भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा तालाबन्दी, विहीबार खाेल्ने सहमति

जाजरकोट । सदरमुकाम स्थित भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विभिन्न माग राखि २४ घण्टे अल्टिमेटम दिएका विद्यार्थीले आफ्ना माग पुरा गर्न तर्फ क्याम्पस प्रशासन सकारात्मक नभएको भन्दै मंगलवार क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका हुन् ।

आफ्ना माग पुरा नभए सम्म तालाबन्दी जारी रहने विद्यार्थी संघर्ष समितिका कालीबहादुर शाहीले बताए । मध्यपश्चिम विश्वविद्यालय, नगरप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई समेत तालाबन्दी बारे ज्ञापन पत्र बुझाएको शाहीले बताए ।

विद्यार्थीहरुले एम एडका विद्यार्थीको शुल्क मध्यपश्चिम विश्वविद्यालयको नियमानुसार लिई पहिलेको शुल्क फिर्ता गर्नुपर्ने, विद्यार्थीको पठनपाठन नियमित रुपमा हुनु पर्ने र शिक्षकको ब्यवस्था गरिनुपर्ने, पुस्तकालयमा पाठय्क्रम अनुसारका पुस्तक हुनु पर्ने, छात्रावास र छात्रवृत्तिको तत्काल ब्यवस्था हुनुपर्ने, भर्नाका नाममा लिएको विलम्ब शुल्क फिर्ता गर्नुपर्ने, अक्षयकोष र मुद्धती खातामा रहेको रकम उपदानका नाममा खर्च गर्न नहुने, विद्यार्थीहरुलाई अनुसन्धानमुलक तालिम तथा विभिन्न कार्यक्रम गरिनुपर्ने र क्याम्पसको भवनमा झयाल ढोकाको ब्यवस्था गरिनु पर्ने माग सहित सोमवार ज्ञापन पत्र बुझाएका थिए । बुधबार दिउँसो क्याम्पस प्रशासन र विद्यार्थी संघर्ष समितिको छलफलपछि विहीबार विहान ८ बजे क्याम्पसको ताला खोल्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया