
नेपालको संस्कृति विश्वको संस्कृति भन्दा उत्कृष्ट मानिन्छ । यसको मुख्य विशेषता नै यो वैदिक सनातन धर्ममा आधारित छ । श्रृष्टि सँगसँगै सम्पूर्ण मानव कल्याणका लागि ईश्वरबाटै प्रतिपादित भएकोले धेरै विद्वानहरूले सनातन धर्मलाई मानव धर्मको रूपमा व्याख्या गरेका छन् । संस्कृति धर्म कै उपज हुने भएकाले हाम्रो संस्कृति मानवीय मूल्य र मान्यताले भरिपूर्ण छ । संस्कृतिको रूपमा हामीले मनाउँदै आएका चाडपर्वहरूले हामीलाई यस सम्बन्धमा केही न केही सन्देश दिइरहेका हुन्छन् । यिनले दिएको सन्देश र यी भित्र लुकेका मर्मलाई बुझेर चाडपर्व मनाउने ग¥यौं भने मात्र हाम्रो संस्कृतिको संरक्षण हुन्छ होइन भने यसले विकृति मात्र निम्त्याउँछ ।
नेपाली महिलाहरूको महत्वपुर्ण पर्व हरितालिका तीज लागिरहेको छ । हरितालिका तीज प्रेम र समर्पणको पर्व हो । यसले निस्स्वार्थ र त्यागमय प्रेमको सन्देश बोकेको छ । सुखी दाम्पत्य जीवन र आफ्ना सन्तानको सुखका लागि पानी पनि नखाइ लिइने यो व्रत प्रति महिलाहरूको बढ्दो आकर्षणले उनीहरू प्रेम र ममताका लागि कति संवेदनशील र त्यागमयी हुन्छन् भन्ने कुरा स्पष्ट पारेको छ ।
वास्तवमा हामी जतिसुकै आधुनिक बनौं, जतिसुकै अधिकार सम्पन्न बनौं, चाहे अमेरिकाका बासिन्दा होऔं, चाहे सोमालिया, युगान्डा वा नेपालका बासिन्दा होऔं संसारभरिका महिलाहरू भेषभूषा, खानपान, भाषा र रहनसहनले बाहिरी आवरणमा मात्र फरक छौं । भित्र हामी सबै उस्तै छौं । हामी भित्रको संवेदना उस्तै छ । मूलतः हामी प्रेम र ममताद्वारा नै सञ्चालित हुन्छौं र यसका लागि जस्तो त्याग गर्न पनि तत्पर हुन्छौं, जस्तो परिस्थितिको पनि दृढताका साथ सामना गर्न तयार हुन्छौं ।
हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । पार्वतीको विवाह उनका पिता हिमालयले वैकुण्ठाधिपति भगवान् विष्णुसँग गरिदिन लागेका थिए तर पार्वती भने घर न थर भएका, विष भाङ, धतूरो खाने दिगम्वर भोलेनाथसँग प्रेम गर्थिन् र उनैसँग विवाह गर्न चाहन्थिन् । पार्वतीले चुपचाप आँशु बगाएर बाबुको इच्छामा आफ्नो प्रेमलाई तिलाञ्जली दिइनन् उनले विद्रोह गरिन् । आफ्ना साथीहरूको सहयोगमा घरबाट भागेर निर्जन ठाउँमा गई पानी पनि नखाइ व्रत बसिन्, अनशन वसिन ।(’हरिता भनेको हरण गरिएकी र ’ अलिका“ भनेको साथीहरूबाट ।
हरितालिका भनेको साथीहरूबाट हरण गरिएकी भन्ने हुन्छ त्यसैले आज पनि यो पर्व साथीहरूसँग मिलेर मनाइन्छ।) आफ्नो अडानमा दृढ भएकै कारणबाट पार्वतीको जित भयो र भोलेनाथसँग विधिपूर्वक विवाह भयो। पार्वतीले सुखी दाम्पत्यजीवन भौतिक सुख सुविधा र ऐश आराममा हैन पति पत्नी बीचको सुमधुर प्रेम र समर्पणमा हुन्छ भन्ने कुरा प्रमाणित गरिदिइन् । खुला आकाश, हिउँको चिसो मझेरीमा नै उनले स्वर्गको भन्दा, वैकुण्ठको भन्दा बढी सुख अनुभव गरिन् ।
उनले प्रेमको डोरीले सिंह र साँढेलाई एउटै खावोमा बाँधिन् । एक अर्काका ’जानी दुस्मन’ सर्प, मुसा र मयूरलाई एउटै आँगनमा खेल्न सिकाइन्। महादेवका गण भूत, प्रेत, पिशाचलाई प्रेमले नै वशमा गरेर परिचर (सहयोगी) बनाइन् र त्यो हिउँ नै हिउँले ढाकिएको निर्जन कैलाश पर्वतलाई यति प्रेममय, आनन्दमय ‘कैलाश दरबार’ बनाइन्, देवताहरू समेत एकक्षणको कैलाश बासका लागि लालायित हुन थाले । पार्वतीको दया, प्रेम, करुणावर्षाले शिव परिवार आदर्श परिवार बन्यो जसलाई विद्वानहरूले शिव संस्कृतिको रूपमा परिभाषित गरेका छन्।सबै देवीदेवतामध्ये शिव पार्वती नै यस्ता दम्पति हुन जसले सफल र सुखी दाम्पत्य जीवन पूर्णरूपले भोग गरेको पाइन्छ । त्यसैले आज पनि हामी सुखी दाम्पत्य जीवन र पारिवारिक सुखका लागि शिव पार्वतीको पूजा अर्चना गर्छौं ।
यो त भयो पार्वतीले दिएको प्रेमको शक्तिको सन्देश, उनले हामीलाई क्रोधको शक्तिको पनि सन्देश दिएकी छन्। हामी यति शान्त र प्रेममयी हुन्छौं, हामीभित्र क्रोध दबिएर शक्तिको रूपमा सञ्चित भएर बसेको हुन्छ । एक पटक जब दानवहरूको आक्रमणबाट देवत्व खतरामा प¥यो, सम्पूर्ण देवताहरू पार्वतीको शरणमा आए र आफू भित्रको शक्तिद्वारा देवत्वको रक्षा गरिदिनको लागि प्रार्थना गरे । पार्वतीले पनि आफूभित्र सञ्चित रहेको शक्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि हैन परोपकार एवम् लोककल्याणका लागि प्रयोग गरिन् र अशुरी शक्तिको विनाश गरी देवत्वको रक्षा गरिन्।
यसरी देवी पार्वती प्रेम र क्रोधको सही उपयोगका कारण पूज्य र स्तुत्य बनिन्। हरितालिका तीज नेपाल आमाकी पुत्री हाम्री दिदी भगवती पार्वतीसँग जोडिएकोले यो हाम्रो मौलिक पर्व हो । दिदीले तीज मार्फत् दिएको यो प्रेम र सद्भावको सन्देशलाई हामीले जीवन्त राख्नुपर्छ । तीजले श्रीमान् श्रीमती बीचको सम्बन्धलाई सुमधुर बनाउँछ । साथी संगी, छिमेकीसँगको प्रेमलाई गाढा बनाउँछ ।
माइती र चेलीबीचको मनोमालिन्य हटाइदिन्छ । यिनै सब कारणले गर्दा पनि तीज हिजोभन्दा आज अझ बढी लोकप्रिय हुँदै गइरहेको छ । यो पर्व पतिपत्नी बीचको प्रेमको प्रतीक भएकोले यसमा माहिलाले सोह्र श्रृंगार गरेर आफूलाई सजाउनुलाई अचम्मले हेरिनु हुँदैन । तर, श्रृंगारको नाममा अनावश्यक गहना प्रदर्शन र प्रतिस्पर्धालाई भने बढवा दिनु हुँदैन । तीजको मूल मर्मलाई बुझेर यसलाई सभ्य र शालिनता पूर्वक श्रद्धा भक्तिका साथ मनाउने हो भने यसले अवश्य पनि समाजलाई सही बाटोमा डो¥याउने छ । हरितालिका तीजको सबैमा शुभकामना ।
















































। १४ भाद्र २०७९, मंगलवार