सुर्खेत । बिहानको झिसमिसेमै मस्तले निदाएका आँखा खुल्छन् । झिसमिसेमै चारैतिर हरियाली र घना जंगलको यात्रा सुरु हुन्छ । घरबाट हिड्दा हिड्दै डाडामाथि घाम झुल्केपछि बल्ल वरिपरि हरियो घनाजंलमा गएर पाइला अड्किन्छन् । चारैतिरको दृश्य हेर्दा मन मष्तिस्क कुनै नयाँ स्वर्गमा पुगेको पत्तै हुँदैन । जब घामको तातो रन्को आँखा कान हुँदै पुरै शरिरमा लागेपछि स्वर्गबाट पृथ्वीमा झरेझै भान हुन्छ ।
चिरविर चिरविर चराचुरुङ्गीको आवाजसँगै जंगलको उकालो ओरालो बाटो हिडेको पत्तै हुँदैन । जीवजन्तुको आवाज गुञ्जिने वित्तिकै स्वर्गबाट झरेझै भान गराउने बारेकोट आसपासका जंगलहरु । त्यही जंगलहरुका पाखा पखेरा, खोल्साखुल्सी, देउराली भञ्ज्याङ्ग र मोतिझै टल्केका हिमालहरुमा पुग्छन् जाजरकोटको बारेकोट गाउँपालिका –०५ गोविन्द सिंह । उनी जीवजन्तु र चराचुरुङ्गी संरक्षणकर्मी हुन् ।
कम्मरको एकसाइटमा पटुकी झैँ कसक्क कसेको खुरपेटोमा हँसिया । काँधमा क्यामेरासँगै ट्राइर्पोट र घाँटीमा दुरबिन । जाजरकोटको बारेकोटका जंगलहरुमा उकाली ओराली गर्दाका साथी हुन् । गोविन्दका साथी हुन् । यिनीहरुसँगको सम्बन्ध अटुट र गहिरो छ । घाटीमा भिरेको दुरबिनले टाढा टाढाको दृश्यलाई आँखामा मात्र अटाएर सिमित राख्दैनन् । त्यस्लाई गहिरो खोज, अनुसन्धान गरेर त्यस्को पिँधसम्म पुग्छन् । काँधमा बोकेको क्यामेराले मोतिझै टल्केका सेता हिमाल र प्रकृतिलाई क्यामेराको लेन्समा कैद गर्छन् ।
यि साथीसँगै वन्यजन्तु र चराचुरुङ्गी उनका प्रिय साथी हुुन् । उनै प्रिय साथीहरुलाई सिकारीले थापेको पासोबाट घाइते भएकाहरुको उद्धारसँगै क्यामेराको लेन्समा तस्बीर कैद गर्छन । उद्धार गर्ने क्रममा कहिले मृगलाई पासोबाट उम्काएर सँगै साथी बनेर जंगलमा छोडिदिन्छन् । त, कहिले लाटोकोसेरोलाई उद्धार गरी उपचार गरेर जंगल पठाउँछन् । जङ्गल पठाएको लाटोकोसेरो सधैका लागि मित लगाउन गोबिन्द कहाँ पुग्छ ।
कहिलेकाँही दुरबीन बाट टाढाको सुन्दर दृश्य आँखामा राख्नलाई र फोटो क्यमेराको लेन्समा मात्र अट्नलाई मात्र होइन । जसरी सिङ्गो हिमालको दृश्य र दुरबीनबाट टाढाको दृश्य पनि नजिकबाट देख्छन् त्यसरी नै जंगलमा रमाएका विभिन्न जीव जनावर र चराचुरुङ्गीको हालखबर निहालेका हुन्छन् । जीवजन्तु र चराचुरुङ्गीको बाच्ने अधिकार सुरक्षित राखेका हुन्छन् । मानव नै हिंस्रक बनेको यो समाजमा उनी जनावरको जीवन सुरक्षामा सैनिकको भुमिका निभाइरहेका छन् । जीवजन्तु र चराचुरुङ्गीहरुलाई आपतविपतबाट मुक्ति दिने भगवान र सिकारीका लागि पागल, बहुला र दुश्मन नै कहलिएका छन् ‘गाविन्द’ उनी ।
२०४४ सालमा सरकारी सेवा सुरू गरेका उनी जुम्लामा बाह्र वर्ष बसे । जाजरकोट बसेको बीस वर्षभन्दा बढी भयो । अन्यत्र पनि बसे ।
पेशाले भेटेरेनरीतर्फका सरकारी अधिकृत हुन उनी । बारेकोट गाउँपालिकामै कार्यरत छन् । यसरी नै वन्यजन्तु र चराचुरूंगीको खोजी र उद्धार गर्न थालेको एक दशक हुनै लाग्यो ।
गोविन्द बिहानको झिसमिसेमै घामको किरण नझुल्किनु पहिलेही जङ्गल पुग्छन् । जङ्गल घुमेर वन्यजन्तु र चराचुरूंगीका तस्वीर खिच्छन कतै चोरी शिकार गर्नेहरूले मृग मार्न पासो थापेका रहेछन् भने निकाल्छन् । पासोमा परेर घाइते भएका जनावर उपचार गर्छन । लामो उपचार चाहिने भए घरै लैजान्छन् । जंङ्गलमा चोरी सिकारी गर्नेको संख्या बढ्दो छ,’उनले भने, ‘जङ्गलमा पासोमा परेका जीवजन्तुको उद्धार गर्छु । घाइते भएकालाई उपचार गर्छु र लामो उपचार गर्नुपर्ने भए घरमै लिएर उपचार गरेर जङ्गलमै छोड्दिन्छु ।’
पेशाले भेटेनरी तर्फका सरकारी अधिकृत हुन् । हाल बारेकोट गाउँपालिकामा कार्यरत छन् । बारेकोटका जंगल जंगल धाउछन् । चराचुरुङ्गी र जीवजन्तुका लागि भगवानका रुपपा प्रकट हुन्छन् उनी । अफिस समय अफिसमा बिताएर साँझ र बिहानको समय जंगलमा बिताउँछन् । व्यक्तिगत रुपमै आफ्नो तलबको ५० प्रतिशत रकम जङ्गलका लागि छुट्याउदै आएका छन् ।
गुलेली किन्छन्, पासो निकाल्छन् गोविन्द
गाउँलेहरूलाई गुलेली नबनाउन र नबोक्न अनुरोध गर्छन । पसलहरूमा पुगेर समेत गुलेली नबेच्न आग्रह गर्छन । कसैले बेच्न राखेको रहेछ भने आफैँ किनिदिन्छन ।
जीवजन्तु र चराचुरुङ्गीका भगवान र सिकारीका लागि पागल बहुलाह कहलिएका उनी गाउँभरि देखे सुनेका गुलेली किन्छन् । चराचुरुङ्गीको बाच्ने अधिकार सुनिश्चित गर्छन । अहिले उनीसँग गुलेलीको थुप्रो छ ।
उनीसँग अहिले पाँचसय गुलेली छन् । २६० वटा पासो निकालेका छन । चराहरूको संरक्षणका खातिर गाउँघरमा भए सुनेका गुलेलीहरुले किन्छु,’ उनले भने, ‘मानिसहरू गुलेली किनेर चरा नमारून भनेर मैले आफ्नो गाउँतिरका पसलमा भेटे जति गुलेली किन्छु र आफैंले राख्छु ।’
उनको यस्तो व्यवहार उनका गाउँलेलाई अनौठो लाग्छ । कतिपयले दाताबाट पैसा ल्याएर जंगल घुम्छ भन्छन । कतिपयले त उनलाई बिदाको समयमा घरको काम नगरेर जंगल घुम्नेवाला बहुलाहा, कुकुरले टोकेको मान्छे समेत भनिदिन्छन् ।
समाजको दृष्टिकोण यस्तो नकारात्मक भए पनि निराश छैनन उनी । आफ्नै लगानी र इच्छाले वन्यजन्तु तथा चराचुरूंगीको उद्धार गर्छन । व्यक्तिगत खर्च गरेरै पनि चोरी शिकार नियन्त्रणमा लागेका छन ।
पासो फेला पारेर ल्याउनेलाई पारिश्रमिक दिन्छन्
प्रकृतिमा रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन र मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितीमा पुरा पर्यावरण सन्तुलन नै बिग्रन्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी ।
हाम्रा पूर्खाहरुले यो कुरालाई निकै गहन र मिहिन ढंगले अनुभूत गरेका थिए । त्यसैले उनीहरुले प्रकृतिलाई पूज्दै आए । प्रकृतिलाई नै ‘देउता’ माने, जो दृश्य÷अदृश्य रुपमा सर्वत्र छाएका छन ।
बोट–बिरुवा, वनजंगल, हावा, पानीदेखि चराचुरुंगी, सर्पसम्म मानव जीवनका अभिन्न सहयात्री हुन भन्ने बोध गरेर यिनीहरुको पूजा गर्ने र संरक्षण गर्ने विधी अपनाए । तर, अहिलेको समाज स्वार्थी बन्दै गएको छ । सबै मास्न मात्र खोज्न् संरक्षणमा कमैले मात्र चासो राख्छन् । म नै खाउ म न गरुँ भनेर आफ्नो र आफ्ना लागि मात्र गर्नेको जमात बढ्दो । त्यही जमातमा अरुका लागि गरौँ भन्ने एक उदाहरण उनै गोविन्द हुन् । आफ्नो भन्दा अरुका लागि धेरै कुरा त्यागेका ’ छन् ।
आफ्ना लागि नभएर जीवजन्तु र चराचुरुंगीका लागि आफ्नो आधा तलब जंगलमा खर्च गर्छन् । त्यो पनि मानवले नै जंगलमा मृग मार्न फलामको पासो थापिएको हुन्छ । मोटरसाइकलको चेनबाट पनि पासो बनाइएको हुन्छ । उनी पासो भेटेसम्म आफैं निकाल्छन । कहिलेकाहीँ पारिश्रमिक दिएर पनि पासो खोज्न कसैलाई जंगल पठाउँछन् । ‘भेटाएसम्म आफैं (पासो) उठाउँछु, नत्र अरू मानिसलाई व्यक्तिगत रूपमा पैसा दिएर पनि जंगल पठाउँछु,’ उनी भन्छन्, ‘जंगलमा सिकारीले थापेको पासोमा परेर जीवजन्तु र जनावर नमरुन भन्नका लागि एउटा पासो निकालेको पाँच सय रुपैयाँसम्म दिने गरेको छु ।’
अहिलेको यो समयमा जीवजन्तु र चराचुरुंगीका लागि आफ्नो आधा तलब बाँड्ने सम्भवः उनै होलान् । त्यसैले त गाउँमा उनलाई पागल र बहुलाह भनेर होच्याउछन् । त्यसरी जंगल पसेकाले ल्याएको पासो गनेर पैसा दिन्छन । चोरी शिकारीबाट जंगली जनावर जोगाउन जंगलबाट पासो उठाउने गरेको उनले बताए ।
संरक्षणसँगै नयाँ वन्यजन्तु र चरा खोजी गर्नु गोविन्दको उद्देश्य
गोविन्दको वन्यजन्तु संरक्षणमा मात्र चासो सिमिति भने होइन । उनी वन्यजन्तु संरक्षणसँगै जंगलमा भेटिने कसैले नदेखेका नभेटेका वन्यजन्तु र चरा खोजी गर्नु पनी उनको उद्धेश्य हो । नयाँ वन्यजन्तु र चराचुरुंगी खोजी गर्नका लागि १५ दिन जंगलमै बसेको पनि उनी स्मरण गर्छन् । नयाँ वन्यजन्तु र चरा खोज्नका लागि उनी जंगलमा उनी सुरक्षित रुपमा ओडारमा बास बस्छन् । सातु, चिउरा, दालमोठ, बदामजस्ता घरबाट लिएका खानेकुरा बोकेर जान्छन् । गोविन्द हाल सर्प, गिद्ध र पुतलीको अध्ययनमा छन् ।
‘आफ्नो जिल्लामा दुर्लभ वन्यजन्तु केके छन् भनेर खोजी गर्ने अभियान पनि हो । जंगलमा भेटिएका घाइते वन्यजन्तुको उद्धार गरी घरमै उपचार गर्ने गरेको छु,’ उनी भन्छन, ‘हाम्रोतिर चोरी शिकारी धेरै छ । वन्यजन्तु अकालमा मर्नबाट जोगाउने मेरो उद्देश्य हो ।’
जाजरकोटको पूर्वी भेगका जंगल घुम्ने क्रममा आफूले चार जातका हिमाली गिद्धका ३४ वटा गुँड भेटाएको गोविन्दले बताए ।
उनका अनुसार नेपालमा तीस वर्षदेखि नभेटिएको दुर्लभ वन्यजन्तु कालो ओत (युरेसियन ओटर) बारेकोटको जंगलमा भेटेका छन् । यसलाई उनले आफ्नो अध्ययनको निकै महत्वपूर्ण उपलब्धी मानेका छन् ।
गोविन्द कहिलेकाहीँ त कार्यालयमा बिदा लिएर पनि जंगल घुम्ने गरेका छन् । सार्वजनिक बिदाको दिन त उनी जंगलमै हुन्छन् । कार्यालय समयपछि पनि सकेसम्म कुनै न कुनै जंगलमा पुग्छन ।
विश्वका दुर्लभ वन्यजन्तुमध्ये रातो पान्डा, कस्तुरी, ब्वाँसो, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिज जाजरकोटका जंगलमा भेटेको उनले बताए । उनले आफूले भेटेका जनावरको फोटो खिच्ने गरेका छन ।
आफ्नै रुची आफ्नै खर्च
गोविन्दका अनुसार उनले यस्तो काम आफ्नै रुचिमा गरेका हुन । यसमा लाग्ने खर्च पनि उनको निजी नै हो । खर्चको विषयमा मानिसहरू उनको कुरा पत्याउँदैनन् । भित्र भित्रै कुनै दाताको पैसामा चलेको शंका गर्छन । ‘जंगलमा गएर मैले वन्यजन्तु र चराचुरूंगीको उद्धार गर्दा मानिसहरू डोनर (दाता) बाट पैसा ल्याएर गरेको भन्छन् पैसा कमाउँछ भन्छन्,’ गोविन्दले भने, ‘कतिले त आफ्नो तलब खर्च गरेर जंगल घुम्न बहुलाहा कुकुरले टोकेको छ र पनि भन्छन् मलाई यसमा कुनै गुनासो छैन । मेरो अभियान जारी रहन्छ ।’
उनी जाजरकोटमा मात्रै सीमित छैनन सुर्खेत, दैलेख, सल्यान, रूकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, बाँके र बर्दियाका पनि जंगल घुमेका छन् । बारेकोट गाउँपालिकामा दुई वर्ष प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे । त्यस बेला जंगल पस्न पाएनन् । उनले भने, ‘प्रमुख जिम्मेवारीमा भएकाले जंगलतिर जान खासै समय मिलेन, प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी छोडेँ ।’
उमेरअनुसार उनको सेवा अवधि पाँच वर्ष बाँकी छ । यतिन्जेल आफ्नो अभियान जारी रहने उनले बताए । आफ्नो अभियानमा हालसम्म निजी रूपमा करिब दश लाख रुपैयाँ खर्च भएको बताए । उनलाई सेवा निवृत्त भएपछि आफ्नो अभियान के होला भन्ने चिन्ता लाग्न थालेको छ । उनी भन्छन्, ‘अहिले पो तलब आउँछ र खर्च गर्न पाउँछु । जागिर छोडेपछि त पैसाको समस्या हुन्छ ।’
आफूले गरेको अध्ययन दस्तावेजका रूपमा विकास गर्ने उनको योजना छ । उनका अनुसार हालसम्म नेपालमा ८८७ प्रजातिका चरा पाइएको रेकर्ड छ । उनले तीन सय प्रजातिका चराको फोटो खिचेका छन् । ‘मैले वन्यजन्तु र चराचुरूंगीका तस्वीरहरू जानकारीसहित दस्तावेजका रूपमा राख्न सकेँ भने पछिल्लो पिँढीलाई पनि सजिलो हुन्छ भन्ने लागेको छु,’ उनले भने ।
गोविन्दका अनुसार जाजरकोटको बारेकोट क्षेत्र दुर्लभ रातो पान्डा पाइने ठाउँ हो । त्यस क्षेत्रमा बर्सेनि ती पान्डाका छालासहित मानिसहरू पक्राउ पर्ने गरेको उनले बताए । दुर्लभ जनावरको संरक्षणका लागि उचित व्यवस्था नभएको उनी बताउँछन् ।
नेचर्स हिरो अवार्डबाट सम्मानित
प्रकृति र वन्यजन्तुलाई प्रिय साथी मानेर संरक्षणमा अभियानमा जुट्ने, प्रकृतिलाई संरक्षण गर्ने जुट्नेलाई प्रदान गरिने पुरस्कार हो । (नेचर हिरो) अवार्ड । सोही योगदान गर्न जुटेका अभियान्ता सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका छन् । गत मंसिर १७ गते नेपाल पंक्षी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाको अवसरमा उनी बर्डलाइफ (नेचर्स हिरो)को उपाधि सहित सम्मानित भएका थिए ।
स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयम्सेवी योगदान पु¥याउने सिंह र बर्दियाका राम शाहीलाई बर्डलाइफ प्रकृति नायकको उपाधीबाट सम्मानित भएका थिए । प्रकृतिको संरक्षण, जीबजन्तु र पशुपंक्षीको संरक्षण, खोज र अनुसन्धानमा महत्वपुर्ण योगदान पु¥याउने दुई जनालाई प्रकृतिका हिरो अवार्डबाट सम्मानित गरिएको पंक्षी संरक्षण संघका अध्यक्ष डा. करण शाहले बताए ।
नेपालबाट दुई जनाको नाम छनौट गरिएको हो । बर्दिया जिल्लाको बर्दिया नेचर कन्जर्भेसन क्लबका अध्यक्ष रामबहादुर शाही र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेर समग्र जिल्लाको प्रकृति संरक्षणमा योगदान पु¥याएका गोविन्द्र बहादुर सिंहलाई एक कार्यक्रम बिच सम्मानित गरिएको थियोे । यी दुई जनाले विश्वभरबाट छनौट भएर आएका अभियान्ता सँग प्रतिस्पर्धा गर्नेछन् । –स्वतन्त्र समाचार
। १७ पुष २०७९, आईतवार