डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।
मंसिर ४ मा सम्पन्न निर्वाचनमा गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका देउवाले २६ लाख रूपैयाँभन्दा बढी खर्चको विवरण बुझाएका छन्।
देउवाले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण मंगलबार जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा पेश गरेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।
‘उहाँ (देउवा) ले प्रचार सामाग्री छपाइ, यातायात, कार्यकर्ता खाजा खर्च, मञ्च व्यवस्थापन खर्च, कार्यालय खर्चलगायतका शीर्षमा खर्च विवरण पेश गर्नुभएको छ,’ अवस्थीले भने, ‘अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहनु भएको छ।’
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको डडेल्धुरामा प्रतिनिधिसभातर्फ ८ जना र २ वटा प्रदेशसभातर्फ १२ जना गरी २० जना उम्मेदवार रहेका थिए। अहिलेसम्म १४ जनाले खर्च विवरण बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले बताए।
नेपाली कांग्रेस वीपीका उमेदवार कर्णबहादुर मल्लले १३ लाख ८ हजार, स्वतन्त्र उमेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार, विक्रमबहादुर शाहीले २ लाख २ हजार १९० र राप्रपा उमेदवार गोविन्द खडायतले ४ लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन्।
डडेल्धुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेश (१) को लागि २१ लाख र प्रदेशसभा (२) को लागि १९ लाख खर्चको सीमा तोकिएको थियो।
स्वतन्त्र उम्मेदवार सागर ढकाललाई हराउँदै देउवा सातौंपटक यहाँबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका छन्।
। २० मंसिर २०७९, मंगलवार