पैंकको मष्टो मन्दिरमा किन आउँछन् हजारौं दर्शनालु ?

May be an image of 1 person and outdoors

जाजरकोट । सदरमुकाम खलंगादेखि चार घण्टा गाडीमा हिँडेपछि कुशे गाउँपालिका वडा नम्बर ९ स्थित पैंक मष्टा मन्दिरमा पुगिन्छ । दैनिक सयौं सर्वसाधारणले पूजा र दर्शन गदै आएको काठमाडौंको महांकाल देवीको उत्पतिस्थल पनि जाजरकोटको कुशे गाउँपालिका–९ पैंक स्थित मष्टा देवताको मन्दिर र महाकाल देबताको मन्दिर संगसंगै रहेको छ ।

यहाँ दैनिक मानिसहरु आफ्नो बारेमा, आफन्तको बारेमा के हुन्छ भन्दै भविष्य हेराउन र विगतमा भएका समस्याका विषयमा हेर्न लगाउनका लागि पैंकको मष्टा मन्दिरमा आउँनेको संख्या ठुुलो छ । सबैको भाग्य रेखा हेर्ने दायित्व वोकेको ऐतिहासिक तथा धार्मिक महत्वका दृष्टिले निकै लोकप्रिय मष्टा मन्दिर क्षेत्रको उचित संरक्षण र सम्वर्धन गर्न सके ठूलो धार्मिक पर्यटकीय क्षेत्र बन्न सक्ने जानकारहरु बताउँछन् ।

सडक र विजुली अनि सञ्चारको पहुँच नभएकोले मष्टा र महाकाल मन्दिरको उचित प्रचार प्रसार नहुँदा त्यति धेरै चर्चामा छैन । निकै महत्वपूर्ण धार्मिक इतिहास बोकेको छ । मष्टा महाकाल मन्दिर जाजरकोट राज्यको इतिहाससँग समेत जोडिएको छ । मष्टा देवताको उत्पत्ति सुरुमा जुम्लाको ढडार भन्ने स्थानमा भएको थियो । ढडारबाट मुगु र बाजुराको बीचमा पर्ने कौवा भन्ने ठाउँमा पूर्ण मष्टा देवता देखा परेको स्थानीय वुद्धिजिवीहरुको भनाई छ ।

कौवाबाट ६ सय वर्षअघि जुम्लाको वुडु हुँदै बाजुरा र मुगुको सिमानाबाट मष्टा देवता जाजरकोटको पैंकमा आएको धार्मिक विश्वास छ । पैंकको मष्टा मन्दिरमा अहिलेसम्म धामीहरुको पुस्ता २६ पुगेको छ । स्वर्गका राजा भगवान् इन्द्रका चेलाको रुपमा चिनिने मष्टा देवताका १२ भाइ हुने गर्दछन् । तीमध्ये जाजरकोटमा तीन भाइहरु रहेको उनीहरु बताउँछन् । पैंकका तीन स्थानमा रहेका मष्टाहरुमा दारे मष्टा देवता पैंकमा, लाटो मष्टा देवता पैंककै विजुलिडाँडामा र दूधे मष्टा पैंककै कफल्लामा रहेका छन् ।

अहिले पनि मन्दिर भित्र आगोको ज्वालाको प्रतिको रूपमा फटीकशिला (संकेत) रहेको र सवैले सधै देख्न नपाए पनि कुनै विशेष दिनमा कोहि कोहिले मात्र देख्ने गरेको स्थानीय बताउँछन् । २०३४ सालमा मन्दिरमा रहेको महत्वपुर्ण मूर्ति चोरी भएको र कसैले पनि उक्त मूर्ति खोजी नगरेको स्थानीयवासीको दुखेसो छ । अहिले पनि पूर्णिमाको दिन वा अन्य कुनै विशेष दिनमा मष्टा मन्दिरका धामी र पूजारीले केही चमत्कारपूर्ण काम गर्ने गरेको स्थानीयको भनाई छ ।

भदौं पूर्णिमा इन्द्रजात्रा र अरु पूर्णिमाहरुमा यहाँ निकै ठूलो मेला लाग्ने गर्दछ । स्थानीयहरुको मष्टा मन्दिरप्रति निकै ठूलो आस्था र विश्वास रहेको छ । मन्दिरमा बोकाको बली चढाउने, धामीहरु देवता चढेको बेला नाँच्ने, तथा अन्य रमाइला तथा धार्मिक क्रियाकलाप हुने गरेका छन् । पैंकको मष्टा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे बाहिर प्रचारप्रसार नहुनुले मन्दिर ओझेलमा परेको स्थानीयवासीहरुको जनागुनासो रहेको छ ।

तपाईको प्रतिक्रिया