नेकपा नेता केसीको हत्या आरोपमा एक जना पक्राउ


सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लोकमानका छोरा लोकेशकुमार खत्रीको जाहेरीका आधारमा प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो । बिहीबार बिहान बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै लोकमान झोला भिरेकै अवस्थामा मृत भेटिएका थिए ।

टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी सुमित खडकाले बताए । उनका अनुसार टोपबहादुर थारमारे बजारमा लोकमानसँगै बसी मदिरा सेवन गरी मोख्लाबजार जाने भनी उनीसँगै हिँडेका थिए ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोपबहादुरविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए । पोस्टमार्टमपश्चात नेता केसीको शुक्रबार बिहान दाहसंस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया