जाजरकाेट । जाजरकोटको भेरी नगरपालिका–११ कटीगाउँका सामुदायिक वन वर्षको एकपटक खुला गरिन्छ। तर यहाँ घाँस काट्न ७१० रुपैयाँ बुझाउनुपर्छ।
घाँस काट्न खुला हुने दिन यहाँका कटुवालले गाउँको अग्लो डाँडामा गएर सूचना दिने गर्छन्, ‘आज वन छोडिसके, घाँस काट्न जाने भए छिटो आऊ, मैले भन्ने धर्म हो, चाँडो आउ हइ।’
दलित समुदाय रहेको यो गाउँका महिला सूचना पाएलगत्तै एकजुट हुने गर्छन्। बच्चा समेत च्यापेर घाँस काट्न जाँदा घाँस काट्न गएको दृश्यले यहाँको अभाव र समस्याको वास्तविक झल्को दिन्छ।
वनबाट ल्याएको घाँस, स्याउलाबाट पशु चौपायापालन गर्ने र तिनबाट प्राप्त मलले खेतीपाती गर्ने स्थानीय रमेश वरले बताए। दलित समुदायको मात्र वन रहेको कारण आफूहरु संरक्षण र प्रयोग गर्न समय निर्धारण गरेरै काम गरिरहेको उनले जानकारी दिए।
तर खेतीपातीले मात्र जीविका नहुने भएकाले यहाँका अधिकांश पुरुष रोजगारीका लागि भारत जानुपर्ने बाध्यता रहेको स्थानीय सीता वरले बताइन्। साहुको ऋण तिर्न नसकेर कतिपय परिवार विस्थापित नै भएको उनले बताइन्।
। २० मंसिर २०७९, मंगलवार