जाजरकोट। जिल्लाको बारेकोट गाउँपालिका २ रोकायगाउँकी चन्दाकला नेपालीलाई महिला अधिकार केहो भन्ने थाहा छैन् । महिला हिंसा भएपछि कहाँ जाने, कसलाई भन्ने समेत थाहा छैन् ।
उनको गाउँमा मादकपदार्थ सेवन गरी पतिले पत्नीलाई पटक पटक धम्काउने, दाउराले कुट्ने, श्रीमति माइतीमा बस्ने,बालबालिकाहरुको विचल्ली भएको थुप्रै उदाहरण छन् । सानै उमेरमा हुने बालविवाहले समेत महिलाहरु घरेलु हिसांको सिकार बनिरहेका छन् ।
सोही गाउँकी धनकला नेपालीका श्रीमानले माद्यकपदार्थ सेवन गरी टाउकोमा हिक्र्याउँदा अहिले पनि पूर्णरुपमा निको भएको छैन् । उनलेभनिन्, ‘म घरमा एक्लै बसिरहेकी थिए, उहाँले माद्यकपदार्थ सेवन गरी आउनुभएको रहेछ, एक्कासी टाउकोमा हिक्र्याउनुभयो, अहिले पनि मेरो स्वास्थ्यमा सुधार भएको छैन् ।’
गाउँघरमा चाडपर्वहरुमा समेत बढी महिला हिंसाका घटनाहरु हुने गरेको स्थानीयहरु बताउँछन् । गाउँमा प्रहरी चौकी छैन्, गाउँभरिका पुरुषहरु जम्मा हुने जुवातास खेल्ने, मादकपदार्थ सेवन गरी वेलुका महिलाहरुलाई मानसिक, शारीरिक, सामाजिक हस्तक्षेप गरीरहने उनको भनाई छ ।
अन्र्तराष्ट्रिय स्तरमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिन्छ । नेपाल सरकारले पनि यस अभियानलाई प्रत्येक बर्ष दिवसमा रुपमा मनाउने गरेको छ । विभिन्न एनजिओ,आई, एनजिओ तथा सरकारी निकायले लाखौ बजेट छुट्याएर दिवसलाई मनाउने गरेका छन् । तर चन्दकला र धनकला जस्ता हजारौ महिलाहरुलाई दिवसको समेत थाहा छैन् । गाउँका अगुवा तथा पढेलेखेका महिलाहरुले मात्र दिवस मनाउने गरेका उनीहरुको गुनासो छ ।
‘हामी विहानै उठी वनजंगल जानुपर्छ, दिनमा खान खाने गरी आउँछौ, फेरी जंगलतिर धाउनुपर्छ, हामीलाई कुनै थाहा नै हुदैन् ।’ जाजरकोटका अधिकांश ग्रामीण क्षेत्रका महिलाहरुलाई महिला हिंसा विरुद्धको सोह्र दिने अभियानले नछुने महिला अधिकारकर्मीहरु बताउँछन् । यहाँका महिलाहरु काम गर्न नेपालका अधिकांश जिल्ला सहित भारतका ठाउँठाउँमा जान वाध्य छन् ।
अशिक्षा, गरिवी, पछौटेपनका कारण यहाँका महिलाहरु माथि हुने हिंसा समेत रोकिएको छैन् । प्रत्येक बर्ष जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाका उजुरीको चाङ्ग लाग्ने गरेको प्रहरी कार्यालयको तथ्यांकमा छ । महिलामाथि हुने हिंसा रोकिएका छैनन् । बरु प्रत्येक वर्ष बढ्दै गएका छन् । पछिल्ला वर्षहरूमा यो समस्या थप जटिल बन्दै गएको छ ।
सबै खाले महिला हिंसा अन्त्यका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियानकै रूपमा थुप्रै कार्यक्रम गर्दै आएपनि यसको न्यूनीकरणमा चुनौती देखिएको छ । प्रहरीमा आएका हिंसाका घटनाको संख्या हेर्दा अवस्था भयावह छ । समाज दिन प्रतिदिन आधुनिकतातर्फ उन्मुख भइरहेका बेला अनेक बहानामा महिलाहरू हिंसाको सिकार बन्दै आएका छन् ।
। ११ मंसिर २०७९, आईतवार