माओवादी उपमहासचिवमा वर्षमान, जनार्दन र गरिराजमणि, महासचिवमा को ?


काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाएको छ। लामो रस्साकस्सीका बीच पदाधिकारी टुंगो लागेको माओवादीका एक स्थायी कमिटी सदस्यले बताए। ती नेताका अनुसार पार्टीको महासचिवमा देव गुरुङको नाममा लगभग सहमति जुटेको छ।

गुरुङ पार्टी विघटन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादीमा थिए। उनी रामबहादुर थापा ‘बादल’सँगै माओवादी केन्द्रमा फर्किएका थिए। अहिले बादल भने एमालेमै छन्।

त्यस्तै उपाध्यक्षमा स्थायी कमीटि सदस्यहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको नाम अनुमोदन भएको छ। उपमहासचिवमा भने वर्षमान पुन, जनार्दन शर्मासँगै गिरिराजमणि पोखरेलको नाम अनुमोदन भएको ती नेताले बताए।

वर्षमान पुन र जनार्दन शर्मा महासचिवका दावेदार भए पनि दुवैबीच सहमति नभएपछि प्रचण्डले उपमहासचिव बनाएको ती नेताको दाबी छ। पदाधिकारीको नाम आज साँझ बस्ने बैठकले अन्तिम रुप दिने बताइएको छ। ‘पदाधिकारीको लगभग टुंगो लागेको छ। सँझ ६ बजे बस्ने बैठकले पदाधिकारीको सूची औपचारिकरुपमा घोषणा गर्नेछ,’ माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

गत पुस १८ मा सम्पन्न भएको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्यको नाम अनुमोदन गरेको थियो। केन्द्रीय कमिटी २९९ सदस्यीय हुने भनिए पनि बाँकी सदस्यहरु मनोनयन हुन बाँकी रहेको थियो।

त्यस्तै पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीसमेत मनोनयन हुन सकेको थिएन। महाधिवेशनपछि माओवादी अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन भएका थिए।

तपाईको प्रतिक्रिया