सुर्खेत : वन जोगाउन जाजरकोटको एउटा सामुदायिक वन उपभोक्ता समूहले स्थानीयलाई खाना पकाउने ग्यास वितरण गरेको छ।
दाउराको खपतले वन विनाश बढेको भन्दै शिवालय गाउँपालिका–१ को चुली सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास सिलिण्डर र चुलोलगायतका सामग्री वितरण गरेको हो।
समूहमा आबद्ध १ सय १५ घरधुरीलाई १/१ सेट एलपी ग्यासका सिलिण्डर, चुलो, लाइटर, रेगुलेटर र पाइपलगायत सामग्री वितरण गरेको समूहका अध्यक्ष धनीराम रानाले जानकारी दिए। उपभोक्ताको मागअनुसार १ सय १५ घरधुरीलाई नै १/१ सेट ग्यास सिलिण्डर लगायतका सामग्री वितरण गरिएको हो।
समूहमा सल्लाको खोटो संकलन र अन्य लगायतका शीर्षकबाट २१ लाख रूपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्येबाट ८ लाख २६ हजार रूपैयाँमा उक्त सिलिण्डर, ग्यास चुलो लगायतका सामग्री खरिद गरिएको अध्यक्ष रानाले बताए।
समूहले वार्षिक कार्यक्रममा नै उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गर्ने कार्यक्रम तय गरेको थियो। ‘समूहको खातामा २१ लाखभन्दा बढी रकम थियो, सोही रकममध्ये ८ लाख २६ हजार बराबरको रकमले सिलिण्डर लगायतका सामग्री खरिद गर्यौं’ अध्यक्ष रानाले भने, ‘वन जोगाउन सकिन्छ कि भनेर हामीले उपभोक्तालाई ग्यास वितरण गरेका हौँ।’
चुलीका अधिकांश बासिन्दाले खाना पकाउने र आगो ताप्न दाउरा प्रयोग गर्दै आएका छन्। यसले गर्दा दाउराका लागि रुख काट्नुपर्ने र त्यसले वन फँडानी हुने गरेको छ। यही कारण समूहले उपभोक्तालाई ग्यास प्रयोग गरेर वन जोगाउन यस्तो रणनीति अपनाएको हो।
ग्यास चुलो वितरण गरेसँगै वन विनास जोगिने र उपभोक्ताको स्वास्थ्यसमेत फाइदा पुग्ने समूहको अपेक्षा छ। दाउरा प्रयोगबाट निस्कने धुँवाले श्वासप्रश्वास लगायतका समस्या निम्त्याउने जोखिम हुन्छ। ग्यास प्रयोग गर्दा धुँवा नआउने र दमपीडितलाई राहत हुने उपभोक्ता समूहका अध्यक्ष रानाले बताए।
चुलीका नागरिकले प्रतिघर वार्षिक २० देखि २५ भारीसम्म दाउरा खपत गर्दै आएका छन्। यसले गर्दा ठूलो मात्रामा वन विनाश बढेको छ। ग्यास वितरणसँगै वन विनाश रोकिने समूहको अपेक्षा छ।
। १८ पुष २०७९, सोमबार