बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पण गर्छु : प्रचण्ड


गोरखा । पूर्व प्रधानमन्त्री तथा गोरखा २ का उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिमा समर्पित भएर बिताउने घोषणा गरेका छन् ।

चुनाव प्रचारका क्रममा बिहिबार गोरखा पुगेका प्रचण्डले देश विकासको पहिलो खुड्किलो आर्थिक क्रान्ति भएकाले बाँकी जीवन आर्थिक क्रान्तिमा बिताउने बताएका हुन्।

‘मेरो बाँकी जीवन अब आर्थिक क्रान्तिका निम्ति हुनेछ’, उनले भने, ‘देशमा आर्थिक क्रान्ति गर्न गोरखाले नेतृत्व गर्छ। त्यो म गर्छु। आर्थिक क्रान्तिको सुरुवात गर्न म गोरखा आएको हुँ।’

गोरखाको अजीरकोट गाउँपालिकाको भच्चेकलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा परिचित गन्तव्यका रूपमा विकास गर्ने र पर्यटकीय केन्द्र बनाउने दाहालले वचन दिए।

त्यहाँ उत्पादन भएको चिया, अलैँची देशभर बिक्री गर्ने, शिक्षा स्वास्थ्य, रोजगारी सिर्जना गर्ने उनले बताए। देशमा राजनीतिक परिर्वतनसँगै आर्थिक विकास भने हुन नसकेको उनले स्वीकार गरे।

‘अब आर्थिक क्रान्ति गर्न सकिएन भने राजनीतिक क्रान्ति पनि खतरामा पर्ने भयो’ दाहालले भने ‘जनताको घर आगनमा उज्यालो पुर्‍याउन सकिएन। आर्थिक क्रान्ति र समृद्धि जोड्न सकिएन।’

अहिले गठबन्धन दलबीच संविधानको रक्षाका साथै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई तीव्र गतिमा अघि बढाउने निर्णय भएको उनले बताए।

संविधानसभा विघटन मात्र नभई राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु पनि संविधानको उलंघनको नमुना भएको माओवादी केन्द्रका अध्यक्ष दाहालले बताए।

‘संविधान र लोकतन्त्र विरोधी प्रवृत्तिले टाउको उठाउने खतरा अझै छ’, उनले भने, ‘मंसिर ४ गते प्रतिगमनलाई परास्त गर्नुपर्छ।’

गठबन्धन भित्रकै नेपाली कांग्रेसका नेता कार्यकर्तालाई लक्षित गर्दै उनले १२ बुँदे समझदारी नै जय नेपाल र लाल सलाम सँगै रहेको स्मरण गराए।

मनमा कतै द्वविधा छ भने कसैले त्यो राख्न जरुरी नभएको बताउँदै उनले भने ‘सम्झौता हुने नै दुई युद्धरत पक्षबीच हो। ठूलो परिर्वतन ल्याउन भूमिका तिनैको हुन्छ, त्यसैले यो गठबन्धन चुनावका लागि मात्र होइन, आर्थिक विकास र संवृद्धिका लागि पनि हो।’

प्रचण्डले गोरखाका धुले सडकहरू पाँच वर्षभित्र कालोपत्रे हुने बताएका छन्। बिहीबार गोरखाको भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने ‘म अहिले धुलो, हिलो र असजिलो बाटाहरू हिँडिराखेको छु, यी सबै सडक पाँच वर्षभित्र पिच गर्ने र यहाँको जनताको जीवनमा परिर्वतन ल्याउने छु।’

आर्थिक विकासको पूर्वाधारका लागि सडक प्रमुख रहेकाले पहिलो प्राथमिकता पालिका, वार्ड, मुख्य सडक कालोपत्रे गर्नेमा दिने उनले बताए।

तपाईको प्रतिक्रिया