स्थानीय सरकार निमित्तको भरमा

जनप्रतिनिधिहरुले आफूअनुकूल कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई स्वार्थ पूरा गरेको नागरिक अगुवाको आरोप

सुर्खेत । मुगुको छायानाथरारा नगरपालिकामा शिक्षा शाखाअन्तर्गत आठौं तहका अधिकृत ललितजंग मल्लले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । उनले गत वर्ष असारदेखि निमित्तको जिम्मेवारी पाएका हुन् ।

त्यस्तै, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा स्वास्थ्य सेवातर्फका छैटौं तहका अधिकृत मनिराज शाहले झन्डै ३ वर्षदेखि निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । सदरमुकामस्थित मुसीकोट नगरपालिका पनि विद्यालय निरीक्षक बिनाराम खड्काकै भरमा छ । चौरजहारी नगरपालिकामा पनि शिक्षा अधिकृत शेरप्रसाद ढकाललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ ।

७९ स्थानीय तह रहेको कर्णालीमा २६ पालिका निमित्तको भरमा छन् । ती पालिकामा स्वास्थ्य, पशु, कृषि तथा शिक्षा शाखाका प्राविधिक कर्मचारीको भरमा प्रशासनिक काम हुँदै आएको छ ।

कालीकोटमा खाडाँचक्र, रास्कोट नगरपालिका, शुभकालिका, महावै र पलाता गाउँपालिका निमित्तको भरमा छन् । ८ स्थानीय तह रहेको डोल्पामा त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला, मुड्केचुला र काइके गाउँपालिका प्राविधिक कर्मचारीकै भरमा छ । हुम्लाका सिमकोट, नाम्खा, चंखेली, अदानचुली र ताँजाकोट, सल्यानको बन्गाडकुपिण्डे र शारदा नगरपालिका, जाजरकोटको छेडागाड, कुसे, जुनीचाँदे र शिवालय गाउँपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन् । जनप्रतिनिधिहरूले आफूअनुकूल कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई राजनीतिक स्वार्थ पूरा गरेको नागरिक अगुवा कमल खत्रीको आरोप छ ।

‘कतिपय स्थानीय तहले त संघीय सरकारले पठाएका प्रमुखलाई हाजिर गर्नै दिएनन्, उनीहरूबाट आफ्नो स्वार्थ पूरा नहुने भएपछि आफू नजिकका र आफ्नो पार्टी नजिककालाई निमित्तको जिम्मेवारी दिएका छन्,’ उनले भने, ‘यसले स्थानीय तहमा आर्थिक अराजकता देखिएको छ, सबैखाले विकास निर्माणमा जनप्रतिनिधिको हालीमुहाली चलिरहेको छ ।’ कार्यकारी अधिकारसहितको कार्यालय प्रमुख नहुँदा यहाँका अधिकांश स्थानीय तह कामचलाउ भएको अधिवक्ता दिनेश खड्काले बताए । ‘एकातिर प्राविधिक कर्मचारीको शाखाको काम चौपट छ, अर्कोतिर प्रशासन र कानुन नबुझेका कर्मचारी प्रमुख छन्,’ उनले भने, ‘यसले विकास निर्माण मात्र होइन दैनिक सेवाप्रवाहमा नै समस्या बनाएको छ ।’

जुम्लाको चन्दननाथ नगरपालिका पनि निमित्तकै भरमा चलेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका, रुकुम पश्चिमको मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत छैनन् । जनप्रतिनिधिहरू भने संघीय सरकारले कर्मचारी नपठाउँदा समस्या भएको दाबी गर्छन् । यसअघि कार्यरत प्रमुखको सरुवा भए पनि उनको ठाउँमा कोही नपठाइँदा निमित्तको भरमा पालिका चलाउनुपरेको जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले बताए । ‘दुर्गमको स्थानीय तह भन्दै कोही पनि आउन मान्दैनन्, त्यसैले कार्यपालिका बैठकबाट निमित्त तोकेका हौं,’ उनले भने, ‘कार्यालय प्रमुख माग्दै काठमाडौंसम्म पुगियो तर सुनुवाइ नै भएन ।’

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका प्रमुख गणेशकुमार शाहीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक आग्रह गर्दा पनि कार्यालय प्रमुख नपठाइदिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया