जाजरकोट । जाजरकोट दरबारलाई सङ्ग्रहालय बनाउने तयारी गरिएको छ । नेपाल सरकारले चार वर्षअघि बनाएको नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा परेको एक सय वर्षभन्दा पुरानो यस दरबारलाई सङ्ग्रहालय बनाउन लागिएको हो । यसका लागि सम्पदा संरक्षण प्रतिष्ठानले ऐतिहासिक, पुरातात्त्विक सामग्री दान गर्न जाजरकोटवासीलाई आग्रह गरेको छ ।
हाल जिल्ला प्रशासन कार्यालयले प्रयोग गर्दै आएको दरबार सङ्ग्रहालयका लागि जाजरकोट राज्यको इतिहास, मौलिक कला संस्कृति, वेशभूषा, परम्परा, सामाजिक, प्राकृतिक सम्पदाको पहिचान झल्काउने सामग्री प्रतिष्ठानलाई दान गर्न अध्यक्ष जनक केसीले अनुरोध गरे । बाइसे चौबिसे राज्यकालमा जाजरकोटी राजाले शासन गर्दा प्रयोग गरेका दस्तावेज, हातहतियार, भाँडाकुडा, ऐतिहासिक लिखत, वेशभूषा, बाजा, जाजरकोटी राज्यले गोरखा र काठमाडौँका राज्यबाट प्राप्त गरेका उपहार सामग्री, चिठीपत्र उपलब्ध गराउन आग्रह गरिएको छ ।
नेपाल एकीकरणको लडाइँका क्रममा गोरखा र काठमाडौँका राजा र सेनालाई सहयोग गर्ने बेला जाजरकोटी सेनाले विभिन्न स्थानमा प्रयोग गरेका हातहतियार, राजाका सन्तान, तत्कालीन समयमा राज्य शासनका नजिकका व्यक्तिलाई बुझाउन अपिल गरे ।
उनका अनुसार भेरी नगरपालिका–३, पीपलडाँडामा अवस्थित दरबारलाई सुरक्षित, व्यवस्थित, मौलिक र भावी सन्तानका लागि हस्तान्तरण गर्न ऐतिहासिक पुरातात्त्विक सामग्री स्वतःस्फूर्त दान गर्नेलाई सम्मान गरिनेछ । दरबारलाई सङ्ग्रहालयमा परिणत गर्दा इतिहासको सम्मानका साथै सातवटै स्थानीय तहको कला संस्कृति, भाषा साहित्य, वेशभूषा, सामाजिक तथा परम्परागत पहिचान झल्काउने सामग्री राखिने भएकाले सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको केसीले बताए ।
दरबारलाई सङ्ग्रहालय बनाउन आवश्यक सामग्री सङ्कलन गर्न प्रतिष्ठानका जनक केसी, राजुराजा सिंह, प्रचण्डजङ्ग शाह, अच्युतप्रसाद शर्मा र काठमाडौँका लागि समाजसेवी निरज शाह, राजेश्वर कार्की, इन्दिरा शाहलाई तोकिएको छ । आफूसँग भएका सामग्री दान गर्ने व्यक्तिको नाम सङ्ग्रहालयमा अभिलेखीकरण गरी सर्वसाधारणले देख्ने ठाउँमा राखिनेछ ।
सङ्ग्रहालय स्थापना गर्न ५० हजार नगद जिन्सी सहयोग गर्नेलाई मानार्थ विशिष्ट सदस्यता दिने निर्णय गरिएको छ । गत असोज १२ गते ११औँ जिल्ला सभाको बैठकले पेस गरेको दरबारलाई सङ्ग्रहालयसम्बन्धी अवधारणापत्रलाई स्वीकार गर्दै सङ्ग्रहालय बनाउन जिल्ला समन्वय समितिले निर्णय गरेको थियो ।
। २० पुष २०७९, बुधबार