मत माग्ने उम्मेदवारसँग मतदाताको माग ‘विकास गर’

सल्यान : सल्यानको प्रदेशसभा (क) का मतदाताले भोट माग्न आउने उम्मेदवारहरूसँग विकास निर्माणका काम गर्नुपर्ने माग गरेका छन्।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै विभिन्न दलका उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न जाँदा उनीहरूले विकास नभएको भन्दै यस्ता माग गरेका हुन्।

भोट माग्न आउने उम्मेदवारहरूसँग मतदाताले शिक्षा, स्वास्थ्य, रोजगार र बाटोलगायत विकास निर्माणका काम गर्न माग राखेका छन्।

विगतका निर्वाचनमा मत दिँदै आए पनि जनताले चाहे जस्तो विकास नभएकाले अब चुनिने जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्नुपर्ने बताएका छन्।

स्थानीय सरकारले बाटोको ट्रयाक खोलिदिए पनि बाह्रै महिना गाडी नचल्दा आफूहरू समस्यामा परेको सिद्धकुमाख गाउँपालिका-१ कागखोलाकी सीता चलाउनेले बताइन्।

यसअघिका निर्वाचनमा काम गर्ने वाचा गरेका जनप्रतिनिधिले काम गर्न नसकेको बताउँदै उनले अहिले भोट माग्न आउने उम्मेदवारसँग सडक, खानेपानी, विद्युतजस्ता कुराको माग गरिन्।

कागखोलाकै देवी चलाउनेले पनि अहिले भोट माग्न आउने उम्मेदवारसँग सडक सुधार, खानेपानी उपलब्ध गराउनलगायत माग गर्ने गरेकी छन्।

भोट माग्न घरदैलोमा पुगेका सल्यान प्रदेशसभा (क) का उम्मेदवार भीमप्रकाश शर्माले विगतदेखि नै आफू क्षेत्रको विकास निर्माणमा लागि परेको बताए। उनले आफू निर्वाचित भए जनताले चाहेअनुसार काम गर्ने प्रतिबद्धतासमेत जनाए।

व्यवस्था बदलिए पनि अवस्था उस्तै रहेकाले यस्तो स्थिति बदल्न अब आउने सरकारले मतदाताका माग पूरा गर्ने विश्वास उनले दिलाउने प्रयास गरे।

मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका उम्मेदवारहरू यति वेला मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।

प्रदेशसभा (क) मा लोक-वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा, नेकपा एमालेका कुलबहादुर गिरीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रदेशसभा (क) मा पुरुष ४० हजार १७४ र महिला ३८ हजार ४९४ गरेर कुल ७८ हजार ६६८ जना मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया