जाजरकोट पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

No description available.
जाजरकोट । जाजरकोटलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले सदरमुकाम खलंगास्थित समन्वय समितिको हलमा कार्यक्रम गरी जाजरकोटलाई देशकै ६९ औं जिल्लाको रुपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।

खोप लाउनुपर्ने जिल्लाका सम्पूर्ण बालबालिकाले सबै मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको खोप समन्वय समितिले जनाएको छ ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख नवराज कडेलले जिल्ला खोप समन्वय समितिको निर्णय, प्रदेश खोप समन्वय समितिको अनुमतिपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणापछि मात्रै जिल्ला घोषणाको प्रक्रिया थालिएको कडेलले बताए । उनका अनुसार विभिन्न माध्यमबाट अनुगमन र निरीक्षण गरी खोप लाएको सुनिश्चित गरेपछि मात्रै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

यस अवधिमा बालबालिकाले विभिन्न १३ वटा सरुवा रोग विरुद्धका खोप लगाउनुपर्छ । पूर्ण खोप सुनिश्चितका लागि १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकाको खोपको अवस्था पहिचान र विश्लेषण गरिन्छ ।

No description available.

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणापछि यसको दिगोपनाका लागि विभिन्न रणनीति तय गरिएको छ । प्रभावकारी एवं गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, हरेक वर्षको चैत महिनाभित्रै स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण गर्ने नीति तय भएको छ । सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख, तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणका लागि सुक्ष्म योजना, योजना अध्यावधिक र छुट बालबालिकालाई खोप लगाइने छ ।

स्थानीय तहको वार्षिक कार्यक्रममा पूर्ण खोप घोषणा र दिगोपना कार्यक्रम समावेश गरी स्वीकृति दिइनेछ । हरेक वर्ष, वडा, स्थानीय तह, जिल्लासभाबाट पूर्ण खोप सुनिश्चितता भएको प्रमाणीकरण, सार्वजनिक र प्रतिवेदन पेस गर्ने गरी रणनीति तय भएको छ ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति उपप्रमुख दलबहादुर सिंहले खोप लाउनुपर्ने सबै बालबालिकालाई खोप दिइएको सुनिश्चिततापछि जिल्लालाई पूर्ण खोप सुनिश्चित गरिएको बताए । स्वास्थ्य सुधारका लागि खोप महत्वपूर्ण भएको भन्दै सिंहले यो अभियानलाई निरन्तरता दिन सबै निकायको भूमिका उत्तिकै महत्वपूर्ण रहने बताए । यसका लागि सबैले हातेमालो गरिरहन पनि उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया