कतारमा भइरहेको विश्वकप फुटबलमा अर्जेन्टिनाले लज्जास्पद हार बेहोरेको छ।
आज भएको खेलमा विश्वकप उपाधीको दाबेदारको रुपमा हेरिएको अर्जेन्टिना समूह सी मा कमजोर मानिएको साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो।
पहिलो हाफमा अर्जेन्टिनाको लियोनल मेस्सीको पेनाल्टीमा अर्जेन्टीनाले १–० को अग्रता बनाए पनि दोस्रो हाफमा साउदीले थप २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो।
साउदीका सालेह अल–शहरीले ४८ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। बराबरी गोलपछि आक्रामक देखिएको साउदीले लगत्तै ५ मिनेटपछि सलेम अल–दोसारीकोे गोलमा २–१ को अग्रता बनायो।
अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै विश्वकपमा बलियो दाबेदारीको रुपमा प्रस्तुत भएको अर्जेन्टिना साउदीसँगको हार बेहोर्न पुगेको हो।
हारसँगै लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसरमा पनि धक्का लाग्ने देखिएको छ। ग्रुप सी मा सबैभन्दा कमजोर मानिएको साउदीसँगको हारसँगै समूहमा बलियो मानिएका मेक्सिको र पोल्याण्ड अर्जेन्टिनासामु कडा चुनौतीका रुपमा खडा भएको छ।
। ६ मंसिर २०७९, मंगलवार