
कालीबहादुर नेपाली
जाजरकोट । बारेकोट गाउँपालिका –०२ रोकायगाउँका पूर्णबहादुर कामी गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भोट हाल्न भारतको हिमाञ्चल प्रदेश बाट आए । भोट हालेका नेताहरु निर्वाचित पनि भए । अहिले उनी पुनः भारतमा कामका लागि जाने सुरसार गरिरहेका छन् ।
‘यहाँ कुनै रोजगारी छैन, दुई चार सय कमाई भारततिरै हुन्छ’ उनले भने, ‘अवको केही दिनपछि भारत जानुपर्ला, यहाँ बसेर के गर्नु ?’ भारतमा काम गर्न नगए परिवार पाल्न निकै समस्या हुने पूर्णबहादुर बताउँछन् । सोही, गाउँका गोरखबहादुर कामी भोट हाल्नका लागि मंसिर ०१ गते भारतको गुजरात बाट नेपाल आए ।
उनी पनि भारत जाने तयारीमै छन् । ३५ बर्षिय गोरख यसभन्दा अगाडि दशै मान्न मात्र घर आउथे । यसपटक निर्वाचन भएकोले राम्रो नेता चुन्न मंसिरमा घर आए । ‘राम्रो नेता चुनेपछि यतै रोजगारी पाउँछौ कि भनेर भोट हाल्न आउँछौं, उनले भने, ‘निर्वाचित भईसकेपछि नेता गाउँमा पनि आउँदैनन्, रोजगारी दिने खालका कार्यक्रम समेत आउँदैनन्, फेरी भारत जानुपर्छ ।’
भेरी नगरपालिका ११ कटिगाउँका नरबहादुर वर भारतको सिम्लामा आफ्नो परिवार छोडेर भोट हाल्नकै लागि नेपाल पुगे । भोट हाले नेता पनि निर्वाचित भए । अहिले उनी गाउँका एक दर्जन यूवा लिएर कमाई गर्न भारत जाने तयारीमा छन् । ‘गाउँमा कुनै रोजगारी छैन, परिवार कसरी चाल्ने भन्ने चिन्ता छ, उनले भने, ‘भारतमा जानुको विकल्प छैन्, निर्वाचित जनप्रतिनिधी गाउँमा आउँदैनन्, हाम्रो कमाईको मुख्य स्रोत भनेकै भारत हो ।’ उनीहरु जस्तै, बारेकोट गाउँपालिका ०२ का कृपाल नेपाली शारीरिक रुपले निकै अशक्त छन् ।
लौरोको साहारामा हिड्नुपर्छ । परिवार पाल्न र जीन्दगी धान्न भारत जानुपर्ने बाध्यता रहेको उनी बताउँछन् । उनले भने, ‘यतै रोजगारी भए हामी किन भारत जान्थिम र ? यहाँ बसे परिवार पाल्न समस्या हुन्छ, भारत गए परिवार त मज्जाले पालिन्छ ।’ उनीहरु त जिल्लाका उदाहरण पात्र मात्र हुन् । निर्वाचन सम्पन्न भएसँगै दैनिक दर्जनौ संख्यामा भारततिर जानेको लर्काे देखिन्छ । रोजगारीको सपना देखेर भोट हाल्न आएका यूवाहरु निराश बनेर भारततिर जाने गरेको नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले बताए । दैनिक दर्जनौ भारतमा कमाईका लागि गएपनि अहिले सम्म कति गए भन्ने तथ्यांक छैन् । केही बर्ष अघि जिल्ला समन्वय समितिले गरेको सर्वेक्षण अनुसार ४० हजार भन्दा बढी नागरिक भारतमा काम गर्न गएको देखिन्छ ।
महिलाको भरमा गाउँ
पुरुष कमाइ गर्न भारत जाँदा महिलाले घर व्यवहार चलाउने, बालबालिकाको हेरचाह गर्नेदेखि विकास निर्माणको काम धान्दै आएका छन् । अधिकांश गाउँ पुरुषविहीन बनेपछि विकास निर्माणका कामसमेत प्रभावित छन् ।
पति भारतबाट फर्केर नआएसम्म सबै काम आफैंले गर्ने कुशे–८ की विमला सार्कीले बताइन् । भारतमा पतिले करिब ९ महिना मजदुरी गरेको रकमले घरखर्च चल्ने गरेको उनको भनाइ छ । ‘पुरुषजति भारत गएपछि गाउँमा मलामी जाने मान्छे पाउनसमेत मुस्किल छ,’ उनले भनिन् । सिँचाइ सुविधा र काम गर्ने युवा नहुँदा अधिकांश जमिन बाँझिंदै गएको उनले बताइन् । प्रधानमन्त्री रोजगार कार्यक्रम, भौतिक संरचना निर्माण, कृषि तथा पशु, वनलगायत सरकारी कार्यक्रमले विपन्नलाई राहत दिन नसकेको बारेकोट २ की नन्दा विकले बताइन् ।
‘अनुदानका कार्यक्रममा पहुँचवालाकै हालीमुहाली हुन्छ,’ उनले भनिन्, ‘२ छाक टार्न गाह्रो हुनेलाई भारत जानुको विकल्प छैन ।’
विभिन्न सहकारी, समूह, उपभोक्ता समितिलगायतमा हुने खाने र टाठाबाठाकै हालीमुहाली हुँदा बेरोजगारी समस्या बढिरहेको राष्ट्रिय दलित नेटवर्क जाजरकोटका अध्यक्ष गोपालबहादुर नेपालीले बताए । ‘गाउँमै सरकार आएपछि सबैले रोजगारी पाउने आशा थियो,’ उनले भने, ‘स्थानीय सरकारको मनोमानी कर र मूल्य वृद्धिले गरिबलाई गुजारा चलाउन झन् मुस्किल भएको छ ।’
डोजर प्रयोगले रोजगार पाउन मुस्किल
गाउँ÷नगरका अधिकांश विकास निर्माणमा डोजरको प्रयोग बढेपछि बेरोजगारी समस्या झन् चुलिएको छ । घरछेउमा सडक बनाउने, कुलो खन्ने लगायत सामान्य काममा पनि रोजगारी नपाउँदा भारत जानेको संख्या झन् बढेको छ । जिल्लाका सबैजसो वडामा सडक खन्ने कामले तीव्रता पाएको छ ।
अधिकांश डोजर (एक्स्काभेटर) मा जनप्रतिनिधिकै अप्रत्यक्ष संलग्नता देखिएपछि रोजगारी पाउन मुस्किल हुन थालेको बारेकोट ३ का रामबहादुर बोहराले बताए । ‘जनप्रतिनिधिले धमाधम डोजर ल्याएर विकास निर्माणमा प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘योजनामा डोजर लगाउने प्रतिस्पर्धा चल्दा युवासँग बिदेसिनुको विकल्प छैन ।’
प्रभावकारी छैनन् रोजगार कार्यक्रम
बेरोजगार र विपन्नका लागि ७ स्थानीय तहमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी छैन । बेरोजगारलाई वर्षमा सय दिन रोजगारी दिने उद्देश्यले सञ्चालन भएको कार्यक्रमबाट बेरोजगारहरूले एक महिना पनि रोजगारी पाउन सकेका छैनन् ।
जति अपेक्षा गरिएको थियो त्यति नभएको कुशे गाउँपालिका ४ विनोद सिंहले गुनासो गरे ।
‘रोजगारी दिने निहुँमा जनप्रतिनिधिका आफन्त र कार्यकर्तालाई मात्र गोरेटो बाटो, सरसफाइ, भवन, खानेपानी लगायत काममा रकम बाँडियो,’ उनले भने, ‘बजेट पहुँचवालाको पोल्टामा जाँदा कार्यक्रम झाराटाराइमै सकियो ।’ जिल्लाका २ लाख जनसंख्यामध्ये आधा बेरोजगार रहेको सरकारी तथ्यांक छ ।
















































। २१ मंसिर २०७९, बुधबार