कुकुरले टोकेर श्रीमानको ज्यान गयो: ‘हामीले न्याय पाउँदैनौ सरकार ?’

श्रीमानको मृत्यु, श्रीमतीलाई खानाको जोहो गर्न मुस्किल

जाजरकोट । भेरी नगरपालिका ४ रानागाउँकी पदमकला कामीको दैनिकी श्रीमानको यादमा रोएरै वित्छ । सदरमुकाम खलंगा बसेको पदमकलाको परिवारमा अहिले ठूलो बज्रपात परेको छ । पदमकलाले श्रीमान मात्र गुमाईनन् दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने अभिभावक समेत गुमाईन् ।

रोजगारीको कुनै अवसर नभएका पदमकलाको परिवारमा श्रीमानले छोडेको एक महिनामै दैनिक गुजरा कसरी चलाउने भन्ने समस्याले पिरोलिरहेको छ । गत असार २९ गते पदमकलाका श्रीमान लक्षे कामी सधैं झैं दैनिक ज्याला मजदुरीका लागि कामको खोजीमा बजार लागे । आफ्नो घर बाट झन्डै १० मिनेट समय लाग्ने ठाउँमा काम पाए । दिनमा काम गरेर परिवार पाल्ने सपना बोकेका लक्षेको त्यो दिन उस्तै रहेन् । काममा लागेको धेरै समय भएको थिएन् ।

त्यही वेला एउटा कुकुर आएर लक्षेको शरीर भरी टोक्यो । कुकुरले टोकिरहेको स्थानीयले देखे । कुकुरले टोकिरहेको देखेपनि कुकुर उनीहरुलाई पनि झम्टिन जाने र टोक्न थालेपछि कुकुर धपाउन अरु स्थानीयले आँट गरेनन् । स्थानीले ताकेता नगर्दा कुकुरले लक्षेको हात, खुट्टा, घाँटीमा समेत टोक्यो । उनी एकाएक वेहोस समेत भए ।

धेरै टोक्न थालेपछि स्थानीयको ठूलो समुहले कुकुर बौलाएको संकेत दिदैं कुकुरलाई मारिदिए । कुकुर त म¥यो तर लक्षेको शरीरमा भएको घाउ मरेन् । कुकुरले श्रीमानलाई टोकेको खबर पदमकलाले पाईन् । त्यसपछि हतारमा पदमकला श्रीमानलाई भेट्न गईन् । कुकुरले टोकेको घाउ धेरै भएकोले तत्काल अस्पताल लिन स्थानीयले सल्लाह दिए । सल्लाह बमोजिम जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा श्रीमानलाई लिईन् ।

त्यहाँ समान्य औषधी दिए । जिल्ला अस्पतालमा समेत रेविज विरुद्धको खोप थिएन् । डाक्टरहरुले पदमकलालाई सुर्खेतको मेहलकुना अस्पताल लिन आग्रह गरे. । सोही सल्लाह बमोजिम ऋण काढेर पदमकलाले श्रीमानको उपचारका लागि सुर्खेतको मेहलकुना अस्पतालमा लगिन् । त्यहाँ डाक्टरले रेविज विरुद्धको खोप दिए । साउन ४ गते सम्म पदमकलाले श्रीमान्को त्यही अस्पतालमा उपचार गराईन् । उनले भनिन्, ‘मैले साउन चार गते सम्म मेहलकुना अस्पतालमा उपचार गराए, त्यहाँ बाट अलि विशेक भएपछि हामी जाजरकोट आयौं ।’

जाजरकोट आएपछि वेलावेला श्रीमानको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गर्दै अस्पातल पुग्ने गर्थिन् । जाजरकोट आएको केही दिनपछि श्रीमानलाई एकाएक अप्ठ्यारो हुन थालेपछि स्वास्थ्य चेकचाँज गर्ने, भिडियो एक्सरे गरेको पदमकलाले बताईन् । ‘भिडियो एक्सरे पर्दा उहाँको पेटमा कालाकाला दाना देखिएका थिए, त्यसको विषयमा डाक्टर सावहरुले केही भन्नु भएको थिएन्‘ उनले थपिन् । उपचार गर्दागर्दै कुकुरले टोकेकै निउमा गत साउन १३ गते लक्षे कामीले संसार छोडे । त्यसपछि पदमकलाको केही लागेन् ।

आजभन्दा १८ बर्ष अघि पदमकलाको परिवार भेरी नगरपालिका छ बाट खलंगाको रानागाउँमा आएको थियो । अहिले पनि अ‍ैलानी जमिनमा पदमकलाको परिवार बसिरहेको छ । भेरी नगरपालिका ६ का हिरा शाहीको कुकुरले टोकेर श्रीमानको मृत्यु भएको पदमकला बताउँछिन् । कुकुरले टोकेर श्रीमानको मृत्यु भएपछि धेरै पटक प्रहरी कार्यालय सम्म धाईन् । तर कानुनमा प्रस्ट व्यवस्था छैन् भन्दै प्रहरीले पदमकलालाई फर्काईदियो । पदमकला आफुले न्याय पाउनुपर्ने माग गर्दै आएकी छन् ।

कानुनमा छुट्टै व्यवस्था नहुँदा समस्या भयो
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले कानुनमा छुट्टै व्यवस्था नभएकोले समस्या भएको बताए । ‘कानुनमा कुकुरले टोकेको भनेर छुट्टै व्यवस्था छैन्, भिसेरा परिक्षणका लागि नेपालगञ्ज पठाएका छौं, आएपछि कुकुरले टोकेरै मृत्युभएको पुष्टी भएपछि प्रक्रिया अघि बढ्छ, अस्पतालको रिपोर्टमा समेत मृत्युको कारण खुलाईएको छैन् । त्यसका लागि माथि बाट रिर्पोट नआउन्जेल हामीले केही गर्ने ठाउँ छैन्’ उनले भने । यस्ता मुद्धाहरुमा २० बर्ष सम्म हदम्याद हुने भएकोले कुकुरले टोकेको र रेविज लागेको पुष्टी भए कुकुर मालिकलाई कारवाही गर्ने समेत बताए ।

यस्तो छ कानुनमा
मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११६ मा पशुपंक्षी राख्दा लाप्रवाही गर्न नहुने भनी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा एकमा भनिएको छ, ‘कसैले आफ्नो आफ्नो नियन्त्रण वा जिम्मामा रहेको हिंस्रक वा अन्य कुनै पशुपंक्षी राख्दा वा पाल्दा त्यस्तो कार्य बाट वा त्यस्तो पशुपंक्षीबाट कसैको ज्यान जान सक्ने वा कसैलाई चोट पुग्न सक्ने खतरालाई रोक्न आवश्यक पूर्वसावधानीको बन्दोवस्त नगरी वा लापरवाही गरी त्यस्तो पशुपंक्षी राख्न पाल्न हुदैन् ।

यस्तो बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दश बर्ष सम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनी उपदफा २ मा व्यवस्था गरिएको छ । यस्तै, दफा ११७ मा पशुपंक्षी छाडा छाड्न नहुने भनी व्यस्था गरिएको छ । सोही दफाको उपदफा १ मा कसैले आफ्नो वा आफ्नो नियन्त्रण वा जिम्मा रहेको कुनै पशुपंक्षी अर्काको घर, जग्गामा वा सार्वजनिक बाटो घाटो वा सार्वजनिक स्थलमा छाडा छोड्न हुदैन् । (२) उपदफा (१) बमोजिम कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिना सम्म कैद वा पाँच हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था हुनेछ भनिएको छ ।

तपाईको प्रतिक्रिया