भेरी नदीमा विक्रान्तको शव भेटिएको सल्यान प्रहरीको पुष्टी


नविन पि.एम.
सल्यान । सल्यानमा भेरी नदीमा एक पुरुषको शव भेटिएको छ । शुक्रबार बेलुकी करिब ५ बजेको समयमा जिल्लाको पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर २ कालाभिर, कुनिंगा नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शव जाजरकोट भेरी नगरपालिका ३ का अन्दाजी २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए । भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।

खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको प्रहरीले जनाएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का पछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरी निरीक्षक गोपालप्रसाद श्रेष्ठले बताए ।

जाजरकोटमा परिवारले विक्रान्तको शव नभेटिएपछि कुसको शव बनाएर दाहसंस्कार गरेका थिए ।

तपाईको प्रतिक्रिया