जाजरकोटको चुनावी अंकगणित, कुन दलको मत कति ?(डेटासहित)


जाजरकोट । सशस्त्र जनयुद्ध समापनसँगै जाजरकोटमा अधिकांश समय नेकपा ( माओवादी केन्द्र) ले जित्दै आएको छ । दुर्गम जिल्लाको पगरी गुथेको जाजरकोटमा एकले अर्कालाई आरोप भन्दा पनि विकासका एजेण्डाका विषयमा बढी चर्चा हुने गरेको छ । दुर्गम हुनुमा नीति निर्माण तहमा बस्ने व्यक्तिले जाजरकोटलाई चासो नदिएको आरोप यहाँका सर्वसाधारणको गुनासो छ ।

तीन दर्शक अघि नेपाली कांग्रेस र नेकपा(एमाले)बीच हुँदै आएको प्रतिस्पर्धामा २०६४ देखि नेकपा (माओवादी केन्द्र) मिसिएपछि माओवादीले नतिजा आफ्नो पोल्टामा पार्दै आएको छ । माओवादी विभाजनको असरले जाजरकोट क्षेत्र नम्वर २ गुमाउदै आएको थियो । माओवादी विभाजनपछि जिल्लाको राजनीति र निर्वाचनको नतिजा यिनै तीन दलका उम्मेदवारको वरिपरी घुम्ने गरेको छ ।

०७४ अघि जाजरकोटमा दुई वटा निर्वाचन क्षेत्र थिए । २०४८ सालमा भएको आम निर्वाचनमा क्षेत्र नं. १ मा कांग्रेसका द्वारिकाप्रसाद प्रधान र क्षेत्र नं. २ बाट एमालेका कृष्णबहादुर शाहीले जितेका थिए । त्यसपछि २०५१ मध्यावधि निर्वाचन हुँदा भने दुवै क्षेत्र कांग्रेसले जित्यो । क्षेत्र नम्बर १ बाट झलकनाथ वाग्ले र क्षेत्र नं. २ बाट दीपकजंग शाह विजयी हुनुभयो । यस्तै २०५६ सालको आम निर्वाचनमा कांग्रेस नतिजाशून्य भयो । क्षेत्र नं. १ बाट राप्रपाका गोविन्दविक्रम शाह र क्षेत्र नं. २ बाट एमालेका रत्नप्रसाद न्यौपानेले जितेका जित्नुभएको थियो ।
कांग्रेस–एमाले प्रतिस्पर्धालाई चिर्दै २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा जाजरकोटका दुवै निर्वाचन क्षेत्रमा माओवादीले बाजी मा¥यो । क्षेत्र नं. १ बाट कालीबहादुर मल्ल र क्षेत्र नं. २ बाट भक्तबहादुर शाह विजयी भए । त्यसयताका हरेक निर्वाचनमा माओवादी भने जिल्लामा नतिजाशून्य हुनुपरेको छैन ।

२०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं. १ बाट माओवादीका शक्तिबहादुर बस्नेत निर्वाचित हुनुभयो । क्षेत्र नं. २ बाट भने कांग्रेसका राजीवविक्रम शाहले चुनाव जित्नुभएको थियो ।
२०७४ मा प्रतिनिधिसभाको निर्वाचन हुँदा जाजरकोट एउटै निर्वाचन क्षेत्रमा कायम भयो । उक्त निर्वाचनमा बस्नेत र शाह आमने–सामने भए । तर एमालेको समेत साथ पाएका बस्नेतले बाजी मार्दा शाह पराजित भए । बस्नेतले ३२ हजार दुई सय ८१ मत पाउँदा शाहले २३ हजार दुई सय ८९ मत पाएका थिए ।

प्रतिनिधिसभाको कार्यकाल पूरा भइसकेकाले मंसिर ४ मा निर्वाचन हुँदैछ । यसपटकको निर्वाचनमा माओवादी केन्द्रले पुनः शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक एमाले र माओवादी उम्मेदवार बनेर जितेका बस्नेतले यसपटक नेपाली कांग्रेससहितको सत्तागठबन्धनको साथमा लगातार तेस्रो पटक चुनाव जितेर ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

बस्नेतसँगको प्रतिस्पर्धामा एमालेले युवा नेता निरज आचार्यलाई अघि सारेको छ । अघिल्लो पटक माओवादीसँगको गठबन्धनका कारण प्रदेशसभा सदस्यको उम्मेदवार हुन नपाएका आचार्य यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् । जिल्लामा विकास निर्माणका कामहरुमा बस्नेतले धेरै काम गरेकाले बाँकी रहेका काम गर्नका लागि बस्नेतको जित निश्चित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

शान्ति प्रक्रिया यता जिल्लामा गरेका सबै काममा माओवादीले जस लिदै आएको छ । सुर्खेतको राकममा रहेको सडक डोल्पा सम्म पुर्याएको , मध्य पहाडी लोक मार्गको काम अन्तिम चरणमा पुगेको , जिल्लामा ५० शश्याको अस्पताल निर्माण , नलगाड जलविद्युत आयोजनाको काम , जाजरकोट बहु प्राविधिक शिक्षालय , कर्णालीकै पहिलो सरकारी स्वमित्वको जडीवुटी प्रशोधन केन्द्र स्थापना , जिल्लालाई तीन ठाउँबाट ठुला सडकसँग जोडिएको , कर्णालीकै सबैभन्दा बढी खाद्य डिपो स्थापना , टेलिफोन टावर र विद्युतीकरण निर्माण लगाएतका एजेण्डामा माओवादीले भोट मागिरहेको छ ।

नेकपा एमालेले जिल्लामा भएका कामहरु ढिला सुस्ती भएको भन्दै छिटो निर्माण गर्न प्रतिनिधिसभा देखि प्रदेश सभा आफूले जित्नुपर्ने प्रतिवद्धता सहित जनतासँग भोट मागिरहेको छ । २०६४ यता नेकपा एमालेको नेतृत्व नभएका कारण उसले देखाउने कुनै खास काम नभएकाले एमालेलाई समस्या हुँदै आएको छ ।

को कति बलियो ?
२०७४ को स्थानीय निर्वाचन हुँदा जाजरकोटमा एमाले पहिलो दल थियो । जिल्लाका सातमध्ये तीन पालिका प्रमुखसहित २९ वडाअध्यक्ष एमालेले जितेको थियो । दोस्रो स्थानमा रहेको कांग्रेसले दुई पालिका प्रमुखसहित २५ वडाअध्यक्ष र माओवादीले दुई पालिका प्रमुखसहित २३ वडाअध्यक्ष जितेको थियो ।

त्यसको पाँच वर्षपछि २०७९ वैशाखमा दोस्रो पटक स्थानीय निर्वाचन हुँदा एमाले भेरी नगरपालिकाको प्रमुख,बारेकोट गाउँपालिकाको अध्यक्ष,जुनिचाँदे गाउँपालिकाको अध्यक्ष जितेको छ । जसअनुसार २५ हजार ९ सय ८५ एमालेको पक्षमा सदर भएको देखिन्छ । कांग्रेसले भेरी नगरपालिकाको उपप्रमुख , नलगाड नगरपालिकामा उपप्रमुख , जुनिचाँदेमा उपप्रमुख , शिवालय गाउँपालिका अध्यक्ष , छेडागाडमा प्रमुख र कुशे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष जितेको छ । जसको सदर भोट संख्या ३२ हजार २९ रहेको छ । माओवादीले बारेकोटमा उपाध्यक्ष , छेडागाडमा उपप्रमुख , नलगाडमा प्रमुख जितेको छ । जसको सदर भोट ३० हजार ८३ भोट माओवादीको पक्षमा रहेको छ । सोही निर्वाचनलाई आधार मानेर हेर्दा जिल्लामा सत्तारुढ गठबन्धनसँग करिब ६२ हजार १ सय १२ मत छ । एमालेको मत २५ हजार ९८५ हजार रहेको देखिन्छ । सत्ता रुढ गठबन्धन ३६ हजार भोटले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा अगाडी रहेको छ । त्यस्तै जाजरकोटमा स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की समेत प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नुभएको छ । नेकपा (माओवादी केन्द्र) बाट बिप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका कार्कीले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा अघिल्लो पटक गठबन्धन गरेका एमाले र माओवादीले एक÷एक क्षेत्र बाँडेका थिए । जसअनुसार प्रदेशसभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंहले १६ हजार नौ सय ११ मत पाएर निर्वाचित हुँदा कांग्रेसका बेदराज सिंहले १२ हजार आठ सय ७८ मत पाए ।
त्यसैगरी प्रदेश सभा (ख) मा बामगठबन्धनकै उम्मेदवार एमालेका करवीर शाहीले १५ हजार एक सय ८५ मत ल्याएर विजयी भए । कांग्रेसका दिपकजंग शाहले १० हजार तीन सय ६० मत पाएका थिए । अघिल्लो चुनावमा गणेश सिंहसँग पराजित बेदराज सिंह अहिले गणेशकै साथमा चुनाव प्रचारमा रहेका छन् । अघिल्लो पटक चुनावमा गणेशलाई सघाएका एमालेका अहिलेका उम्मेदवार ( प्रदेशसभा सदस्य ) (क) का उम्मेदवार डम्वरबहादुर सिंह बिरुद्ध गणेश विरुद्धमा छन् ।

यसपटक एमाले एकातिर छ भने कांग्रेस र माओवादीसहित एमालेबाट टुक्रिएको एकीकृत समाजवादीलगायत सत्तारुढ दल अर्कोतिर छन् । त्यसैले पनि प्रदेशसभाको दोस्रो निर्वाचन जाजरकोटमा थप रोचक हुने देखिन्छ । निर्वाचन क्षेत्र नं. १(क) मा भेरी र नलगाड नगरपालिकासहित बारेकोट गाउँपालिका र कुसे गाउँपालिकाको पाँच वटा वडा रहेका छन् । नलगाड गठबन्धनले जितेको छ भने , बारेकोटमा अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीले जितेको छ । भेरीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेसको जित भएको छ । कुशेमा अध्यक्ष र उपाध्यक्ष दुनै कांग्रेसकै रहेको छ । सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसका वेदराज सिंह उम्मेदवार रहेका छन । एमालेले डम्मरबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा ( एकीकृत समाजबादी) का अध्यक्ष कमानबहादुर खड्का प्रदेश १ (क) बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । खड्काको स्वतन्त्र उम्मेदवारीका कारण क्षेत्र नम्वर १ (क) को चुनाव थप रोचक बनेको छ ।

यसैगरी छेडागाड नगरपालिकासहित जुनिचाँदे, शिवालय गाउँपालिका र कुसे गाउँपालिकाका चार वटा वडा रहेको क्षेत्र नं. १ (ख) मा पर्दछ । प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसले राजिव विक्रम शाहलाई उम्मेदवार बनाएको छ भने एमालेले खिमबहादुर शाहीलाई अघि सारेको छ । यिनै दुई उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

एकीकृत समाजवादीका कृष्णबहादुर बुढाले पनि उम्मेदवारी फिर्ता लिएर राजिवविक्रम शाहलाई समर्थन गरेका छन् । १ (ख) मा जुनिचाँदे उपाध्यक्ष कांग्रेसले जितेको छ । शिवालय गाउँपालिका अध्यक्ष कांग्रेस ,उपाध्यक्ष माओवादीको पोल्टामा परेको छ । नेकपा एमालेकोले जुनिचाँदे गाउँपालिकाको अध्यक्ष बाहेक ( ख) मा अरु जितेको छैन ।

प्रतिनिधिसभाका उम्मेदवार शक्तिबहादुर बस्नेत राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने व्यक्ति मध्यमा पर्दछन् । उहाँलाइ गठबन्धनले सोही अनुसार प्रचार गर्दै आएको छ । बस्नेत स्वयमले पनि केही काम अधुरा भएकाले पुरा गर्नका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । जिल्लाको परिचय फेर्नका लागि केही अधुरा काम गर्नुपर्ने छ , त्यसैले पनि मैले यो पटक उम्मेदवारी दिएको बस्नेतले बताउनुभयो । उत्ता एमालेका तर्फबाट उम्मेदवारी दिएका निरज आचार्यले जिल्लामा विकास निर्माण कामहरु ढिला सुस्ती भएकाले छिटो निर्माण गर्नका लागि भएको बताउनुभयो । स्वतन्त्र उम्मेदवार नरबहादुर कार्कीले भ्रष्टाचार बिरुद्ध आफ्नो उम्मेदवारी दिएको बताउनुभयो ।
#हेमन्त केसी#, हाम्राे पहुँच डटकम#

तपाईको प्रतिक्रिया