
सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन्।
योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेपछि त्यसको विरोधमा कर्मचारीले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन्।
कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन्। पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि सर्वसाधारण सेवाबाट वञ्चित भएका छन्।
गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं २ को वडा कार्यालय भवन ढलानको अनुगमन गर्न गएका वेला ठेकेदार कम्पनीले मापदण्डविपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेको कर्मचारीको आरोप छ।
निष्पक्ष रुपमा काम गरिरहेका प्राविधिकलाई कुटपिट गर्ने तिरुवालाई कारबाही नहुन्जेल गाउँपालिका र वडा कार्यालयबाट कुनै सेवा प्रवाह नगर्ने प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार ओलीले बताए। कार्यपालिकाको बैठकले समस्या समाधान गरेर भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना भएमात्र सेवामा फर्किने जानकारी उनले दिए।
योजनाको काम गर्दै आएका ठेकेदारका छोराले इन्जिनियरमाथि गरेको हातपात निन्दनीय भएको गाउँपालिका अध्यक्ष भरतकुमार गिरीले बताए। कर्मचारीमाथि दुर्व्यवहार गर्नेजस्ता काम आउँदा दिनमा हुन नदिन पालिकाबाट प्रयास भइरहेको उनको भनाई छ। दोषीलाई सजाय दिने प्रतिबद्धता जनाउँदै उनले कर्मचारीलाई काममा फर्कन आग्रह गरेका छन्।

















































। ३ पुष २०७९, आईतवार