उनले गरे एक महान ‘अजात क्रान्ति’

रमेश घर्ती (आलोक)

जब म भर्खर होस् सम्हाल्दै थिए । अनि छुन्थे मेरा समाजका केही मर्यादाका सीमाहरु । मेरा अबोध पैतालाहरु चाहान्थे निश्चिन्त र स्वतन्त्र विचरण गरून् । मनुष्यताका खुल्ला पृष्ठभुमिमा । मेरा आँखाहरु चाहान्थे हर ती थोक नियाल्न, जहाँ केही सीमा र मापदण्डहरु नहुन । जहाँ केही बाध्यात्मक प्रतिबन्धहरु नहुन । जहाँ केवल मनुष्यतानै मनुष्यता होस् अनि प्रेम नै प्रेम होस् । स्वतन्त्रताको विशाल आकाशमुनि केवल उद्दार हृदयहरुका निश्चल तरंग हुन् ।

000
तर अपसोच ! प्रतिबन्धित हुन्थे मेरा पैतालाहरु निश्चित परिधि भित्र । सीमित हुन्थे मेरा दृष्टिहरु समाजको मान्यताहरुको आँखी झ्यालभित्र । अनि कहाँ कहाँ मनुष्यताको आकाशमा विचरण गर्न निस्केका मेरा उन्मुक्त भावनाहरु बन्दी हुन्थे । समाजले निर्माण गरेका साँघुरा सांस्कृतिक कैदखाना भित्र । जहाँ मेरो आत्मा निस्सासिन्थ्यो । मेरो जीवन संकुचित बन्थ्यो अनि मेरा भावना समाजका क्रुरताको मारमा रक्ताम्य हुन्थे । अनि बोध हुन्थ्यो ’आखिर यहि नै रहेछ समाजको सीमा अनि यहि नै रहेछ जीवनको नियती ।

000

आफूलाई उपल्लो र श्रेष्ठ स्तरका भनेर परिभाषित गर्ने मेरा समाजका सम्भ्रान्त र खोक्रा आडम्बरी कुलीनहरुका सौतेनी व्यवहार हेर्दा लाग्थ्यो, साहेद मेरो जन्ममा नै पाप थियो । उसो त हाम्रा उच्च कोटिका केही दर्शनहरुले पनि मनुष्य जन्मलाई पाप र पुण्यको परिधिभित्र जकडेर राखेका छन् । तर जन्म न त पाप हो न पुण्य नै । जन्म केवल जन्म हो अनि जीवन केवल जीवन हो । त्यो उनको लागि पनि, अनि मेरा लागि पनि । किनकी प्रकृतिको काखमा पाप र पुण्यको भेद छैन अनि उच र निचको पृथक नीति छैन । यदि यसो हुन्थ्यो भने मानिसको लागि फरक र पशुको लागि फरक सुर्य उदाउँथ्यो होला अनि मानिसमा पनि उच्चहरुको लागि फरक र निचहरुको लागि फरक सुर्य उदाउँथ्यो होला । तर त्यसो भएन । किनकी प्रकृतिमा विभेदको कुनै स्थान छैन ।

000

म त्यो समाजमा थिइन । जहाँबाट मेरो पुर्खाहरु आएका हुन् । बरु म त्यो ठाउँमा थिए । जहाँ मेरा पुर्खा आएर स्थापित भएका हुन् । अर्थात् ठिक त्यस्तै, जस्तो मानिस आफ्नो घर छोडेर छिमेकीको घरमा शरण लिएर बसेको होस् । अब छिमेकीको घरमा कहिलेकाहीँ कठोर व्यवहार पनि गरिन्छ । तर मेरो लागि त्यो हृदयबिधारक कठोर व्यवहार लगभग नियमित नै हुन्थ्यो । किनकी मेरा अबोध भावना केवल मनुष्यता चाहान्थे तर मेरो समाज उच्च जात चाहान्थ्यो । त्यसैले म बर्जित थिएँ । मेरो नैतिक समाजको निम्ति । मेरा अबोध भावना र संवेगहरु भ्रममा परिरहे कि यो समाजले मेरो निम्ति यो एक बिशेष नियम बनाएको रहेछ किनकी म बिशेष छु । तर उसको सौतेनी व्यवहारको पछि मेरो बिशेषता होइन कारण अर्कै रहेछ ।

कारण रहेछ अजात सम्बन्ध, जुन मेरो बहादुर पुर्खाले गरे । समाज एक पाखण्डपुर्ण नैतिक सीमाभित्र बाँधिएको थियो । त्यसकारण यहाँ सम्बन्धको निम्ति जात चाहिन्थ्यो । सम्पुर्ण दर्शन र धार्मिक नीति नियम पनि यहि जात व्यवस्थाको बेरंग र बेढंगको पछ्यौरा ओढेर बसिरहेको थियो । ’जात’ मेरो सभ्य समाजको निम्ति सुरक्षाको बलियो औजार थियो । अभेद्य, अकाट्य, अपरिवर्तनिय, जस्तोकी रामवाण होस् या ब्रह्मास्त्र होस् । यस्तो ब्रह्मास्त्र या रामवाणको अघि जो आउँछ उ नष्ट भएरै छाड्छ । यहि नैतिक व्यवस्थाको अगाडि वर्जित र अनैतिक कदम चाल्ने मेरा पुर्खालाई यो नैतिकताको झुटो आवरण भित्र मस्तसँग निदाएको मेरो समाजले पचाउँथ्यो र ? अहँ ! सम्भावना नै थिएन । त्यसैले छोडिदियो रामवाण, छोडिदियो अनैतिक समाजको नैतिकताको ब्रह्मास्त्र । जसको राप र तापमा आजको मेरो पुस्ता समेत पिरोलिइरहेको छ । ठिक त्यसैगरी, जसरी अमेरिकाको परमाणु प्रहारको प्रभावमा आजसम्म नागासाकी र हिरोसिमा जिर्ण र रुग्ण छ ।

000
मैले भोगिरहेको परमाणुको ताप थियो अजात सम्बन्ध । जुन समग्र नीति र सीमाहरुलाई उल्लंघन गर्दै मेरा बहादुर र क्रान्तिकारी हजुरबाले जोडेका थिए । समाजले लाएका सम्पुर्ण मर्यादाका सीमाहरुलाई तोड्दै सभ्यताको नवीन कदम उठाएका थिए । त्यही कारण पो रहेछ मेरा स्वतन्त्र भावना बोकेका उन्मुक्त कदमहरुमा जातिय स्तरताको साँघुरो घेरा लगाइएको । त्यसैले पो रहेछ समान धरातलमा उभिएर एउटै मुलको पानी पिउँदै एउटै सुर्य तापेको मलाई मेरो समाजका मान्छेले सानो स्तरमा राखेका र एउटा भाँडाबाट पिउन र एउटै भान्सामा खान संकुचन गरिरहेका । बिचरा म एक अबोध जो थिएँ, कसरी बुझ्नु उनीहरूका काला नैतिकताका तिखा कानुनहरुलाई । अनि म कसरी बुझ्नु उनीहरुका धर्म नामका पापका गाँठाहरुलाई । बल्ल पो बुझेँ, यसको कारण मेरा हजुरबा’को एक युगान्तकारी कदम रहेछ ।

000

मेरो समाजमा दुई थरिका मानिस छन् । एउटा छुत अनि अर्को अछुत । छुत क्षेत्रीहरु हुन अनि अछुत विश्वकर्मा । अझ मेरो समाजका मान्छेले दिएको विश्वकर्माको नाम ’कामी’ । त्यही बिचमा अध्यापन पेशाको शिलशिलामा आइपुगे मेरा हजुरबा । जुन न छुत थिए न अछुत । उनको समाजको निम्ति छुत थिए तर जातीयताको आधारमा उनी न क्षत्रीयको नश्ल थिए न कामीकै । उनी थिए ठिम्से मगरका नश्ल । उनी एक गुरु, एक मार्गदर्शक अनि एक ज्योतिष पनि थिए । समग्रमा उनी वैद्विक मनुवादी समाजका एक अंश थिए तर बहिस्कारक । मनुवादी समाजको बहिष्कारक भएकै हुँदा उनले हिम्मत राखे यो समाजले बाँधेको नैतिकताको अनैतिक बन्धनको छेदन गर्न । मनुले अजात सम्बन्धको लागि वर्जित गरेका हुन् तर त्यही मनुवादी समाजको बिचमा बसेर एक अग्रगामी कदम उठाए, एक साहासिक कदम उठाए मेरा परम पुज्य हजुर’बाले ।

000

कुरा २०१८ साल तिरको रहेछ । उनी हालको मेरो गाउँमा अध्यापन गर्न आएछन् । जहाँ क्षत्रीयत्वको शासन मानवताको परिधिमा थिएन र हुने कुरा पनि भएन । किनकी पुर्वीयाहरुको ब्राह्मणवादी मनुवादी समाज हो नै यस्तो । यहाँ जात भन्दा माथी न धर्म हुनसक्छ न प्रेम र मानवता नै । अझ विज्ञान पनि माथी छैन साहेद । तर त्यही समाजमा बसेर अध्यापन गर्दै गर्दा क्षत्रीयत्वको लगाम बिहिन हेपाहा प्रवृत्ति र फेद न टुप्पोको दोषारोपणले गर्दा आजित भएका अध्यापकले उनीहरुको प्रवृत्तिलाई चुनौती दिँदै समग्र मनुवादी व्यवस्थाकै उल्लंघन गर्दै एक महान कदम उठाए । जुन कदमले उनलाई जीवन देखिनै हात धुनुपर्ने स्थिति सम्म पनि पु¥याउन सक्थ्यो साहेद । तर उनलाई व्यवस्था स्वीकार थिएन, दोस्रो कुरा उनी क्षत्रीयहरुको व्यवहारबाट दिक्क भैसकेका थिए त्यसैले त्यो निर्णय लिए जुन मेरो कठिन अनुभुती र सुन्दर अस्तित्व दुवैको कारण थियो ।

000
राज्य व्यवस्था नै मनुवादमा थियो जुन आज पनि छ । मेरा हजुर’बाले त्यो कदम चाले जो राज्यको बिरोधमा थियो, व्यवस्थाको बिरोधमा थियो र धर्मको बिरोधमा थियो । अन्तरजातीय सम्बन्ध वर्जित हुँदाहुँदै पनि उनले ती कन्यालाई आफ्नो अति नै विकट तर सुन्दर सम्बन्ध शुत्रमा बाँधे जसलाई मेरो समाजका मान्छेले अछुत मान्थे । अर्थात् मेरी हजुर’आमा एक विश्वकर्माकी छोरी थिइन् । पानी नचल्ने जातकी थिइन् । त्यो मेरो क्षत्रीय समाजको निम्ति पानी चल्दैनथ्यो, तर अरु सबथोक चल्थ्यो । छुतहरुलाई अछुतको पानी चल्दैनथ्यो तर श्रम चल्थ्यो, सीप चल्थ्यो, सौन्दर्य चल्थ्यो, सृजना चल्थ्यो र यौवन पनि चल्थ्यो प्रत्यक्ष सम्बन्ध चल्दैनथ्यो । बिहेवारी चल्दैनथ्यो । तर मेरा हजुर’बालाई चल्यो सबै । किनकी उनी मानिस थिए । उनी क्षत्रीय थिएनन्, उनी दलित थिएनन्, र उनी जनजाति पनि रहेनन् । त्यसैले त जोडे मानिस भएर यति सुरूप सुन्दर सम्बन्ध, जो समाज र व्यवस्था सबैको निम्ति महा पाप थियो ।

000
त्यो बेला राज्यमा मनुवाद र ब्राह्मणवादलाई अवज्ञा गरेर अन्तरजातीय विवाह गर्नेलाई देशद्रोही मानिन्थ्यो र चार पाटा मुँडेर देश निकाला गरिन्थ्यो । तर उनलाई कुनै कुराको प्रवाह भएन, कुनै अनैतिकहरुको नैतिक कानुनको मत्लब भएन तर समाजमा बाँच्न दिने त पक्कै थिएनन् । तैपनि उनलाई बाँच्नु थियो । अन्यथा उनको विरताको साथ जोडेको सम्बन्धको सार्थकता कहाँ पाइन्थ्यो र । उनले गरेको त्यो नैतिक विरोधले सफलता कहाँ पाउँथ्यो र ? त्यसैले उनले बाँचेर संघर्ष गर्नु थियो । अनि उनको नव जोडि पलाएन भयो एक दुर्गम ठाउँमा । जहाँ उनको कुनै सुराक सम्म पुग्न सक्ने थिएन । जहाँ सुरक्षित हुन त सजिलो थियो तर केही झुटहरुको साहारा लिनुप¥यो । त्यो बिरानो ठाउँमा दुई बर्ष भुमिगत जीवन बितायो उनको युगान्तकारी जोडिले ।

000
उनलाई २०२० सालमा श्री ५ को सरकारले नयाँ मुलुकी ऐन पारित गरेको छ र जसमा अन्तरजातीय सम्बन्धलाई बैधानिकता दिएको छ भन्ने जानकारी भए पश्चात् बल्ल उनको जोडि गाउँ फर्कियो । तर मुलिकी ऐन सरकारको लागि थियो, मुलुकी ऐन केवल ऐनको लागि थियो । तर त्यो ऐन न जनताको लागि थियो न ब्राह्मणवादी व्यवस्थाको लागि । तर एउटा कुरा पक्का के थियो भने अब त्यो जोडिले देश निकाला हुनुपर्ने छैन । देश निकाला भएनन् तर घरमा स्वीकार नभएपछि घर निकाला त हुनैप¥यो । नयाँ संसार बसाउन, नयाँ दुनियाँको रचना गर्न त्यति सजिलो कहाँ हुन्छ र ? त्यो समयको लागि त्यो अजात सम्बन्धमा संसार बसाउनु त्यस्तै थियो, जस्तो गोनु झा’को आकाशे महल बनाउनु । तथापि हार मान्नेवाला थिएनन् । दश नङ्ग्रा खियाएर एक सानो द्वारिका बसाए । त्यसमा हजुर’आमाको पक्षले मन लागि नलागी केही सहयोग गरे र त्यो द्वारिका बन्यो । कृष्णको द्वारिका बनाउन त विश्वकर्मा लगायतका दिक्पालको खुल्ला हृदयले समर्थन थियो तर मेरो हजुर’बाको द्वारिका बसाउन भने विश्वकर्माको सहयोग एक बाध्यात्मक थियो आफ्नो छोरी बहिनीको दुनियाँको लागि । तर जेहोस् बन्यो एक नयाँ संसार ।

000
त्यो नयाँ संसार पनि यस्तो थियो, जस्तो कर्कलाको पातमाथिको पानी होस् । जो सुन्दर छ तर कतिबेला कसले ठक्कर दिएर खसाउने हो थाहा छैन । तर मेरा साहसी हजुर’बाको जोडिले जोगायो जसोतसो । एकातिर मगर परिवारको चुनौती, अर्कोतिर क्षत्रीयताको आलोचना अनि अर्कोतिर विश्वकर्मा तर्फको असहयोग । तथापि विश्वकर्मानै सहयोगी बने । हुनत हमेशा सहयोगी रहने भनेकै विश्वकर्मा हुन । उहिले देखि अहिलेसम्म । कहिले कृष्णका, कहिले पाण्डवका, कहिले इन्द्रका, कहिले रावणका अनि कहिले मेरा हजुर’बाका ।

त्यो नयाँ द्वारिका भित्र स्वर्गलाई गिज्याउने एक संसार बन्यो । जहाँ मेरा बाको नवीन पुस्ता बुकुर्सी मारिरहेको थियो । तर समस्या खडा गरेको थियो यहि समाजले । मेरा बाको पुस्तालाई हजुर’बाका परिवारले जनजाति स्वीकार गर्दैनथ्ये । अनि हजुर’आमाको समाजले झन आफ्नो वंशज मान्ने कुरै थिएन । त्यसैमाथी हरेक कुरामा औंला ठड्याउने र छड्के रुपमा तिखा आलोचना गर्ने क्षत्रीय पनि त थिए । त्यसैले हजुर’बाको अजात सम्बन्धको कारण बाको कुनै जात भएन । यो सहि थियो एक मानिस बन्नको निम्ति तर समाजसँग समायोजित हुन सजिलो थिएन । एक अजात मानिस ब्राह्मणवादी समाजमा कसरी पच्छ ? हजुर’आमा दलित थिइन् । त्यसैले हजुर’बाका घरानाले मेरा बाको पुस्तालाई सहर्ष स्वीकार गर्न सकेन जनजातिको रूपमा । अनि मामाले भान्जालाई कहिल्यै वंशजको हक दिँदैन त्यसैले उनलाई विश्वकर्माको जात पनि मिल्दैनथ्यो । त्यसैले अजात थिए उनीहरु अनि अस्वीकार्य थिए समाजको निम्ति ।

000

बल्ल बुझेँ, म किन अस्विकृत थिएँ । म एक सुन्दर सुगन्धित पुष्प हुँ तर कुनै मन्दिरमा मेरो अर्पण स्वीकृत थिएन । किनकी म अजात बोटमा फुलेको थिएँ । मानिसलाई जात त चाहिन्थ्यो नै तर मनुवादी ब्राह्मणवादी समाजका ईश्वरलाई पनि जात नै चाहिँदो रहेछ । कारण ती ईश्वरले ब्राह्मणवादी समाजको निर्माण गरेका थिएनन् बरु ब्राह्मणवादीहरुले नै बनाएका ईश्वर थिए त्यसैले त्यहाँ म जस्तो एक सुवासित फुलको अर्पण स्वीकार भएन । मेरो बा आफैमा अजात थिए । त्यसैमाथी मेरी आमा पनि एक विश्वकर्माकै छोरी हुन त म त्यो बोटमा उदित सुर्यमुखी, कसरी चल्छु मेरो समाजलाई र उसले परिकल्पना गरेको ईश्वरलाई । कारण यो थियो, मेरो स्वतन्त्र भावना बोकेका उन्मुक्त पैतालाहरुमा लगाइएको नैतिकताको भारी जञ्जिर । कारण यो थियो, जसले मलाई प्रतीत गरायो कि मेरा समाजका सभ्य मानिसको लागि म एक पाप हुँ । तर वास्तविकता यसो होइन ।

000

वास्तविकता त यो रहेछ कि मेरो समाजले मलाई नदिएको जातको कारणनै म मानिस भएको रहेछु । मेरो हजुर’बाले पुर्वीया समाजका भगवान् मनु जि महाराजको मर्यादामाथी प्रहार गरेर आरम्भ गरेको अजात क्रान्तिको प्रतिफल दुनियाँबाट नै मैले मानिस बन्ने अवसर पाएको रहेछु । म खुशी छु आज, म हर्षित र गर्वित छु मेरा हजुर’बा प्रती । जसको कारण म समाजका साँघुरा मर्यादाका घेराबाट बाहिरिएर स्वतन्त्र मानवीय सभ्यतामा छु । म खुल्ला छु तर मेरो समाज अझै मनु जि को खिया लागेको मर्यादाबाट बाहिर आएको छैन । त्यसैले म ’म’ भएँ, जसको आरम्भ उनले गरे । उनले गरे एक नयाँ मनुष्यताको आरम्भ । उनले गरे एक मानवताको सुन्दर क्रान्ति । अजात क्रान्ति ।

तपाईको प्रतिक्रिया