ ।
माघे संक्रान्ति र यसको महत्व
नेपालीहरुले परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ ।
माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको हो भन्ने भनाइ रहँदै आएकोछ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ ।
माघे सक्रान्तिका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भन्दो र मकलसहितको सीदा दाङ गरेमाबिशेष प्राप्त हुने र उक्त फल आफूले खाएमा शरीर पोषिलो हुनुका साथै रोगब्याधी नलाग्ने कुराको उल्लेख भविष्य पुराण, विश्नुबचन तथा धर्म सिन्धुमा उल्लेख गरेको पाइन्छ ।
बिबिध जाति र समुदायको बाहुल्यता रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिल र चिउराका लुगा लगायतका परिकार बनाएर खाने गरिन्छ ।
माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । मगर जातिहरुले यस पर्वलाई ३ दिनसम्म बिशेष धुमधामका साथ् मनाउने गर्दछन् ।पहिलो दिन स्नान गरेर पुर्खा तथा कुलायनको पूजा गर्ने र दिदीबहिनीलाई निशो ले पुज्ने प्रचलन छ । दोस्रो दिन माघ खान बनभोजको रुपमा टाढा जाने गर्दछन् भने अन्तिम दिन गाउँभरिका पुरुषहरु मिलेर तारो हान्ने चलन छ ।
। १ माघ २०७९, आईतवार