उम्मेदवारलाई मालै माला

उम्मेदवारलाई मालै माला

जाजरकोट । झट्ट हेर्दा यी तस्बिरका व्यक्ति निर्वाचनमा विजेता हुन् कि जस्तो लाग्नसक्छ । नझुक्किनुहोला, जाजरकोटमा दलका कार्यकर्ताबीच आफ्ना उम्मेदवारलाई सयपत्री फूलका मालाले यसरी मुहारै ढाक्ने होड चलेको छ । सामाजिक सञ्जालमा पनि आफ्नो पक्षमा धेरै जनता देखाउन र स्थानीय मतदाताले भब्य स्वागत गरेको देखाउन कार्यकर्ताले गाउँघरमा जताततै निःशुल्क पाइने सयपत्री फूलका माला उनेर उम्मेदवारलाई लगाउने होडबाजी नै चलेको वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।

‘जनताले भन्दा कार्यकर्ताले माहोल देखाउन धेरै माला लगाइदिने गरेका छन्’ उनले भने, ‘चुनाव नजित्दै गलाभरि माला लगाएका नेता सामाजिक सञ्जालमा छाउँदा र गाउँमा हुने कार्यक्रममा माला र अविरावरण गर्दा साँच्चिकै चुनावको रौनक बढेको देखिन्छ, यो लोकतन्त्रका लागि निकै सुखद् कुरा हो ।’ नेतालाई अरुबेला जतिसुकै गाली गरे पनि गाउँमा आएको बेला स्वागत गर्नु, उम्मेदवारका कुरा सुन्नु र आफ्ना गुनासा राख्नु राम्रो संस्कारका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

चुनावले गाउँघरमा निकै चहलपहल बढेको छ। साँचिकै पर्व आएको जस्तो अनुभूति भएको छेडागाड नगरपालिका–२ का दीपक बुढाले बताए। कतै उम्मेदवारहरू स्थानीयसँगै नाचेर मन जित्ने प्रयास गरिरहेका छन् भने कतै समृद्धि र विकासका आश्वासन दिएर मत मागिरहेका छन्। यसअघि पैदलै हिँड्नुपर्ने नेताहरू गाउँगाउँमा गाडी पुगेका कारण प्रचारमा निकै सहजता भएको छ। प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एमालेका निरज आचार्यबीच नै मुख्य प्रतिस्पर्धा छ ।

स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले पनि दुवै उम्मेदवारलाई टक्कर दिइरहेका छन् । त्यस्तै, प्रदेशसभाको (क) मा वाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका वेदराज सिंह र एमालेका डम्बर सिंहबीच नै मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजीवविक्रम शाह र एमालेका खिमबहादुर शाहीबीच नै प्रतिस्पर्धा छ ।

#अन्नपूर्णपाेस्ट#

तपाईको प्रतिक्रिया