
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कडा शब्दले प्रहार गरेका छन्।
काठमाडौं कोटेश्वर नजिकको तीनकुनेमा रहेको अस्तव्यस्त खाली जग्गाको बिषयलाई लिएर मेयर बालेनले कडा अभिव्यक्ति दिएका हुन्। अध्यक्ष नेपाल र राष्ट्रपति भण्डारीकाे चुनावी क्षेत्र पनि परेकाे र यहाँकाे विवादित जग्गाको व्यवस्थापन गर्न नसकेकाे भन्दै व्यंगसहित बालेनले चुनौती दिएका हुन्।
अध्यक्ष नेपालप्रति इङ्गित गर्दै मेयर बालेनले ५० वर्षदेखिको तीनकुनेकाे जग्गा समस्या समाधान गर्न पटकपटक सम्झौता र हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने गरेको आरोप लगाएका हुन्।
उनले सत्ता गठबन्धनकाे घटक नेकपा एसका अध्यक्ष नेपाललाई चुनावमा कुन मुख लिएर भोट माग्न जाने भन्दै चुनाव आउन दुई महिना बाँकी रहेकाले सो समयभित्र अझै काम गरेर देखाउन चुनाैती दिएका हुन्।
फेसबुकमा तीनकुनेको फोटो र स्टाटस लेख्दै बालेनले भनेका छन्, ‘आदरणीय माधव नेपाल ज्यू तथा सम्माननीय राष्ट्रपति ज्यू, प्रधानमन्त्री बन्नुभयो राष्ट्रपति बन्नुभयो। आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन। अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’
















































। १ आश्विन २०७९, शनिबार