भेरीमा बेपत्ता विक्रान्त अझै भेटिएनन्


जाजरकोट । भेरी नदीमा बेपत्ता भएका जाजरकोट खलंगाका विक्रान्त केसी अझै भेटिएका छैनन् ।
जिल्ला सदरमुकाम नजिकै भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदीको किनारमा पिकनिक खान गएको बेला नुहाउने क्रममा कार्तिक ८ गते विक्रान्त बेपत्ता भएका थिए । नुहाउने क्रममा भेरी नगरपालिका ४ का रोशन खड्का बगेपछि बचाउन गएका विक्रान्त नदीमा बेपत्ता भएका थिए ।

नदीमा डुबेका रोशन भने तत्काल मृत अवस्थामा फेला परेका थिए । घटना भएको ६ दिन वितिसक्दा पनि विक्रान्तको अवस्था अझै अज्ञात नै रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले बताए । नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य गरेपनि फेला पार्न नसकिएको प्रजिअ न्यौपानेले बताए ।

तालिम प्राप्त सुरक्षाकर्मी परिचालन गरिए पनि वेपत्ता विक्रान्तलाई फेला पार्न नसकिएको उनले बताए । तिहारको अवसरमा सदरमुकाम खलंगामा भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले भेरी नदी किनारामा पिकनिक (वन भोज)को आयोजना गरेका थिए ।

पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा एकजना किशोरको मृत्यु भएको अर्का युवा वेपत्ता भएपछि सदरमुकाम खलंगा शोकमग्न भएको छ । विक्रान्तका बुवाको गत वर्ष नै निधन भएको थियो । साहारा बन्ला भनेको छोरा भेरीमा बेपत्ता भएपछि आमा शोकमा डुबेकी छन् ।

तपाईको प्रतिक्रिया