सल्यानमा नमुना मतदान

No description available.

नविन पिएम
सल्यान । मत बदर कमी गर्ने उद्देश्यले सल्यानमा नमुना मतदान कार्य सम्पन्न भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यक्रम अन्तर्गत शनिवार जिल्लाको सदरमुकाम खलंगामा नमुना मतदान सम्पन्न भएको हो । बदर मत कम गर्ने उद्देश्यका साथ सदरमुकाम खलंगा बसपार्कमा नमुना मतदान कार्य सम्पन्न भएको हो ।

धेरै मतदाताले मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्न नुमना मतदान कार्य गरिएको हो । निर्वाचनमा बदर मत कम गर्ने र मतदातालाई सहजताका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया सहित नमुना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।

उक्त नुमना मतदान कार्यमा खलंगामा उपस्थित ६७ जनाले सहभागिता जनाएका थिए । जसमा खसेको मतको ३४ प्रतिशत अर्थात २३ मत बदर भएको छ । यस्तै ४४ मत मात्रै सदर भएको छ ।

यस अघि हिजो शुक्रवार नमुना मतदान अन्तर्गत जिल्लाको बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा नमुना मतदान कार्य गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख भट्टराईका अनुसार सल्यानका १० वटै पालिकामा नमुना मतदान कार्यक्रम गरिने छ । नमुना मतदानको अभ्यास गरेपछि आगामी मङ्सिर १ गतेसम्म प्रत्येक पालिकाको वडामा चयन गरिएका महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन स्थानीयको घरदैलोमा गएर मतदाता शिक्षा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

No description available.

जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरू यतिबेला मत माग्न घरदैलोमा व्यस्त छन् तर मतदान कसरी गर्ने भन्ने कुरा मतदाताले थाहा पाएका छैनन् । दलहरूले मतदातालाई कसरी मत हाल्ने सिकाउन सकिरहेका छैनन् । निर्वाचन आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल मार्फत पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जिल्लाभरि जम्मा एक लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । जसमध्य पुरुष ८० हजार २ सय १२ रहेका छन् भने महिला ७७ हजार ४ सय ८९ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया