राजनीति पदको लागि या परिवर्तनको लागि ?

रमेश घर्ती ’आलोक’


राजनीतिक दलको जरा गाडिन्छ परिवर्तनको निवमा । अनि राजनीतिज्ञ पनि उदित हुन्छन् परिवर्तनकै सिद्धान्तको धरातलबाट । तर आजको अवस्था हेर्दा लाग्छ, यहाँ राजनीतिज्ञ परिवर्तनको लागि होइन् फगत पदको निम्ती दलिय मर्यादाको खोल भित्र आफूलाई राखेर पदको सृजना गर्छन र त्यही पदको उपयोग गर्छन आफ्नो अनुकुल ।

राजनीतिक दलबाट शक्ति र पद हासिल गरे पश्चात् उनीहरू भुल्दछन् कि उनको पदको मर्यादा के हो ? उनको दलको सिद्धान्त के हो ? अनि राजनीतिक दलको अन्तिम गन्तव्य के हो ? अर्थात उनीहरू भुल्दछन् कि आफ्नो दलको महा एजेन्डा के हो । बस् पदीय खोल ओढ्यो अनि नक्कली सैद्धान्तिक राजनीतिज्ञको माला जप्यो । हुन त राजनीतिक दलले आफ्नै ढंग र दृष्टिकोणका सिद्धान्तलाई पछ्याउँदै नवीन परिवर्तनको लागि क्रान्ति गरिरहेका हुन्छन् ।

त्यसैले भन्न सकिन्छ कि चाहे दल जुन नाम र सिद्धान्तको आडमा खोलिएको होस् तर तिनको एउटै उदेश्य भन्नू परिवर्तन र क्रान्ति हो । अतः भन्न सकिन्छ कि राजनीतिक दल भनेकै आफैमा क्रान्ति हुन् । तर के दलका अनुयायी सबै साच्चिकै क्रान्तिकारी हुन्छन त ? अवश्य हुँदैनन् । प्रत्येक राजनीतिक दलका सहत्तर प्रतिशत नेता कार्यकर्ता केवल पद र प्रतिष्ठाका पारखी हुन्छन्, शक्ति र शासनका पुजारी हुन्छन् तर क्रान्तिकारी हुँदैनन् । त्यस्तै एक प्रसंग यहाँ उद्धृत गरेको छु जसले बताउँछ कि राजनीतिक दलका नेता भनिनेहरु सिद्धान्तमा होइन केवल पदीय अहमता र शक्तिको पिपासु बनेर राजनीति गरिरहेका हुन्छन् ।

हामी जान्दछौँ कि राजनीति केवल परिवर्तनको लागि हो । यो कुराको बोध हामीलाई मात्रै पनि होइन सम्पुर्ण जनमानसमा हुन्छ कि राजनीतिक दल भनेको एक नवीन सुरुवातको लागि नवीन सिद्धान्त ल्याएर खडा हुने दस्ता हो । यहि सत्य पनि हो । कुनैपनि दलले परिवर्तनकै दुरदृष्टि ल्याएर मैदानमा उभिएको हुन्छ । तर कहीकतै दल पनि आफ्नो सिद्धान्तको उज्यालोबाट क्रान्तिको ज्वाला अलप भएको पनि पत्तै पाउँदैनन् । चुनावी जित र उल्लेख्य सीट हाँसिल गर्नको लागि परिवर्तनका सिपाही होइन् बरु त्यस्ता कार्यकर्तालाई जनप्रतिनिधिको रुपमा अघि सार्छन जसले सम्बन्धित इलाकालाई साम, दाम, दण्ड, भेद आदि नीतिको भरमा आफ्नो काबुमा गर्न सक्छ ।

जितको लागि क्रान्तिकारी र परिवर्तनकारी योद्धालाई भन्दा उनलाई अघि सार्छन जसले सत्ता हासिल गर्न सक्छ । जसले पैसाको खोलै बगाउन सक्छ अनि जसले थर्काएर, कुटपिट गरेर, हतियार देखाएर या मतपेटिका जलाएर आदि उधुम गरेर चुनाव जित्न सक्छ । तर प्रश्न यो हो कि के चुनाव जित्नुले मात्रै राजनीतिक दलको महा एजेन्डा पूरा हुन सक्छ त ? के सत्ता हासिल गर्नुले मात्रै परिवर्तनको उदेश्य प्राप्ति हुन्छ त ? प्रश्न गम्भीर छ र सम्भवतः यसको सही र स्पष्ट जवाफ हाम्रा नेता ज्यु हरु सँग पनि नहुन सक्छ । भन्नुहोस् त ? जो आफै परिवर्तन हुन चाहादैन उसले सत्ता पाएपछि तपाईंको एजेन्डा अनुसार परिवर्तनको अभियानको हिस्सा कसरी बन्न सक्छ ? जो आफै परिवर्तन हुन सकेको छैन उसले समाज र व्यवस्था परिवर्तनको महान उदेश्य कसरी सफल पार्न सक्छ ? जवाफ छ तपाईं सँग ?

प्रसंग बारेकोटको हो । बारेकोट भन्ने थाहा नभए, जाजरकोट जिल्लाको उत्तर–पुर्वी भेगमा रहेको एक सुन्दर तर दुर्गम स्थानीय तहको प्रसंग हो । भुगोल र राज्यको दृष्टिबाट कुना परेको स्थानको । अनि प्रसंग हो यहि बारेकोटको एक जनप्रतिनिधिको । अझ प्रसंग हो कम्युनिस्ट पार्टीले जिताएको जनप्रतिनिधिको । जो कम्युनिस्ट पार्टीको सिद्धान्तलाई शिरोपर गरेर जनप्रतिनिधि त बनिन् तर स्वयंमबाट परिवर्तन हुन चाहिनन् । कम्युनिस्ट पार्टीको नेता त बनिन् तर कम्युनिस्ट बनिनन् । जो आफै खिया लागेको चरित्र वहन गरिरहेको छ उसले जनतालाई कहाँ लैजान्छ ? जो आफै परिवर्तन भएन उसले अरुलाई परिवर्तनको सन्देश के दिन सक्छ अनि जो आफै विकसित हुन सकेन उसले सरकारको हिस्सा बनेर बिकासको रफ्तारलाई चलायमान कसरी गराउन सक्छ ? जसले आफ्नो पुरातनवादी कुहिएको चरित्र र स्वभाव बदल्न चाहेन उसलाई कम्युनिस्ट दलले प्रतिनिधि बनाएर जनताको शिरमा किन राखेको हो ? यसको जवाफ उनीहरू स्वयं जानुन ।

मेरो बुवा एक सामान्य मजदुर हुनुहुन्छ, जो काठ, ढुंगा, तथा सिमेन्ट सरियाको काम गर्नुहुन्छ । घर भवन निर्माण र मर्मत गर्नुहुन्छ । यसैको सिलसिलामा केही दिन पहिले उहाँको समूह सहित जानुभयो बारेकोट ५ को एक घरमा । जुन घर एमालेबाट बारेकोट ५ को महिला सदस्य जितेर पाँच बर्ष कार्यकाल समाप्त गरिसकेकी भुतपुर्व जनप्रतिनिधिको थियो । भुपु जनप्रतिनिधिको घरमा सिमेन्ट पलास्टर गर्नुपर्ने भएकोले मेरो बुवा त्यहाँ जानुभएछ र केही दिनको बसाई त्यतै गर्नुभयो । एक सामान्य मजदुर, त्यसमाथी पनि उपेक्षित वर्ग समुदायबाट आएको मानिस भएकोले उहाँको सम्मान त्यो सम्भ्रान्त र पुरातनवादी समाजका मानिसले गर्ने कुरा कल्पनानै गर्न सकिदैन्थ्यो तर सो घरको घरमुली अर्थात भुपु जनप्रतिनिधि त त्यो कट्टर पुरातनवादी बिचारबाट परिस्कृत भइसक्नुपर्ने होइन र ?

तर त्यहाँ त्यसो देखिएन । जनप्रतिनिधि ठकुरी समुदायको परिछिन्, अनि दलित जनजातीको समुह घरमा पुगेपछि उनले त्यो परिस्कृत व्यवहार गर्न सकिनन् । जुन व्यवहार र चरित्रको उनी प्रतिनिधित्व गर्थिन । उनले आफुलाई परिवर्तन गरेर व्यवहार गर्न सकिनन् जुन व्यवहार निर्माणको निम्ती उनी कम्युनिस्ट दलको प्रतिनिधि भएकी हुन् । बुवाले सुनाउनुभयो ’त्यो घरमा रहुन्जेल जातियता र छुवाछूतको व्यवहारले आक्रान्त बनायो । घरमुली भुतपुर्व जनप्रतिनिधि हुन एमालेको, अनि एमालेको खुब ठूलो चर्चा गर्छिन र एमालेकै नामको गुणगान गाउँछिन तर उनी वास्तविक एमाले रहिनछ्न ।

उनी मात्रै पद र प्रतिष्ठाको लागि एमालेको सिन्दुर लगाएकी अहंकारी र अशिक्षित महिला थिइन् ।’ अब भन्नुहोस् तपाईंले कम्युनिस्ट नामको दलबाट टिकट दिएर जिताएको जनप्रतिनिधिले गत पाँच बर्षसम्म कस्तो व्यवस्थाको प्रतिनिधित्व गरिन् ? अनि कस्तो व्यवहार चरित्रको साथ जनताको सेवामा खटिइन् ? उनी जनप्रतिनिधि बनिन् या ठकुरी टाकुरे राजाको प्रतिनिधि ? अनि हामी उनलाई कम्युनिस्टको प्रतिनिधि कसरी मानौँ ? जो सामन्ती चरित्रको स्वामी छ ।

प्रश्न यो होइन कि उनी परिवर्तन किन हुन सकिनन् ? एक सर्वसाधारण मानिसमा यो चरीत्र छ भने यसलाई अस्वभाविक मान्न सकिदैन् । किनकी सर्वसाधारण सँधै संस्कारको माला जप्छ र संस्कार द्वारा प्रतिपादित बिचारको आडमा जिउँछ । तर जनप्रतिनिधिको हकमा यो कुरा लागू हुँदैन । पहिलो कुरा त गणतन्त्र मुलुकको जनप्रतिनिधि भनेकै भेदभाव रहित र उद्धार चरित्रको हुनुपर्छ त्यसैमाथी पनि कम्युनिस्ट पार्टीको जनप्रतिनिधि भएपछि साम्यवादी र समाजवादी चरित्रको हुनुपर्ने होइन र ? कम्युनिस्ट आन्दोलनको सार भनेकै जातीय मुक्ति, वर्गीय मुक्ती, लैङ्गकि समानता र समावेशीकरणको मार्ग हुँदै साम्यवाद र समाजवादसम्म पुग्नुपर्ने होइन र ?

तर दलित जनजाति, गरिब मजदुर देख्दा कुसाइत पर्छ भनेझैं व्यहोरा देखाउने व्यक्ति तपाईंको दलको जनप्रतिनिधि कसरी बन्न सक्यो ? यो मेरो प्रश्न हो । जसले दलित जनजातिको स्पर्श भएको पानी पिउँदैन उसलाई तिनै दलित जनजातिको भोटले जित्ने अधिकार कसले दियो ? के जवाफ दिन सक्नुहुन्छ कम्युनिस्ट नामका दलिय प्रतिनिधिहरु ? कि तपाईं पनि उनै ठकुरी टाकुरे राजाको प्रतिनिधि जस्तै हुनुहुन्छ ?

यो केवल एक प्रतिनिधि प्रसंग हो, जसले कम्युनिस्ट चरित्र र कम्युनिस्ट आन्दोलन माथी प्रश्न गर्ने आधार दिएको छ । तर यो मात्रै एउटा प्रसंग भने होइन यस्ता असंख्य प्रतिनिधि छन् हाम्रो देशमा जो नाम मात्रैका कम्युनिस्ट छन् । जो कम्युनिस्टको प्रतिनिधि बनेर सामान्त र पुरातनवादी अधिनायकवादी चरित्रमा जकडिएका छन् । जो हुनत गणतन्त्रका प्रतिनिधि हुन् तर चरित्रबाट वकालत गरिरहेका छन् उही बीभत्स समाज र कुरिती कुसंस्कारले जेलेको सामाजिक व्यवस्थाको । अनि यो प्रसंग केवल एमाले माथिको प्रश्न होइन बरु यो कम्युनिस्टको नाम जोडेका प्रत्येक दलको लागि हो । आफूलाई गणतन्त्रको हिमायती मान्ने नेतागणको चरित्र अनि परिवर्तनको एजेन्डा बोकेका राजनीतिक दल माथिको प्रश्न हो ।

परिवर्तन हुन मान्दैनन् मानिस त्यो कुरा ठुलो होइन बरु मुख्य कुरा त यो होकि जो परिवर्तन हुननै राजी छैन उसलाई परिवर्तनको जिम्मेवारी कसरी दिइन्छ ? जो आफै अन्धकार प्रेमी हो उसले जनसभ्यतालाई उज्यालोमा लिन कहाँ सक्छ र ? जो आफै नेत्रहीन छ उसले कसलाई सुन्दर गन्तब्य सम्म पु¥याउन सक्छ ? केवल जित र सत्ताको लोभमा पार्टीको सिद्धान्तको सिन्दुर लगाउने र साच्चिकै परिवर्तन र रुपान्तरणको निम्ति होमिएका योद्धाहरु बिचको अन्तर पत्ता लगाएर जनताको प्रतिनिधिको रुपमा अघि सार्ने हो कि ? अन्यथा कम्युनिस्ट नामकै नामोनिशान मेटिएर अस्तित्वबिहिन राजनीतिक भुमरीमा फस्न बेर छैन हाम्रा कम्युनिस्ट नामका पार्टी र यसका संचालक महोदयहरु । किनकी परिवर्तन कम्युनिस्टका नामले हुँदैन बरु कम्युनिस्ट कर्म र चरित्रले हुन्छ ।

तपाईको प्रतिक्रिया