
जाजरकोट । सदरमुकाम खलंगामा चाडपर्व नजिकिएसँगै बजार अनुगमन गरिएको छ । दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको संयोजगत्वमा संयूक्त रुपमा बुधबार खलंगा बजारमा अनुुगमन गरिएको छ ।
स्थानीय प्रशासन, स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, पशु सेवा कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय र उपभोक्ता हक हित संरक्षण समितिले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

तल्लो थाप्ले र ठाँटीबजार एरियाका झन्डै २० वटा पसलको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत महेन्द्र भडेलले जानकारी दिए । अनुगमन गरिएका पसलहरु बाट म्याद नाघेका झन्डै २ लाख भन्दा बढीको खाद्य वस्तु बरामद गरिएको अधिकृत भडेलले बताए ।

दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको अधिकृत भडेलको भनाई छ । म्याद गुज्रिएका, लेवल नभएका सामाग्री जहाँ फेला पर्छ त्यहीँ नै नष्ट गरिँदै आएको उनको भनाई छ ।
अनुगमनका क्रममा पसल दर्ता, नवीकरण गरेको वा नगरेका, मुल्युसूची राखे÷नराखेको लगायतका कुराहरुलाई समेटि बजार अनुगमन गरिएको छ ।

















































। १२ आश्विन २०७९, बुधबार