नलगाडमा ६५ बालबालिकाको निःशुल्क उपचार


जाजरकोट । जिल्लाको एक दुर्गम वस्ती पुगेर एक जना चिकित्सकले निःशुल्क उपचार गरेका छन् । नलगाड नगरपालिकाका–१, ठुलोबगर बस्तीका वालबालिकाको निशुल्क उपचारका लागि सुर्खेतबाट बालरोग विशेषज्ञ डाक्टर नबराज केसी आफै औषधी बोकेर नलगाड नगरपालिका १ ठुलाबगर पुगेका हुन् । उनले त्यहाँ ६५ जना बालबालिकाको निशुल्क उपचार गरे ।

समाजसेवी प्रकाश पन्तको पहल र सामाजिक अभियन्ता तथा बालरोग विशेषज्ञ डा. केसीको सहयोगमा ठुलाबगरमा बालरोगको उपचार शिविर नै सञ्चालन गरिएको हो । ठुलाबगरका बालबालिकाहरुको स्वास्थ्य चेकजाँच गरी निःशुल्क औषधी दिइएको छ ।

वस्तीका अधिकाश वालबालिकामा जाडोमा देखिने निमोनिया, रुघाखोकी, दमजस्ता स्वास्थ्य समस्या धेरै देखिएको डा. केसीले बताए । उनले भने, ‘केही बालबालिकाहरुमा मुटुको समस्या पनि देखिएको छ ।’ मुटुको समस्या देखिएका त्यस्ता केही बालबालिकाहरुलाई थप उपचारको लागि सुर्खेत वोलाइएको डा. केसीले बताए । सुर्खेतका समेत ति विरामी बालबालिकालाई निशुल्क उपचार गरिनेछ ।


जाडो सिजनसुरुसँगै ठुलोबगरका बालबालिकामा स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि समाजसेवी पन्तको आग्रहमा डा. केसी त्यहाँ पुगेका थिए ।

डा. केसी झोलामा आफै औषधी वोकेर तुइनको जोखिमपूर्ण यात्रा पार गदै ठुलावगरमा गएर बालबालिकाको उपचार गरेका थिए । उनले भने, ‘सामाजिक सेवा अन्र्तगत मैले दुर्गमका बालबालिकाको उपचारमा सहयोग गरिरहेको छु, मेरो यो अभियान निरन्तर जारी रहनेछ, आर्थिक अवस्था कमजोर भएका बालबालिकाको निःशुल्क उपचार गदै आएको छु, यसो गर्दा आत्मसन्तुष्टी निकै हुँदो रहेछ ।’
आफ्नै गाँउमा डाक्टर आएर उपचार पाउँदा स्थानीय निकै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया