पालमुनी पढ्दै छेडागाडका विद्यार्थी


जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा रहेको हिमालय आधारभूत विद्यालयको भवन पहिरोका कारण चर्किएपछि बालबालिका प्लाष्टिकको पालमा पढ्न बाध्य छन् ।

गत साउन १० परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रधानाध्यापक तिलक अधिकारीले जानकारी दिए । उनले भने, ‘अस्ती १० गते ठूलो झरी परेपछि विद्यालय नजिकै पहिरो गएर भवन चर्किएको छ । कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने भएको छ ।’

कक्षा पाँचसम्म रहेको उक्त विद्यालयको दुईवटा भवनको चार वटा कक्षाकोठामा क्षति पुगेको छ । जसमा कक्षा तीनदेखि पाँचसम्मका बालबालिका पढ्ने तीन वटा कक्षा कोठा र स्टोर रुम क्षतिग्रस्त बनेको प्रधानाध्यापक अधिकारीले बताए ।

प्रधानाध्यापक अधिकारीका अनुसार शीतल हुँदा पढाउन सजिलो भए पनि ठूलो झरी अथवा चर्को घाम लाग्दा पनि प्लाष्टिकमा बाफिएर पढ्न नसक्ने अवस्था छ ।

उनले भने,‘ निक्कै दुःखले पढाइरहेका छौं। बढी घाम लाग्यो अथवा ठूलो पानी पर्दा बालकक्षा, एक, दुई कक्षाका बालबालिका भएकैमा मिलाएर पढाउने गरेका छौं ।’

No description available.

भवन चर्किएपछि वडा कार्यलय, प्रहरी चौकी र नगरपालिकामा जानकारी गराए पनि तत्काल केही सहयोग गर्न नसक्ने जवाफ दिएको प्रधानाध्यापक अधिकारीले बताए ।

‘प्रहरी नै बोलाएर मुचुल्का उठाएका छौं । वडा कार्यलयमा समेत तस्वीरसहित निवेदन दिएका छौं,’ उनले भने, ‘ तर, जानकारी गराउँदा नगरपालिकाको शिक्षा कार्यलयले सहयोग गर्न नसक्ने जवाफ दियो।’

यता, नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपक शाहीले भने भवन चर्किएको जानकारी पाएको तर पुग्न नसकेको बताए । उनले भने, ‘भवन चर्किएको छ भन्ने सुन्नमा आएको छ । तर म पुग्न भने सकेको छैन ।’

विद्यालयमा अहिले बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी शिक्षक, एक जना राहत शिक्षक, एक जना बालविकास शिक्षक गरी चार जना शिक्षक र एक जना विद्यालय कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया