निरज खत्री
जाजरकोट । जिल्लाको शिवालय गाउँ पालिकाले आफ्नै स्थानीय तहमा बहुमुखी क्याम्पस स्थापना गर्न पहल थालेको छ । गाउँ पालिकाको गत भदौमा बसेको कार्यपालिकाको बैठक बाट निर्णय भएको कार्यपालिकाका प्रवक्ता दिपक खड्काले बताए ।
गाँउ कार्यपालिकाले शिवालय बहुमुखी क्याम्पस नामाकरण गरि स्थापना गर्ने सम्बन्धी गृहकार्य कार्यपालिकाको बैठकबाट बहुमतले पारित गर्दै शिवालय गाँउपालिकाको केन्द्र नजिकैको भोतेडाँडामा प्रदेश सरकार र स्थानीय पालिका सरकारको संयुक्त आर्थिक साझेदारीमा १ करोड ४९ लाख ९९ हजार ६ सय को कुल लागतमा टेन्डर भई भवन निर्माणका लागि फिल्ड निर्माणको कार्य सुरुवात भइसकेको प्रवक्ता खड्का बताए ।
भवन निर्माणको कार्य सम्पन्न भए पश्चात् त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालय सँग पठनपाठनको सम्बन्धन ल्याउन सहकार्य गरि क्याम्पस सञ्चालन गर्न पहल गरिने र सम्बन्धन ल्याउनका लागि प्रक्रिया थालिने गाउँ पालिकाका अध्यक्ष शेर बहादुर शाहीले कार्यपालिकाको बैठकमा उद्घोष गरे ।
पालिकामा क्याम्पस स्थापना गर्न सकिएको खण्डमा स्थानीय स्तरमा स्नातक तह सम्मको शिक्षा अध्ययन गर्न आर्थिक रुपमा विपन्न र गरिबीको चपेटामा परेका विद्यार्थीको लागि टाढाका क्याम्पस धाउने समस्या टार्नका लागि पालिकामै क्याम्पस स्थापना गर्नुपरेको प्रवक्ता खड्काले बताए ।
। १७ मंसिर २०७९, शनिबार