जाजरकोट । पूर्वसहायक मन्त्री झलकनाथ वाग्लेको धरौटी जफत भएको छ । जाजरकोटबाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेस वीपी पार्टीबाट उम्मेदवार रहेका वाग्लेले एक सय ४२ मत मात्र पाएका छन् ।
जाजरकोटमा ६५ हजार नौ सय ६१ मत खसेको थियो । धरौटी फिर्ता लिन खसेको मतको १० प्रतिशत कटाउनु पर्ने प्रावधान छ । २०५१ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वाग्ले २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा भूमिसुधार सहायक मन्त्री भएका थिए । वाग्ले जाजरकोट कांग्रेसका संस्थापक हुन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेधनमा बुथबाटै क्षेत्रीय प्रतिनिधिमा चुनाव हारेपछि कांग्रेस पार्टी छोडेका वाग्ले नेपाली कांग्रेस वीपीका केन्द्रीय उपाध्यक्ष छन् । ६ जनाले प्रतिस्पर्धा गरेको जाजरकोटमा सबैभन्दा कम मत ल्याउने वाग्ले नै हुन् । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत ल्याएर विजयी भएका छन् ।
। १४ मंसिर २०७९, बुधबार