
महानन्द ढकाल मेरो लागि नयाँ नाम थिएन । भेट हुनु अगावै उहाँलाई गजलकारको हुलिया बाट चिनेको थिए । पछि समयको उमेर संगै उहाँको पहिचानको हुलिया पनि हाइकुकार, मुक्तककार हुँदै उपन्यासकारमा छरपस्ट भयो । हरेक विधामा कलम चलाउने साहित्यकारहरु बिरलै भेटिन्छन् । सबै विधामा कलम चलाए पनि सबै विधामा दखल अन्दाज नहुन सक्छ कोही कसैको । तर उपन्यासकार महानन्दको दखल सबै विधामा उत्तिकै अब्बल रहेछ भन्ने पुष्ट्याई बुह्रान उपन्यासले थप पुष्टि गरेको छ ।
केही समय अगाडि सामाजिक सञ्जालका भित्ताहरुमा बुह्रान नामाकरण गरिएको उपन्यासको प्रचारवाजी अनेकै भएपछि मैले तिनै बुराहनलाई सम्झे हिज्बुल मुजायद्धिनका कमाण्डर बुराहन वानी । जस्को केही बर्ष अगाडि कस्मिरमा भारतीय सेनाका सेनाहरुले इन्काउण्टरमा मारेका थिए । कस्मिर न त भारतको अधिनमा थियोे न त पाकिस्तान कै । कस्मिर स्वतन्त्र मुलुक थियोे । कस्मिरमा मुस्लिम धर्मावलम्बीहरुको बाहुल्यता रहेता पनि राजा अल्प संख्यक हिन्दु धर्मावलम्बी बाट हरिसिंह थिए ।
सन १९४७ मा हिन्दुस्तानबाट पाकिस्तान अलग भएपछि कस्मिरका अन्तिम राजा हरिसिंहले रातारात कस्मिरलाई भारतमा बिलय गराएका थिए । उक्त कुरा त्यहाँका बहुसंख्यक मुस्लिमहरुलाई मन परेको थिएन । राजा हरिसिंहको हर्कतबाट क्रोध भएका कस्मिरीहरु आफुलाई पाकिस्तानमा मिलाउन चाहान्थे । कस्मिरको केही भाग पाकिस्तानको टेरीटोरीमा अहिले पनि पर्छ । उनीहरु आफुलाई आजाद कस्मिरी बताउँछन् भने भारतको टेरीटोरीमा पर्ने कस्मिरलाई अबुजा कस्मिर बताउछन् आजाद कस्मिरका कस्मिरीहरु ।
अबुजा कस्मिरमा रहने केही मुस्लिमहरु अहिले पनि पाकिस्तानको समर्थनमा देखिन्छन् । चाहे भारतलाई हराएर पाकिस्तानले क्रिकेट नै किन नजितोस चाहे भारत पाकिस्तानको सिमानामा गोलाबारी नै किन नहोस । भारतले हिज्बुल मुजाएद्धिनका लडाकुहरुलाई आतंकवादी ठाने पनि उनीहरु आफुलाई आतंकवादी ठान्दैनन् । बरु भारतको पन्जाबाट कस्मिरलाई आजाद बनाउनको लागि ईश्वरको दुतको नाउबाट लडेको÷मुजाएद्धिनका लडाकु भएको ठान्छन् । अहिले पनि कस्मिरीहरु । बुराहन लाई सहिद मान्दछन् र श्रद्धाले उनलाई सम्मान गर्दछन् ।
बुह्रानको बारेमा लेखी रहँदा माथिको बिषय बस्तु उठाउन जरुरी थिएन् तर मैले किन उक्त विषयवस्तु उठान गरे भने बुह्रान नपढ्दा सम्म मैले तिनै बुराहन वानीको बारेमा उपन्यासकारले उपन्यास लेख्दै छन् भन्ने अड्कल गरेको थिए । मेरो मन मस्तिष्कले कस्मिर बिलय भएर कस्मिरीहरुले आफ्नो पहिचान गुमाउनुको पिडा र दिनहु आतंकवादीको नाउमा कस्मिरीहरुले भोग्नु परेको सास्तीलाई अन्दाज गरेको थियो । तर यथार्तमा त्यसो रहेन छ । कहाँ बुह्रान कहाँ बुराहन ।
पढ्दा एउटै जस्तो लागे पनि अर्थ त जमिन आकाशको फरक रहेछ । नमरी स्वर्ग देखिदैन भन्थे बुढापाकाहरु कुरा सही लाग्यो । कुनै पनि बस्तुको बारेमा जान्न र बुझ्नको लागि सुनेकै र देखेकै भरमा धारणा बनाउन नमिल्ने रहेछ । जान्न र बुझ्नको लागि उक्त बिषयवस्तुमा डुबुल्की मार्नै पर्ने रहेछ । गोताखोरहरु पनि पानीमा घण्टौ बेरसम्म डुब्छन् । उनीहरु मर्नलाई होइन डुबेकालाई उद्दार गर्नलाई हुन्छ या त गहिराईको अनुसन्धान वा मापन गर्नलाई डुबेका हुन्छन् ।
बुह्रान त गरिवहरुको सपनाको संसार रहेछ । गाउँमा एकछाक खान धौधौ हुनेको लागि बुह्रान पुगेर घरटहरो र खेती किसानमा जोडिए पछि सम्पन्न होइन्छ भन्ने गरिवहरुको आशाको त्यान्द्रो रहेछ । त्यान्द्रो चुडिएन भने अमिर पनि भइएला त्यान्द्रो चुडियो भने दाईको लाहुर भैरहवा सम्म भन्ने उखानले पनि सत्यता पाउने रहेछ । बुह्रान सबैको लागि सपनाको संसार रहेन छ भन्ने कथनी माइला थारु र सोमलालको जीवनमा कटु सत्यको रुपमा साबित भयो । दाङ छोड्नु पर्दा माइला थारुले बुह्रानको बारेमा जे बुझेर आएका थिए ती सबै सपनाहरु बालुवा पानी हाले सरी तुहिए ।
सपनाको बुह्रानले उनलाई सधै कमैया नै बनाई राख्यो । वाह गजब दुःखको कहानी रहेछ माइला थारुसंग । पसिनाको आहालबाट उनी उम्कन सकेनन् हाड घोटेर ख्याउदा सम्म पनि । भुमि पुत्र थारुहुरु भुमिहिन हुनुको पीडा गजब छ सपनाको बुह्रानमा ।
म पनि बुह्रानमा दुईदिन सम्म चुर्लुम्मै डुबे । दुई दिनपछि किनार लागे । बुह्रानको डुबाईको अनुभवले मलाई त्यही पुरानो नोस्टालजियाको ताजगी गरायो । करिब म ९/१० बर्षको थिए हुँला । हामी तराईलाई मलवार भन्थ्यौं जेठाबाले मलवार गिदरपुर भन्ने ठाउँमा चारबिगाह जमिन किनेका थिए । रिमाल बाजेले भने माथी राजीपुरमा दुई बिगाह किनेका थिए । खेतमा लाग्ने बुडीकुलो नै थियोे । हाम्रो कटासे बजारमा कपडाको ठुलै पसल थियोे । म बेलाबखत आमा बुवाको साथमा राजीपुर, ज्योतिपुर बुडिकुलो तर्दै गिदरपुर सम्म जाने गर्थे ।
हाम्रो सेतो र रिमाल बाजेको कालो घोडा थियो । अहिले रिमाल बाजे र साँईला दाई यो संसारमा हुनुहुदैन । स्वर्गीय साईला दाइ र रिमाल बाजेका छोरा ध्रुब काकाले घोडाहरुलाई बुडिकुलाको फाँटमा चराउन ल्याउनु हुन्थ्यो । म पनि साइला दाईको पछिपछि लागेर आउने गर्थे बुढीकुला । हाम्रो घर देखि करिब पाँच सय मिटर तल बडघर थियो । बडघर छोडेर हाम्रो घरमा कमैया बस्न आएका थिए किसन र लौटन थारु । किसन अलि बुढा थिए लौटन अली अधबैँशे । बुह्रान अध्ययन गर्दै गर्दा माइला थारुको रुपमा किसन थारु, सोमलालको रुपमा लौटन थारु, तिलकरामको रुपमा रिमाल बाजे, मदनको रुपमा साईला दाई,पार्वतीको रुपमा आफ्नै ठुली आमा र रमिताको रुपमा माया नेपालीलाई सम्झन पुगे । माया दलित थरकी थिइन तर उनको लभ क्षेत्री थरका दानबहादुर संग भएको हल्ला त्यति खेर गाउँ भरी फैलिएको थियो। मायाको सुन्दरता कुनै अप्सरा भन्दा कम थिएन। मायालाई दमाईकी छोरी हो भन्ने आँट कसैलाई हुदैन थियोे । उनलाई देखेपछी नलठ्ठीने कोही हुदैन थिए ।
मेरो बानी अलि खराब छ । पुस्तक अध्ययन गर्दा सो पुस्तकले मन मस्तिष्क तानेन भने म उक्त पुस्तकलाई दोस्रो पटक पल्टाएर हेर्ने आदत छैन । पुस्तक अध्ययन गर्दा दिमागमा करेन्ट प्रवाह गर्नुपर्छ भन्ने मेरो बुझाई छ । बुह्रानले करेन्ट मात्रै दिएन त्यतिखेर मलवारमा बस्दा किसन, लौटन, माया, र स्वर्गीय हुनुभएका ठुली आमा, साईला दाइ र रिमाल बाजे सबैलाई सम्झिए । किसन र लौटन थारु मरिसकेकी जिउदै होलान ? भन्ने सम्झना गरायो । बेसाराम, आँख र गाँजाका बोटबिरुवाले ढाकिएका तराईका फाँटहरुको अहिलेको स्वरुप कस्तो होला ?
लडिया र साइकिल हिड्ने धुलाम्य बाटोका हुलिया अहिले कस्ता होलान ? हुलिया फेरिएर चिल्ला र फराकिला बाटा भए या त्यस्तै धुलाम्य होलान भन्ने मनमा कौतुहलता जगायो । राजिपुर, गिदरपुर÷ गोला, टपरा पुगौं र ,बुडिकुलोमा झ्वाम्म डुबेर पौडी खेलौं खेलौं भन्ने जस्तो बनायो बुह्रानले । म यादै यादमा खेतहरुका आलीआली हुँदै गहुँ बारी र पहेंलपुर भएका तोरी बारीहरु चहार्न पुगे । हाम्रो घर अघि झुम्मीएको बाँसको रुख थियोे । रात परेपछि डाङ्ग्रेहरु बहुतै कोलाहल मच्चाउथे । त्यही अतितको दृष्य सम्झन पुगे । बुह्रानले बिर्सिसकेको अतितलाई ताजगी गरायो ।
बुह्रान अध्ययन गरी सकिदा पनि सकिएको महसुस भएन । कति छिटो सकियो भन्ने आभाष भयो । अध्ययन गर्दा पट्यारीलो महसुस नगराउनु नै लेखकको खासियत हो । बुह्रान अध्ययन गरेपछि मेरो मनमा जिज्ञासा जाग्नु पनि स्वभाविकै हो । बुह्रानका कथा बस्तु अध्ययन गरेपछि बुह्रान ५/६ बर्ष पहिले आउनु पर्थ्यो या अल्ली दुईचार महिना ढिलो आउनु पर्थ्यो भन्ने लाग्यो । उपन्यासमा बियोगान्त क्षणहरु धेरै छन् । बियोगान्त क्षणहरुले मात्रै उपन्यास र उपन्यासका पात्रहरुको कथा पुर्ण नहुन सक्छ । कतिपय क्षणहरुमा पात्रहरुको भुमिका लम्ब्याउनु पर्ने हुन्छ । बुह्रानमा केही पात्रहरुको अध्ययन गर्दै गर्दा तिलकरामको मृत्यु हतारमा भए जस्तो लाग्यो ।
तिलकरामको भुमिकालाई लेखकले अलि तानतुन गरेको भए उपन्यासको सुन्दरता अझै थपिने थियोे भन्ने लाग्यो । उपन्यासका भागहरुमा केही रुढीवादी परमपराको दागलाई चित्रण गर्न खोजिएको छ । रुढीबादी परम्परा अनुसार प्रयोगमा आउने नामलाई उपन्यासकारले प्रयोग गरेको भए अझै सुनमा सुगन्ध हुने थियो जस्तो लाग्छ ।
जस्तै त्यो जमानामा वालबिवाह गर्नेमा सोभिता जस्ता आधुनिक नाम भएका किशोरीहरु थिएनन् होला जस्तो महसुस पाठकलाई हुनेगर्छ । कतिपय ठाउँमा पात्रको नाम आधुनिक भइदिनाले कथाको बिषयवस्तुले मागेको नाम भन्दा फरक लागेको महसुस हुन्छ । पार्वती आमाको भुमिका निकै अब्बल छ । समाजमा हरेक आमाहरु पार्वती जस्तै हुन जरुरी छ । पार्वती आमा गरिब दिनदुःखी,मर्दा पर्दा कि बिम्ब हुन् ।
माईला थारुहरु जस्ताकी भगवान हुन् । हाम्रो समाजमा अहिले पनि नोकर चाकर दलितलाई दोस्रो दर्जाको मान्छेको रुपले हेर्ने रुढीवादी परम्परामा सुधार खासै भएको देखिदैन । देखावटीको नाममा दलित संग बसेर चियागफ दिएर क्रान्ति देखीयता पनि ब्यवहारमा क्रान्ति नहुने समाज हो हाम्रो । जस्को प्रतिनिधि पात्रको रुपमा उपन्यासमा सर्वजीत र उहाँका केही घरका सदस्याहरुलाई देखाइएको छ ।
सर्वजीत जमिनदार हुनुका साथै राजनीति बाट समाजसेवा गरेको जस्तो देखिन्छ । उहाँका एउटा छोरा डाक्टर र अर्को छोरा ईन्जिनियर छन् । समाजमा ठुला यिनै खान्दानका मान्छे लाई मानिन्छ । परिवर्तन भनेको ठुलाबाटै हुनुपर्छ । घरमा नोकर बसेको सोमलालसंग रमिताले विहे गरेको आरोपमा छोरीसंग सर्वजीतको सम्बन्ध हुदैन । रमिताका दुईदाजु डाक्टर र इन्जिनिएरले पनि सर्वजीतलाई सम्झाई बुझाई गरेर बहिनी ज्वाईलाई घर बोलाउन चासो देखाउदैनन् । समाजका प्रतिष्ठित कहलाउने राजनीतिज्ञ ,डाक्टर, इन्जिनियर ,पाइलट , शिक्षक,पत्रकार, कार्यालयका हाकिमहरु नै हुन। सर्वजीत र उहाँका छोरा द्वयबाट समाजले कुन अपेक्षा गर्ने भन्ने कुरा समाजको वास्तविक घटनाको चित्रण गर्न खोजिएको छ । समाज रुपान्तरणको पहिलो संवाहक राजनीतिज्ञ नै हुन् ।
अब समाजका हरेक नागरिकले सर्वजीत जस्ता ढोगी क्रान्तिकारीलाई किनारा लगाउनु पर्छ भन्ने बिम्ब उपन्यासमा दिए जस्तो लाग्छ । रमिताले अन्तरजातीय विबाह मात्रै गरिनन् आफ्नै घरमा नोकर बसेको सोमलालसंग अन्तरजातीय विबाह गरेर परिवर्तनको विगुल फुक्ने साहसी नारी हुन् भन्ने देखाईन् । सोमलाल जन्मदै कमैया भएर जन्मेका थिएनन् । समयको हम्मरले भाग्यमा हिर्काए पछि केही समयको लागि सोमलाल गरीविको अशक्तताले थलिएका मात्रै थिए । समयको चक्रमा बेरीएर समाज परिवर्तन गर्ने जुनुन उसमा थिएन भन्ने कुराले गम खान्छ । सोमलालले किन सेना पुलिस नरोजेर बिद्रोही सेनाको कमाण्डर बन्यो ? बिचारणीय कुरा यही हो ।
रुढीवादी परम्परालाई भत्काउन रुढीवादी परम्पराको पक्षपोषण गर्ने सेना, पुलिसमा भर्ती भएर परिवर्तनको सम्भव उस्ले देखेन त्यसैले उ बिद्रोही सेनामा भर्ति भयो । उपन्यासकारले बिद्रोही बिद्रोही मात्रै ठाउँ ठाउँमा लेख्नु भएको छ तर जनयुद्ध भनेर लेख्न सक्नु भएन । उहाँका हात किन काँपे म अलि अलमलमा परे दस बर्षे जनयुद्धको बेला परिवर्तनको लागि तराईका जिल्ला मध्य सबैभन्दा धेरै सहिद भएको जिल्ला वर्दिया हो । अहिले पनि टपारदेखी माथी गिदरपुर आउने बाटो तिर पुगियो भने सहिद गेटमा धेरै जनयुद्धकालिन सहिदहरुको नाम लेखिएको देखिन्छ । कमैया मुक्ती र दासस्ताको जंजिरबाट उम्कनलाइ उनिहरुले रगत बगाएका थिए भन्ने कुरा छर्लङ्ग हुन्छ । सोमलाल पनि बिद्रोही हुनु त्यसैको निरन्तरता हो । उपन्यासकारले यस बिषयमा उदार बिचार राख्दै कलमका शब्दद्वारा पोखिनु पर्थ्यो भन्ने लाग्छ । लेखकहरुले साधुरो घेरा नाघ्ने साहस गनै पर्छ ।
शान्ति प्रक्रिया पश्चात जस्का परिवारले ज्यान गुमाए, जो अपांग भए जसका शरीर बाट छर्रा अझै निकाल्न बाँकी छन् । प्रतिनिधि पात्र जस्तै सोमलालहरुले पाए त ? भन्ने कुरा उपन्यासकारले प्रश्न उठाउनु भएको छ । शान्ति प्रक्रियाले सोमलालको जीवनमा परिवर्तन नै गरेन भन्ने कुरामा सत्यता छैन । हुनसक्छ उसको ब्यक्तिगत जिवनमा भौतिक परिवर्तन भएन होला तर निश्चय पनि हिजो सोमलाल कुनै बेला बडघर र सर्वजीतको कमैया थियोे । आज उ कमैया होइन समाजको चेतनशिल युवा हो । समाजसेवी र केही बुझेको युवाको रुपमा स्थापित भएको छ । उ जस्ता हजारौं युवायुवतीको रगत पसिना र बलिदान बाट गणतन्त्र स्वाद सबैले चाखेका छन् । गणतन्त्रले राजा फालेर गरिबका छोराछोरी राष्ट्रपति बन्ने अवस्था र ब्यवस्था आएको छ । यो पनि सोमलाल सरिक भएको आन्दोलनको उपलब्धि नै हो । भौतिक सुखसुविधा प्राप्ति र आफ्नै व्याक्तिगत जीवनमा मात्रै परिवर्तन हुनु मात्रै उपलब्धि होइनन् ।
भौतिक सुखसुविधा र सम्पन्नता त्याग गर्ने साहसिक नारी रमिता र सोमलालको कथा अधुरोमा टुंगिएको महसुस लाग्यो । रमितालाई समाजमा हुने विभेद पुर्ण आन्दोलनको कसिमा जोडेर उनलाई परिवर्तनको मियोको रुपमा उपन्यासकारले उभ्याउन सक्नु पर्थ्यो जस्तो लाग्छ । उनलाई छोटोे भुमिकामा उभ्याउनु हुदैन थियोे जस्तो महसुस मलाई पुस्तक अध्ययन गरिसकेपछि पनि लागि रहयो । अन्तरजातिय विवाह गरे बापत माइती देश र आमा वुबा भन्न नपाएकी मेरो घर देखि माथी हरेक तिहारमा मलाई फुलमाला लगाउन आउने शारदा बैनिलाई रमिताको प्रतिबिम्बमा सम्झे ।
खैर यी मेरा व्यक्तिगत बुझाई हुन जे भए पनि उपन्यासकारले वडो कलात्मक रुपले विषयवस्तुको उठान गर्नु भएको छ । पुस्तक अध्ययन गर्ने जोकोही पाठकलाई उपन्यासका कुनै न कुनै ठाउँ घटनाले अवश्य छुने गर्छ । उपन्यासका हिरो सोमलालको कहानी अपुरो भएर टुङ्गीएको छ । उनको कहानीलाई अपुरोमै टुङ्गायाउनुको अर्थ लेखकले केही सोचेर नै होला । सायद सोमलालको अपुरो कथाले अर्को भागमा पुर्णता पाउने छ । तिन सय चौविस पेज भित्र चौध वटा भाग भएर आकार लिएको बुह्रान अन्तमा लेखकका कुरा सहित तीनसय छब्बिस पेज भएर सकिएको छ । बुह्रानकै दोस्रो भाग भएर अर्को भाग छिटै आओस प्रिय लेखक तथा उन्यासकार महानन्द ढकाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
लेखक अनुपम गजल मञ्च सुर्खेतका अध्यक्ष हुन्।
















































। ५ आश्विन २०७९, बुधबार