सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते हुने भएको छ । सांसदहरुको शपथ कार्यक्रम तोकिसक्दा पनि दलहरुले संसदीय दलको नेता छान्ने विषयमा खासै चासो देखाएका छैनन् । केन्द्रबाट अहिलेसम्म कुनै निर्णय नआएकाले नेताहरु संसदीय दलको नेता छान्ने प्रक्रियामा प्रवेश नै नगरेका हुन् । सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रबाट २÷२ जनालाई मुख्यमन्त्रीको आकांक्षीको रुपमा हेरिएको छ ।
तर संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा दलहरुभित्र अहिलेसम्म कुनै छलफल नभएको नेताहरुको भनाइ छ । प्रदेशका नेताहरु संसदीय दलको नेता बन्ने र सरकारको नेतृत्व सुरुमा कसले गर्ने भन्ने विषयलाई लिएर राजधानी काठमाडौंतर्फ केन्द्रित भएका छन् ।
बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू नै फेरि मुख्यमन्त्री बन्ने दाबी गरिरहेका छन् । कांग्रेसबाटै राजीव विक्रम शाहले पनि मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेतामा दाबी गरेका छन् ।
बिहीबार बसेको कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले प्रदेशसभा संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसका लागि तीन सदस्यीय समिति गठनसमेत गरिसकेको छ । समितिको संयोजकमा कृष्णबहादुर रोकाय, सदस्यमा खगिसरा आचार्य र दमनबहादुर शाही छन् ।
प्रदेश कमिटीका प्रवक्ता समेत रहेका शाहीका अनुसार समितिको बैठक बसेर कहिले संसदीय दलको नेता छान्ने भन्ने विषयमा कार्यसूची निकाल्ने छ । साथै बिहीबारको बैठकले कर्णालीमा वर्तमान गठबन्धनलाई कायम राखी कांग्रेसकै नेतृत्वमा पहिलो चरणमा सरकार गठन गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।
जाजरकोटबाट निर्वाचित कांग्रेस केन्द्रीय सदस्य समेत रहेका राजीव विक्रम शाह आफू कुनै पनि हालतमा दल नेताबाट ‘ब्याक’ नहुने बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘उहाँ (जीवनबहादुर शाही) यसअघि पनि पटक–पटक लाभको पदमा पुगिसक्नुभएको छ, मैले उहाँको विरोध गरेको होइन, तर मलाई उहाँले समर्थन गर्नुपर्छ ।’
मुख्यमन्त्री जीवन शाहीको एक वर्षे कार्यकाल सन्तोषजनक नरहेको र शाहीको विकल्पमा आवाज उठिरहेकाले पनि शाह आफ्नो दाबी स्वाभाविक रहेको बताउँछन् । कांग्रेसका एक सांसदले पनि कांग्रेसभित्र विकल्पको आवाज उठिरहेको बताए । ती सांसदका अनुसार दल नेतामा जीवनबहादुर शाहीलाई नै निरन्तरता दिने कि विकल्प खोज्ने भन्ने विषयमा दुई थरी कुरा उठिरहेका छन् ।
उनले भने, ‘पार्टीभित्र सबैका आ–आफ्ना धारणा सुनिएका छन्, तर अहिलेसम्म कुनै छलफल हुन सकिहेको छैन ।’ कांग्रेस प्रदेश सभापति ललितजंग शाहीले सकेसम्म सहमतिको आधारमा जाने गरी अघि बढ्ने र यदि त्यसो नभएको खण्डमा चुनावको माध्यमबाट अघि बढ्ने बताए ।
पार्टीभित्र सिनियरताको आधारमा मुख्यमन्त्री शाहीको सम्भावना बढी देखिन्छ । शाही पार्टीभित्र कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य छन् भने शाह केन्द्रीय सदस्य हुन् । तर सधैँ एउटैलाई अवसर दिइराख्ने हो भने पार्टी कमजोर हुने अर्कोथरीको भनाइ छ । कांग्रेसमा शाह र शाही दुवै संस्थापन पक्षको प्रतिनिधित्व गर्दछन् ।
कर्णालीमा कांग्रेसका १४ सांसदमध्ये संस्थापन इतर पक्षका ३ जनामात्र छन् । इतर पक्षबाट दलको नेताका लागि अहिलेसम्म कसैले दाबी गरेको छैन ।
संस्थापन इतर पक्षधर मानिने सांसद कृष्णकुमार विसी सकेसम्म दल नेताका लागि सर्वसम्मत तरिकाले अघि बढ्नुपर्ने तर्क राख्दछन् । उनले भने, ‘इतर पक्षबाट दल नेताका लागि खासै केही सोचिएको छैन तर परिस्थिति आएपछि नकार्ने कुरा पनि हुँदैन, त्यसैले अहिले जुन चर्चा भइरहेको छ, त्यही विषयमा पनि चुनाव हुनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो मान्यता हो ।’
यद्यपि प्रदेशमा जतिसुकै चर्चा गरिए पनि दल नेताका लागि नेताहरुले केन्द्रको निर्णय कुरिरहेका छन् ।
माओवादीमा शर्मा की विष्ट ?
गठबन्धनभित्र कै अर्को दल माओवादीले ११ गतेपछि मात्रै संसदीय दलको नेता छान्ने तयारी थालेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार अहिले धेरैजसो सांसद, नेताहरु काठमाडौंमा भएकाले ११ गते सांसदको शपथ भइसकेपछि मात्रै यो विषयमा निर्णय हुने छ ।
माओवादीबाट राजकुमार शर्मा र विन्दमान विष्टको नाम दल नेताका लागि चर्चामा छ । रुकुम पश्चिमका शर्मा पार्टीभित्र विष्ट भन्दा सिनियर हुन् । तर विष्टले भने पार्टी केन्द्रको निर्णय मान्नुपर्ने तर्क गरिरहेका छन् ।
यसअघि प्रदेश सरकारको अर्थमन्त्री भइसकेका विष्ट माओवादीभित्र सम्भावना बोकेका नेतामा गनिन्छन् । उता शर्माले पनि दल नेताका लागि ‘लविङ’ गरिरहेका छन् ।
एमालेमा कँडेल कै चर्चा
यता १० सिटसहित तेस्रो दलको हैसियतमा रहेको एमालेमा भने एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको सम्भावना बढी देखिएको छ । कँडेलको विकल्पमा एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाहको नाम चर्चामा छ । यद्यपि अहिलेसम्म पार्टीभित्र दलको नेताका लागि छलफल हुन नसकेको नेताहरुको भनाइ छ ।
प्रदेश अध्यक्ष शाह दल नेताका लागि काठमाडौंमा केन्द्रीय नेताहरुसँग ‘लविङ’गरिरहेका छन् । यतिबेला एमालेका धेरैजसो सांसद काठमाडौंमै छन् । सांसद यामलाल कँडेलले दल नेताको लागि अहिलेसम्म खासै छलफल नभएको रातोपाटीलाई बताए । उनले भने, ‘एमालेभित्र अन्य दलको जस्तो समस्या छैन, हामी सहज तरिकाले दलको नेता छान्छौँ, चर्चा परिचर्चा र अनुमान गर्ने कुराहरु आ–आफ्ना हुन्छन्, त्यसलाई अस्वाभाविक मान्नु पर्दैन ।’
पार्टीभित्र शाह भन्दा कँडेल सिनियर भएकाले कँडेलको विकल्प नहुने एमालेभित्रका एकथरी नेताहरुको भनाइ छ भने शाहको चर्चालाई पनि अन्यथा लिन नहुने अर्कोथरी नेताहरुको भनाइ छ । शाहले चुनावको समयमा आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा भोट मागेका थिए ।
। ७ पुष २०७९, बिहीबार