मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण


सुर्खेत । डिपोमा आवश्यक चामल नभएपछि मुगुमा हप्तामा एक दिन मात्र चामल वितरण गरिन थालेको छ।

हप्तामा एक दिन मात्र खाद्यान्न वितरण गर्ने नीति अनुसार आइतबार १२० क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुले जानकारी दिएको छ। विपद्, आगलागी जस्ता घटना भएमा आपत्‌कालीन र तत्काल राहत उपलब्ध गराउनुपर्ने नीति अनुसार राखिएको ८५० क्विन्टल चामल अहिले वितरण गर्न लागिएको हो। गरिब र विपन्नको समस्यालाई मद्देनजर गर्दे खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उक्त चामल वितरणको व्यवस्था मिलाएको हो।

३० केजी चामल बजारमा खरिद गर्दा १ हजार ५०० देखि २ हजारसम्म पर्छ। कम्पनीको चामलभन्दा बजारको चामलको मूल्य २५० देखि ३०० सयसम्म मात्र फरक रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका प्रमुख पुस्कर भामले जानकारी दिए। उनका अनुसार तोकिएको कोटा अनुसारको खाद्यान्न ढुवानी नहुँदा चामल अभाव भएको हो।

११ हजार क्विन्टल चामलमध्ये ८ हजार १ सय क्विन्टल चामल मात्र जिल्लामा ढुवानी भएको उनको भनाइ छ। सोरु डिपोमा २ हजार ५ सय कोटामा १ हजार ९ सय क्विन्टल मात्र, श्रीकोट डिपोमा १ हजार कोटामा ९ सय क्विन्टल मात्र ढुवानी भएको थियो।

त्यस्तै पुलु डिपोमा १ हजार ७ सय क्विन्टलमा १ हजार १ सय क्विन्टल मात्र, सातापानीमा ८ सय क्विन्टल कोटामा १७० क्विन्टल मात्र ढुवानी भएको थियो। त्यसैगरी कालैया डिपोमा ३ हजार कोटामा एक गेडा चामल पनि नआएको प्रमुख भामले बताए। बिक्री केन्द्रमा कर्मचारी समेत नहुँदा वितरणमा समेत समस्य देखिएको उनको भनाइ छ।

मुगुमा पाँचवटा खाद्य डिपो छन्। चामल वितरणका लागि मुगुमा पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र रहेका छन्। गाउँदेखि सदरमुकामसम्मका खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपो रित्तै छन्।

नयाँ ठेक्का नहुनु र पुरानो चामल सकिएकाले खाद्यान्न अभाव भएको हो। अब नयाँ ठेक्का सदर भए मात्र मुगुमा चामल ढुवानी शुरु हुनेछ। ठाउँठाउँमा सडक अवरुद्ध भएपछि तत्काल खाद्यान्न ढुवानी हुन नसक्ने अवस्था छ।

तपाईको प्रतिक्रिया