राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बजेट बढाइयो

काठमाण्डौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यस वर्ष विद्यालयमा जाने रकम बढाउने निर्णय गरेको छ । अघिल्ला वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे भवन बनाउन ३६ र २ कोठे भवनका लागि १८ लाख दिने गरिएकोमा यसवर्ष विद्यालयको चारकोठे भवनका लागि हिमाली जिल्लामा ६० लाख, पहाडी जिल्लामा ५५ र तराई तथा उपत्यकामा ५० लाख रुपैयाँ दिने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

२ कोठे भनवनका लागि भने हिमाली, पहाडी, तराई र उपत्यकामा चारकोठेका लागि दिइने रकमको आधा दिने निर्णय गरिएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । गत वर्ष सिफारिसमा परेका मध्ये १३ हजार विद्यालयलाई रकम दिइएकोमा यसपाली भने १२ सय ७६ विद्यालयले बजेट पाउने छन् । यसका लागि अर्थमन्त्रालयले ८ अर्ब ८८ करोड ३२ लाख रुपैयाँ छुट्टाएको छ ।

यो रकमबाट आइसीटी ल्याब, भवन निर्माणका साथै विभिन्न प्राकृतिक प्रकोपबाट क्षति पुगेका विद्यालयले पनि सहयोग पाउने मन्त्री पौडेलले जानकारी दिनुभयो । अघिल्ला वर्षमा चैतवैशाख वा त्यसभन्दापछि स्थानीय तहबाट सिफारिस माग्दा छुट्टाइएको रकम फ्रिज हुने गरेकोमा यो वर्षदेखि पहिलो चौमासिकमै वितरण गर्ने लक्ष्यका साथ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ । इच्छुक विद्यालयहरूले यही साउन २९ गतेभित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया