काठमाडौं : समानुपातिक सांसदहरुको चयन गर्न दलहरुलाई सकस परेको छ। निर्वाचन आयोगले मंसिर २४ गतेसम्म अन्तिम नामावली बुझाउन निर्देशन दिएसँगै दलका शीर्ष नेताहरु आफू पक्षीय सांसद कसरी तान्न सकिन्छ भनेर रस्साकस्सीमा लागेका हुन्।
निर्वाचन आयोगमा पठाइएको अन्तिम बन्द सूचीमा परेकाहरू पार्टीका शीर्ष नेताहरूका ढोका धाउन सुरु गरेका छन्। उनीहरूले आफूलाई निर्वाचित गराउन ‘लबिङ’ सुरु गरेका हुन्। समानुपातिकमा चयन गर्न क्लस्टर अर्थात् समावेशी समूहमा चलखेल सुरु भएको गुनासो सुनिन थालेको छ।
विभिन्न क्लस्टर अनुसार समानुपातिक सांसद निर्वाचित गर्नुपर्ने भए पनि अल्पसंख्यक, पिडडिएको क्षेत्र, मुस्लिम, अपाङ्गलगायतका बहानामा दाँयाबाँया हुने डर नेताहरुलाई छ। ३३ प्रतिशत महिला चयन गरेपछि मात्र बाँकी रहेका सिटमा निर्वाचित गराउनुपर्नेछ।
अल्पसंख्यक, पिडडिएको क्षेत्र, मधेशी, मुस्लिम, अपाङ्गबाट महिलाको प्रतिनिधित्व पुगे मात्र बाँकी सिटमा पुरुष छान्न पाइन्छ।
कुन क्लस्टरबाट कति संख्या आउने भन्ने विषयमा समानुपातिक निर्वाचन निर्देशकाले प्रस्ट पारे पनि क्लस्टर तोकेर महिला वा पुरुष ल्याउ भन्न सक्ने अवस्थामा निर्वाचन आयोग छैन । यस विषयमा दलहरूले नै विवेक प्रयोग गर्नुपर्ने भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै दलहरूले अन्तिम सूची पठाउनेमा आफुहरु विश्वस्त रहेको बताए। उनले राजनीतिक दलहरूले कोटा पुर्याउनका लागि मात्रै उम्मेदवारी दिएको देखिएको बताए।
‘महिला नेतृत्वको सक्षमता र योगदानलाई बेवास्ता गरेर उहाँहरूको अधिकार र अवसरलाई राजनीतिक दल वा कुनै पक्षबाट वञ्चित गरिनु हुँदैन भन्ने आयोगको भनाइ हो,’ उनले भने।
समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले दलहरूले क्लस्टर अनुसार नै सूची बुझाउनेमा आफूहरू आशावादी रहेको बताए। उनले समानुपातिकको सूचीमा क्लस्टरमा फड्को मारे आयोगले हस्तक्षेप गर्ने बताए।
‘दलले क्लस्टरमा तोकेअनुसारका महिला छान्न पाउँछन्। तर, समानुपातिकतर्फको अन्य क्लस्टरबाट महिला छान्न पाइँदैन। यसबारे आयोगले हेर्छ,’ वाग्लेले भने।
देउवालाई सकस
प्रत्यक्षमा ५७ सिट पाएको नेपाली कांग्रेसलाई समानुपातिकतर्फ पाएको ३२ सिट चयन गर्न सकस भएको छ। समानुपातिकमा २७ लाख १५ हजार २२५ मत पाएको कांग्रेसले महिलाबाट मात्रै २९ जनाको नाम पठाउनुपर्ने भएको छ। त्यस्तै पुरुषका लागि छुट्टिएका तीन सिट बाँडफाँड गर्न सकस पर्ने देखिएको छ।
प्रत्यक्षमा एक मात्र महिला आएपछि कांग्रेसबाट अधिकांश महिला पठाउनुपर्ने भएको हो। संघीय संसदमा महिलाको प्रतिनिधित्व अनिवार्य रूपमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक प्रावधान छ। कांग्रेसबाट तीन जना महिला छन्।
निर्वाचन निर्देशिका अनुसार कांग्रेसले आदिवासी जनजातिबाट ९ जना, खस आर्यबाट १० जना, दलित र मधेशीबाट पाँच/पाँच जना, थारुबाट दुई जना र मुस्लिमबाट एक जना महिलाको प्रतिनिधित्व गराउनुपर्ने छ।
पुरुषबाट तीन सिट खाली रहेको अवस्थामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू निकटलाई लैजान दबाब छ। खसआर्य सूचीको पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पहिलो नम्बरमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, मधेशीतर्फ पहिलो नम्बरमा पूर्वउपसभापति विमलेन्द्र निधि, दलिततर्फ सहमहामन्त्री जीवन परियार, मुस्लिमतर्फ सहमहामन्त्री फरमुल्लाह मन्सुर र थारूतर्फ योगेन्द्र चौधरीको नाम पहिलो नम्बरमा छ। कांग्रेसले ६ मध्ये तीन जनालाई मात्रै पठाउन सक्नेछ। कांग्रेसले समानुपातिक सांसदहरुको अन्तिम सूची तय गर्न शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कुन क्लस्टरबाट कम महिला जान्छन् त्यहाँबाट एक नम्बरका पुरुष लैजान सक्ने भएकाले यहाँ चलखेल हुन सक्ने देखिन्छ।
तयारी नपुगेपछि एमालेको बैठक सर्यो
नेकपा एमालेले प्रत्यक्षमा ४४ सिट जितेको थियो। यस्तै समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मतसहित ३४ जना सांसद पाउने भएको छ। एमालेबाट ३४ मध्ये १९ जना महिला र १५ जना पुरुष सांसद बन्ने भएका छन्। प्रत्यक्षमा चार जना महिला निर्वाचित र राष्ट्रियसभामा ९ जना महिला छन्। एमालेलाई ३३ प्रतिशत महिला पुर्याउन १९ जना सांसद पठाउनुपर्ने बाध्यता छ।
एमालेले ३४ जना सांसदहरुको नाम टुंगो लगाउन शुक्रबार बोलाएको सचिवालय बैठक स्थगित भएको छ। अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘तयारी नपुगेका कारण अर्को बैठक भोलिका लागि सारिएको हो। भोलिको बैठकबारे होमवर्क भइरहेको छ,’ उनले भने।
नेकपा एमालेभित्र सामानुपातिक सांसद बन्ने आकांक्षीहरुको संख्या धेरै भएपछि विवाद बढेको छ। स्रोतका अनुसार एमालेबाट सांसद हुनेहरूको नाम लगभग टुंगो लागिसकेको छ।
‘समानुपातिक सांसदको अन्तिम लिष्ट अध्यक्षज्यूको हातमा छ। भेलि बस्ने सचिवालय बैठकले औपचारिकता प्रदान गरेपछि आयोगलाई बुझाइन्छ,’ नाम नखुलाउने सर्तमा एक केन्द्रीय सदस्यले भने।
अध्यक्ष केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका एकनाथ ढकाललाई खस आर्यबाट तान्न खोजेपछि नेताहरूले असन्तुष्टि जनाएका छन्।
एमालेमा खस आर्यबाट रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, मुक्तिप्रसाद पाठक, मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली,विजुला रायमाझी, निर्मला कोइरालाको सम्भावना छ।
यस्तै आदिवासी जनजातिबाट देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, नैनकला थापामगर, सुर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ति, रणकुमारी बलम्पाकीमगर र शान्ति श्रेष्ठको सम्भावना छ। दलितबाट ईश्वरबहादुर रिजाल(विक), प्रभु हजारा दुसाध, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा र इन्दिराकुमारी पन्थी रहेका छन्।
मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, वीना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारी रहेका छन्। थारुतर्फ सत्यनारायण चौधरी र अस्माकुमारी चौधरी रहेका छन्। मुस्लिमतर्फ रुही नाजको सम्भावना छ।
खुमलटारमा नेताको लस्कर
प्रत्यक्षमा १८ सिट जितेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मतसहित १४ सिट पाएको छ। प्रत्यक्षमा एक मात्र महिला निर्वाचित भएसँगै माओवादी केन्द्रले ११ जना महिला पठाउनुपर्ने भएको छ। राष्ट्रियसभामा तीन जना महिला रहेका कारण संघीय संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति गराउनका लागि माओवादी केन्द्रले ११ जना महिला पठाउनु पर्नेछ।
यतिबेला नेताहरू आफूलाई सांसद बनाउनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाउने गरेका छन्। आयोगले तोकेको क्षेत्राधिकार भन्दा बाहिर रहेकाहरूले पनि सांसद बनाइदिनुपर्यो भन्दै खुमलटार धाउने गरेको स्रोतले जानकारी दियो।
माओवादी केन्द्रका महासचिव देव गुरुङले समानुपातिक सांसदहरुको छनौट निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार हुने बताए। उनले सांसद चयन गर्दा चलखेल गर्न सम्भव नरहेको बताए।
‘सांसद चयन गर्दा चलखेल गर्न सम्भव छैन। निर्वाचन आयोगले तोकेको क्राइटएरियाभित्र रहेर पार्टीले नाम पठाउँछ, ’ महासचिव गुरुङले भने।
समानुपातिक सांसदहरुको नाम टुंगो लगाउन माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।
रास्वपामा विवाद
प्रत्यक्षमा सात सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा १३ सिट पाएको छ। १३ मध्ये पाँच जना अनिवार्य महिला पठाउनुपर्ने रास्वपाका लागि विधिसम्मत सांसद पठाउन सकस भएको छ।
रास्वपाको समानुपातिक सांसदको अन्तिम टुंगो लगाउन बोलाएको सचिवालय बैठकमा खबरदारी नै गरियो। पार्टी सभापति रवि लामिछानेले आफू निकट मानिएका दीपक बोहरालाई ल्याउन चाहेपछि रास्वपाभित्र विवाद सिर्जना भएको हो।
खसआर्यको क्लस्टरबाट गणेश कार्की र दीपक बोहोरा वा डा. चन्दा कार्की र निशा डांगी कसलाई पठाउने भन्ने विषयमा विवाद देखिएको हो।
रास्वपाको सचिवालय बैठकमा ‘चलखेल’ हुनसक्ने भन्दै नेताहरुले सचेत गराएका छन्। रास्वपाका सुनसरी सभापति लालविक्रम थापाले पार्टीले लिएको ‘लोकसेवा’ मा पास भएर आएका नेताहरूलाई जस्ताको तस्तै पठाउनुपर्ने बताए।
‘हामीले डिजिटल डेमोक्रेसी भनेर आकाश दुलो पर्नेगरी ठूलो स्वरले जसरी बोलेका थियौं। अझ ठूलो छाती पारेर बोल्न सक्ने निर्णय गरोस् भनेर ध्यानाकर्षण गराएका छौं। बिग्रियो भने त बिग्रियो नि!’, उनले भने।
रास्वपा सभापति रवि लामिछानेले सिस्टमभन्दा बाहिर गएर सांसद चयन नगर्ने बताए।
‘सिस्टमभन्दा एक कदम पनि बाहिर जाँदैनौं, साथीहरुले खबरदारी गरेर गज्जव गर्नुभएको छ। जे भन्यो त्यही मान्ने होइन नि! हामीसँग त कार्यकर्ता होइन सदस्य पछि लाग्ने होइन नि सँगै हिँड्ने हो। हामी विधिभन्दा बाहिर जाँदैनौं,’ लामिछानेले भने।
रास्वपामा आदिवासी जनजातिबाट डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठको नाम चर्चामा छ। थारूबाट अशोक चौधरी, दलिततर्फ सन्तोष परियार र कल्पना रोक्का, मधेशीतर्फ मनीष झा र तपेश्वर यादव, पिछडिएका वर्गबाट बिनिता कठायत र मुस्लिमबाट असिम साहको सम्भावना छ।
राप्रपाबाट पाँच महिला, दुई पुरुष
प्रत्यक्षमा सात सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा पाँच लाख ८८ हजार ४४९ मतसहित सात सिट पाएको छ। ३३ प्रतिशत महिला पुर्याउनुपर्ने भएकाले राप्रपाले सातमध्ये पाँच जना महिला पुर्याउनुपर्ने भएको छ। खस आर्यतर्फ पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको नाममा मोटामोटी सहमति भएको स्रोतले जानकारी दियो।
त्यस्तै महिलामा आदिवासी जनजातितर्फ विना लामा र विनिता मगैया, दलित महिलामा अनिसा नेपाली, मधेशीतर्फ विना जैसवाल र मुस्लिमतर्फ नाजिया खातुनको सम्भावना रहेको बुझिएको छ।
राप्रपाले समानुपातिकको अन्तिम सूची टुंगो लगाउन शनिबार बिहान ११ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
साथै प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा चार लाख २१ हजार ३१४ मतसहित पाँच जना सांसद पाएको छ। जसपाले ३३ प्रतिशत महिला पुर्याउन चार जना पठाउनुपर्नेछ।
जसपाले शनिबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपा प्रवक्ता मनिष कुमार सुमनले निर्वाचन आयोगले समानुपातिकतर्फको सूची पठाउन दिएको पत्रको जवाफ दिनका लागि बैठक बोलाइएको जानकारी दिए। उनले बिहान ८ बजे बैठक बस्ने बताए।
यस्तै प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टीले समानुपातिकमा तीन लाख ९४ हजार ६५५ मतसहित पाँच सिट पाएको छ। उसले दुई जना महिलाको नाम अनिवार्य रुपमा पठाउनुपर्नेछ। उसले पाँचैजनाको नाम टुंगो लागिसकेको जनाएको छ।
। २३ मंसिर २०७९, शुक्रबार