जाजरकोट दरबारलाई संग्रहालय बनाईदैं


जाजरकोट । दुई वर्षअघि मुलुकका एक सय पर्यटकीय गन्तव्यमध्ये सूचीकरणमा परेको जाजरकोटको ऐतिहासिक दरबारलाई यहाँका एक युवाले संग्रहालय बनाउन अभियान सुरु गरेका छन् । संघीय सरकार तथा पुरातत्त्व विभागबाट सूचीकृत झन्डै साढे २ सय वर्ष पुरानो पुरातात्त्विक तथा ऐतिहासिक महत्वको जाजरकोट दरबारलाई सबैमाझ चिनाउन युवा सामाजिक अभियन्ता जनक केसीले संस्थागत रूपले संग्रहालय बनाउने अभियान सुरु गरेका हुन् ।

केसीले आफ्नो नेतृत्वमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान नामक संस्था स्थापना गरी अभियान थालेका छन् । जाजरकोटका १६ औं राजा इन्द्रनारायण शाहले निर्माण सुरु गरेर २० औं राजा नरेन्द्रविक्रम शाहका पालामा १८२५ मा भव्य स्वरूप पाएको सेतो दरबार सरकार र सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको भन्दै केसीलगायतका युवाहरूले अभियान सुरु गरेका हुन् ।

जाजरकोटी अन्तिम राजा स्वयंप्रकाशविक्रम शाहका छोरा पाइलट प्रकाशविक्रम शाहले जिल्ला प्रशासन कार्यालयलाई २०४० सालमा ५० हजार रुपैयाँमा बेचेका थिए । अहिले दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा छ । पुरातत्त्व विभागले उक्त दरबार २०५० सालमा पुनर्निर्माण गरेको थियो । कर्णाली प्रदेशमा बाइसे चौबिसे शासनकालको एक मात्रै दरबार बचेको भन्दै केसीले जिल्लाका सबै सरोकारवालाहरूसँगको छलफलपछि विभिन्न चरणमा दरबार संग्रहालय बनाउने कामको सुरुवात गर्न लागिएको बताए ।

कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय सम्पदाका रूपमा रहेको जाजरकोट दरबार क्षेत्रको अस्तित्व जोगाउँदै यसको संरक्षण संवर्द्धनमा सरकार र स्थानीय सरोकारवालाहरूले ध्यान दिनुपर्ने जाजरकोटी इतिहासका खोजकर्ता राजुराजा सिंह बताउँछन् । ‘यस्ता पुरातात्त्विक र ऐतिहासिक महत्त्वका दरबारहरू बचाउन ३ वटै तहका सरकार गम्भीर हुनुपर्छ,’ उनले भने, ‘इतिहास नभए हाम्रो संस्कृति र सभ्यता पनि सकिन्छ ।’

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जिल्ला प्रशासनलाई अन्यत्र स्थानान्तरण गरी संग्रहालय बनाउन सकिने बताए । ‘अहिले जीर्ण भवनमा कार्यालय सञ्चालन गर्दा हामी पनि असुरक्षित तरिकाले काम गर्न बाध्य छौं, भवनका कोठाहरू साँघुरा पनि छन्,’ उनले भने, ‘काम गर्न असहज भएपछि कार्यालय स्थानान्तरण गर्न गृह मन्त्रालयमा आग्रह गरेका छौं, तर अहिलेसम्म कुनै जानकारी आएको छैन ।’
#कान्तिपुर#

तपाईको प्रतिक्रिया