विद्युतीकरण अलपत्र, नेता नैं ठेकेदार, कार्यालयलाई टेरर्दैनन्


जाजरकोट । जिल्लाभरि विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडि लगाएको ठेक्काको काम अहिलेसम्म पूरा नहुँदा विद्युतीकरणमा समस्य देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५÷०७६ मा लिएको ठेक्का अहिलेसम्म निर्माण नभएका हुन् । एक वर्षभित्र पूरा गर्ने सम्झौता गरेर सामग्रीसहित बुझेर अहिलेसम्म काम नगर्दा जिल्लामा विद्युतीकरणको काम अलपत्र परेको हो ।

प्रदेश कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टाछुटै ठेक्काका काम अहिलेसम्म नहुँदा सर्वसाधारणले बिजुली बाल्न पाएका छैनन् । नेपाली कांग्रेस जिल्ला समितिका सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवा कार्कीगाउँ ७ ले छेडागाड नगरपालिकाको मनघाटदेखि सुवाडासम्म प्रसारणलाइन निर्माणको जिम्मेवारी लिएका थिए । त्यस्तै उनले छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्म विद्युतको प्रसारणलाइन जोडनका लागि अर्को ठेक्कासमेत लिएर काम गरेका छैनन् ।

त्यस्तै नेपाली कांग्रेसका उपसभापति तेजविक्रम शाहको साइ बाबा एण्ड तारा कन्स्ट्रक्सन खलंगा–२ ले कुशे गाउँपालिकको पाँचकाटियादेखि खुर्पा समकोटसम प्रसारणलाइन निर्माणको जिम्मेवारी लिएका थिए । उनले पाँचकाटियादेखि किट्नी नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली, दल्लीबाट बारेकोट गाउँपालिकाको सक्ला हुँदै प्रशासकीय केन्द्र लिम्सासम्म र लिम्सादेखि बारेकोटसम्म एक वर्षभित्र विद्युत प्रसारणलाइन निर्माणको जिम्मेवारी लिएका थिए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का नेता वीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालयदेखि नाहाडासम्म लिएको ठेक्काको समेत काम हुन सकेको छैन । उनले आर्थिक वर्ष २०७६÷०७७ मा ठेक्का लिएका थिए । त्यस्तै रमण निर्माण सेवाले लिएको कामको जिम्मेवारी ९५ प्रतिशत सकिएको छ । उसले नलगाड नगरपालिका–७ दल्लीदेखि वडा नम्बर ११ तल्लुसम्म प्रसारण लाइनको काम लिएको थियो ।

त्यस्तै राप्रपाका नेता कृष्णविक्रम शाह (निर्माण व्यवसायी अध्यक्ष)को डाँफे निर्माण सेवाले थलहदेखि टालेगाउँ अछानीसम्म विद्युत प्रसारणलाइन निर्माणको जिम्मेवारी लिएकोमा ९७ प्रतिशत काम पूरा गरेको छ । विजयश्वरी निर्माण सेवाका प्रमुख नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष गोपाल बटालाकी श्रीमती (बुद्धिकुमारी श्रेष्ठ) को नाममा रहेको सेवाले आर्थिक वर्ष २०७६÷०७७ मा लिएको सुवानाउलीदेखि गर्खाकोटसम्मको ठेक्काको कामसमेत सकिएको छैन । आधा काम अझै बाँकी रहेको नेपाल विद्युत प्राधिकरण जाजकोटका प्रमुख अविशेककुमार कलवारले जानकारी दिए ।

कार्यालयको ताकेता कसैले टेर्देनन्

नेपाल विद्युत प्राद्यिकरणले निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटकपटक लिखित, मौखिक जानकारी गराउँदा पनि कसैले पनि चासो नलिएको पाइएको छ । कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्बन्धित ठाउँमा प्रयोग नगर्दा ती विद्युतीय सामग्री कुन अवस्थामा छन् भन्ने अत्तोपत्तो छैन ।

ती सामग्री बाटोमा जथाभावी फाल्दा खोला, खोल्सामा पुरिएका र केही खोलाले बगाइसकेको अवस्था छ । सरकारी सम्पत्ति जथाभावी गर्दा पनि ठेकेदारलाई संरक्षण गर्ने नेताहरू चुपचाप बसेका छन् । तीन वर्षअघि जिल्लामा विद्युत सेवा सञ्चालन भइसक्नु पर्ने भए पनि अहिलेसम्म काम पूरा नहुँदा एक चौथाइ घर विद्युतको पहुँचमा आउन सकेका छैनन् ।

यस आर्थिक वर्षमा जाजरकोटमा ग्राहक संख्यसमेत थपिएको छ । मोर्क, शिवालय, इवर, बुरुंगे, काफलचौर छिप्रेना, रिम्ना, रिसाङ, पोख्रा, लहँ, बाउलीखोला, थहल, मैदे पिपेलगायतका ठाउँमा ग्राहक संख्या बढेको प्रमुख कलवारले जानकारी दिए । उनका अनुसार तीन हजार ८ सय २३ बाट ६ हजार दुई सय ग्राहक संख्या पुगेको छ ।
कारोवार

तपाईको प्रतिक्रिया