रारामा पूर्वाधार विकास न पर्यटकीय चहलपहल

view of rara lake
मुगु । पर्यटकीय चहलपहल नबढ्दा र पूर्वाधार निर्माण नहुँदा रारा राष्ट्रिय निकुञ्जको अवस्था स्थापनाको ४७ वर्षसम्म पनि उस्तै छ । रारा र छाप्रुगाउँका बासिन्दालाई बाँकेको चिसापानी र गाभरमा सारेर २०३२ सालमा निकुञ्ज स्थापना गरिएको थियो । रारामा अरू संरचना त बनेका छैनन् नै, स्थापनाका बेला खनिएको घोडेटोसमेत उही छ । निकुञ्ज कार्यालय अहिले पनि जीर्ण भवनमा सञ्चालन भइरहेको छ । मध्यवर्ती क्षेत्रका बासिन्दा गरिबीकै चपेटामा बाँच्न बाध्य छन् ।
‘निकुञ्ज बनाउने भनेर हामीलाई तराई झारियो तर अहिलेसम्म त्यहाँ केही परिवर्तन भएन,’ ४७ वर्षअघि गाभरमा बसाइँ सरेका हरिभक्त शाहीले भने, ‘न विकास भयो न हामीले पुर्ख्यौली जन्मथलो छाडेको राहत पायौं ।’ उनका अनुसार तत्कालीन सरकारले रारामा केबलकार निर्माण गर्ने, विभिन्न पर्यटकीय होटल बनाउने भन्दै बाँकेमा बसाइँ सर्न लगाएको थियो । उनले सिजनको बेलासमेत पर्यटकीय गतिविधि शून्य हुँदा बसाइँ सरेकामा पछुतो लागेको सुनाए ।

हरेक वर्ष राराको विकासका लागि आउने अधिकांश रकम दुरुपयोग हुने गरेको मुर्माका बलिभान शाहीको आरोप छ । ‘स्वर्गकी अप्सरा भन्दै रारालाई ठूलाबडाले मात्र चुसे, दुःखी गरिबले केही पाएनौं,’ उनले भने, ‘न यहाँ बत्ती छ, न गतिलो टेलिफोन सुविधा । अन्न उत्पादन हुने जग्गा पनि निकुञ्जले कब्जा ग¥यो, हामीलाई अब त खान लाउन नै मुस्किल हुन थाल्यो ।’ रारा ताल घुम्न आउने पर्यटकका लागि समेत कुनै सुविधा छैन । ताल किनारमा २ वटा होटल मात्र सञ्चालनमा छन् । जसका कारण पर्यटकले बसाइँ र खानपिनकै सास्ती भोग्दै आएका मुर्माका राजकुमार रोकायाले बताए । ‘अरू त अरू पर्यटक आएको बेला घुमाउने डुंगाको समेत सुविधा छैन,’ उनले भने, ‘कर्णाली राजमार्गको दुरवस्थाका कारण सास्तीपूर्ण यात्रा हुँदा एकपल्ट आएका पर्यटक फेरि आउन मान्दैनन्, न आएका पर्यटकलाई बस्न पुग्ने गरी होटल छन् ।’ उनका अनुसार निकुञ्जले गत वर्ष मात्र पुराना काठका डुंगा विस्थापन गरी ५ वटा रबरका डुंगा सञ्चालनमा ल्याएको छ । तर, पर्यटक डुंगा चढ्न पनि पालो कुर्न बाध्य छन् ।

अहिले रारा निकुञ्जमा पूर्वाधारका नाममा मिलिचौर र ओखबोटमा ४ वटा मचान छन् । निजार खोलामा काठे पुल भत्काएर फलामे पुल बनाइएको छ । ‘कुनै पूर्वाधार छैनन्, अनि ताल हेर्न मात्र किन आउँछन् पर्यटक ? ताल हेर्न पनि आउन जान ठूलो सास्ती बेहोर्नुपर्छ,’ पर्यटन व्यवसायी कमल शर्माले भने, ‘कम्तीमा पर्यटकका लागि आधारभूत आवश्यकता मात्रै पूरा हुन सके रारा आउने पर्यटकको ओइरो लाग्छ ।’ उनले रारा किनारमा प्रतिनिधिसभा सदस्य गोपाल बमले क्यान्टिनको नाममा होटल सञ्चालन गरी व्यक्तिगत फाइदा मात्र लिइरहेको आरोप लगाए ।

२०६३ असोज १० मा रारा सिमसार सूचीमा सूचीकृत भएको थियो । त्यही साल रारा मध्यवर्ती क्षेत्रसमेत घोषणा गरिएको थियो । कागजी रूपमा राराको धेरै रूप बदलिएको र वास्तविक रारा उस्तै रहेको मुर्माका देवीसिंह रोकायाले बताए । बरु मानवीय चहलपहलले बढाएको फोहोरका कारण राराको सुन्दरता घट्दै गएको छ । ‘सरकारले चाहने हो भने यहाँ आएका पर्यटकलाई निकुञ्जभित्रै कम्तीमा एक साता घुमाउन सक्ने गन्तव्य छन्,’ उनले भने, ‘तर पर्यटक ताल हेरेर १÷२ घण्टामै फर्किने हतारोमा हुन्छन् ।’
मध्यवर्ती क्षेत्र घोषणा भएको १६ वर्षसम्म पनि स्थानीयले कुनै लाभको महसुस गर्न नसकेको उनको गुनासो छ । निकुञ्जले विभिन्न पूर्वाधार निर्माणका काम गर्न नदिँदा गाउँमा सडक निर्माणसमेत हुन नसकेको उनले बताए । निकुञ्जले निषेध गर्दा वनबाट काठ–दाउरा पाउन पनि मुस्किल भएको मुर्माका वैशाखे रोकायाले बताए । ‘न गाईगोरु चराउन पाइन्छ न घाँस दाउरा गर्न नै,’ उनले भने, ‘वरिपरिका गाउँमा बाटो छ, बिजुली छ, निकुञ्जकै कारण हाम्रा गाउँको विकाससमेत रोकिएको छ ।’

मध्यवर्ती क्षेत्रका बासिन्दाले वन्यजन्तु आक्रमणको त्रास पनि लामो समयदेखि खेप्नुपरेको उनले बताए । उनका अनुसार भालु, चितुवालगायत वन्यजन्तुले बेलाबेला गाउँमा पसेर जथाभावी क्षति पु¥याउने गरेका छन् । वन्यजन्तुको हूल पसेर नष्ट गरिदिने भएपछि स्थानीय पछिल्ला ५ वर्षदेखि अन्नबाली लगाउनसमेत छोडेका छन् । ‘बाली लगाउन नपाइएपछि अन्न के खाने ?,’ उनले भने, ‘परिवार पाल्न मुस्किल भएपछि गाउँका अधिकांश युवा मजदुरी गर्न भारत पसेका छन् ।’

विकास नभए पनि मानवीय चहलपहलका कारण बर्सेनि राराको पर्यावरणमा ठूलो असर परिरहेको मुर्माका बिर्ख रोकायाले बताए । उनका अनुसार ५० को दशकअघिसम्म निकुञ्ज क्षेत्रमा देखिने डाँफे, कालिज, ढुकुर, कोइली, च्याखुरा, चिर कालिज, तिथ्रालगायत चरा तथा बँदेल, घोरल, भालु, हिमचितुवा, रतुवा, कस्तुरी मृगलगायत जनावरको संख्या घट्दै गएको छ । ‘कुनै बेला हूलका हूल वन्यजन्तु देखिन्थे, अहिले एउटा देख्न पनि मुस्किल छ,’ उनले भने, ‘ताल आसपासमा फुल्ने फूलहरू पनि हराउँदै गए, वनस्पतिहरू पनि लोप भइरहेका छन्, तालमा पाइने असला माछाको संख्या घटिरहेको छ ।’

बर्सेनि आउने सीमित बजेटका कारण निकुञ्जको विकासमा समस्या भएको निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहाल बताउँछन् । उनका अनुसार निकुञ्जका लागि वर्षमा बढीमा १० करोड रुपैयाँसम्म बजेट आउने गरेको छ । ‘त्यो रकमले कहाँकहाँ पु¥याउने ?, जबकि हामीसँग दर्जनौं योजना १० करोडभन्दा माथिका छन्,’ उनले भने, ‘प्लानिङ गरेर बर्सेनि नयाँ कार्यक्रम र योजनाका लागि बजेट माग्छौं, तर एक त बजेटै आउँदैन, आए पनि पुग्ने गरी कहिल्यै हुँदैन ।’

राष्ट्रिय निकुञ्ज विभागले सन् २०२२ डिसेम्बरभित्र रारा ताल वरिपरिका भौतिक संरचना होटल, निकुञ्जको कार्यालय र नेपाली सेनाको ब्यारेक बाहिर सार्न निर्देशन दिएको छ । ‘यी संरचना सारे पूर्वाधार निर्माणमा केही सहजता हुनेछ,’ उनले भने, ‘अहिले हामीले त्यसका लागि कार्ययोजना निर्माणको काम गरिरहेका छौं ।’ प्रदेश सरकारले ४ वर्षअघि रारा ताल वरिपरि साइकल लेन बनाउने योजना अघि सारे पनि काम सुस्त गतिमा छ । उक्त साइकल लेन निर्माणको काम हुन नसक्दा २०७४ मा ४ करोड रुपैयाँ फ्रिज भएको थियो । गत वर्ष २ करोड ८८ लाख रुपैयाँमा शंकर–मालिका जेभीलाई कामको जिम्मा दिए पनि कम्पनीले ३५ प्रतिशत मात्र काम सकेको छ । ३ वर्षभित्र रारा वरिपरि १३ किलोमिटर लम्बाइ र ३ मिटर चौडाइको ट्र्याक निर्माण गर्ने गरी प्रदेश सरकारले डीपीआर गरेर डिभिजन वन कार्यालयमार्फत योजना कार्यान्वयन गरिरहेको छ । तर, अहिलेसम्म १ किलोमिटर मात्र साइकल ट्र्याक निर्माण भएको छ ।

संरक्षण अधिकृत दाहालका अनुसार मुगुमा हवाई र सडक यातायात सुरु भएपछि पर्यटकको संख्या बढे पनि अझै विदेशी पर्यटक भित्रिएका छैनन् । २०६२ मा मुगुमा हवाई सेवा र २०६९ सालमा गमगढी–नाग्मा सडक सञ्चालनमा छन् । त्यसयता बर्सेनि १२ हजारसम्म पर्यटक आएका छन् । सडकको स्तरोन्नति नहुँदा र रारा विमानस्थलमा नियमित उडान नहुँदा पर्यटकहरूले सास्ती भोगिरहेको उनको भनाइ छ । २०४५ मा गरिएको पहिलो सर्वेक्षणअनुसार रारा ताल १०.८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । १ सय ६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले मुगुको छायानाथरारा नगरपालिका, सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकको भूभाग ओगटेको छ ।
#कान्तिपुर#

तपाईको प्रतिक्रिया