छेडागाड नगरपालिकाको बजेट ६९ करोड ६८ लाख ८७ हजार ( पूर्णपाठसहित)

No description available.
छेडागाड । जाजरकोटको छेडागाड नगरपालिकाकाले आगामी आर्थिक बर्ष २०७९ ÷८० का लागि ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८ रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगर सभामा उपप्रमुख चन्द्रबहादुर थापाले उक्त वजेट पेश गरेका हुन् ।

पूर्णपाठ

छेडागाड नगरपालिकाको छैठौं बजेट अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवम\ उपप्रमुख श्री चन्द्र बहादुर थापाज्यूद्वारा प्रस्तुत बजेट वक्तव्य

 छैठौं बजेट अधिवेशन तथा बाह्रौं नगर सभाका सभाअध्यक्ष महोदय,

नगरसभाका सदस्यज्यूहरु,

सम्पूर्ण राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,

 सञ्चारकर्मी एवम् पत्रकारज्यूहरु,

नगरपालिका स्थित सुरक्षाकर्मीहरु,

नागरिक समाजका प्रतिनिधि, तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधीज्यूहरु, बिभिन्न क्षेत्रमा कार्यरत समाजसेवी, बुद्धिजीवि, शिक्षक, पत्रकार, उद्योगी, व्यापारी, ज्येष्ठ नागरिक, नागरिक समाज, युवा, बालबालिका, दलित तथा अल्पसंख्यक, एकल महिला, शहीद परिवारका सदस्यहरु, फरक क्षमता भएका व्यक्तित्वहरु, बालबालिका, कर्मचारी, सुरक्षाकर्मी, एवम् यस गरिमामय बजेट अधिवेशनमा उपस्थित सम्पूर्ण आदरणीय छेडागाडबासी आमाबुवा, दाजुभाइ तथा दिदीवहिनीहरु,

  1. यस नगरपालिकाको आ.व. २०७९÷०८० को लागि छैठौं बजेट अधिवेशनको समुदघाट्न समारोहका अध्यक्ष एवं नगरसभाका अध्यक्षज्यू तथा नगरसभाका सदस्यज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा छेडागाड नगरपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु।
  2. स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिहरुको पहिलो कार्यकाल समाप्त भईसकेको छ ।भर्खरै बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको दोश्रो निर्वाचनबाट छेडागाडबासीहरुको अगाध स्नेह र सद्भावका साथ हामीलाई निर्वाचित गरी यो नगरपालिकाको बागडोर सम्हाल्ने सुवर्ण अवसर प्रदान गर्नुभएको छ । यो अवसर प्रदान गर्नुहुने छेडागाडबासी आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आज मिति २०७९।०३।१० गतेका दिन बसिरहेको छेडागाड नगरपालिकाको गरिमामय बाह्रौ नगरसभामा आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्न गइरहेको छु।
  3. संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको यस छेडागाड नगरपालिकाको छैठौं बजेट अधिवेशनको अवसरमा सर्वप्रथम देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात, अज्ञात वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शहीदका परिवारहरुप्रति हार्दिक समवेदना तथा सम्मान प्रकट गर्दछु । साथै सम्पूर्ण घाइते, अपाङ्ग तथा बेपत्ता नागरिकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । समृद्ध छेडागाड सुखी छेडागाडबासी को परिकल्पनालाई साकार पार्न विकास निर्माण र नगरपालिकाको समृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने सबै वर्ग तथा क्षेत्रका महानुभावहरुको योगदानको उच्च कदर गर्न चाहन्छु।
  4. कोभिड१९ महामारीबाट सङ्क्रमित भई नेपाल बाहिर र नेपालमा जीवन गुमाउनु हुने नेपाली तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उपचाररत संक्रमित व्यक्तिहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै अझैपनि यस्तो विकराल अवस्था नआउला भन्न सकिन्न तसर्थ भविष्यमा हुन सक्ने यस्ता खालका महामारीहरुबाट सतर्क तथा सचेत रहनुहुन समेत अनुरोध गर्दछु ।
  5. नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा ३ बमोजिम गठन भई मिति २०७३।११।२७ देखि लागु हुने गरी ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ वटा नगरपालिका र ४६० वटा गाउँपालिका गरी जम्मा ७५३ वटा स्थानीय तहहरु कायम भएका छन् । त्यसैगरी नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७३/११/२२ को निर्णयानुसार जाजरकोट जिल्लाका साविकका कार्कीगाउँ, झाप्रा, साल्मा, दशेरा, सुवानाउली र पजारु (वडा नं. ३ देखि ९ सम्म) गा.वि.स.हरु समाहित भई छेडागाड नगरपालिका गठन भएको हो । पूर्वमा भेरी नगरपालिका, पश्चिममा सुर्खेत र दैलेख जिल्ला, दक्षिणमा सुर्खेत र सल्यान जिल्ला र उत्तरमा जुनिचाँदे गाउँपालिकाको बीचमा अवस्थित यस नगरीको कूल जनसंख्या ३५,२९५ जना रहेको छ । १३ वटा वडामा विभाजित यस नगरपालिकाको कूल क्षेत्रफल २८४.२० वर्ग कि.मि. रहेको छ। यस नगरपालिकाको दशेरामा स्नातक तहसम्मको पठनपाठन हुने एउटा क्याम्पस पनि रहेको छ भने नारायणी मावि कार्कीगाउँमा कृषि तर्फ र बाल मावि झाप्रामा सिभिल तर्फको अध्ययन अध्यापन समेत भइरहेको छ ।छेडागाड, सरुगाड, सुवागाड जस्ता नदीनालाहरु भएको साथै कृषि उद्योग, जलश्रोत र खानी काइनाइट र टुर्मालिन_ को प्रचूर सम्भावना बोकेको नगरपालिका भएको हुनाले पनि हाम्रो नगरपालिका प्राकृतिक सम्पदाको धनी मानिन्छ।

सभाध्यक्ष महोदय,

  1. यस नगरपालिकाको आ.व. ०७९।०८० को योजना छनौट गर्दा स्थानीय तहको निर्वाचनको कारणले सहभागितामूलक योजना तर्जुमा प्रक्रियाका मौजुदा उपायहरु अवलम्बन गर्दै प्रस्तुत बजेट निर्माण गरिएको छ । उपलब्ध श्रोत साधनको कमी र गत आ== देखि क्रमागत रुपमा रही आएका योजनाहरुको भुक्तानीको दायित्व बहन गर्नुपर्ने साथै जनताका मागहरु अत्यधिक हुने भएकोले निश्चित मापदण्डका आधारमा योजनाहरु प्राथमिकीकरण गरी छनौट गर्नुपर्ने चुनौती हाम्रो सामु आएको छ ।

सभाध्यक्ष महोदय,

आगामी आ.व.को योजना तर्जुमा गर्दा तपसिलका प्राथमिकीकरणका आधारहरु तयार गरेको छु । उक्त प्राथमिकीकरणका आधारहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. प्रस्तुत बजेट तथा कार्यक्रम निर्माण गर्दा तथा आयोजना प्राथमिकीकरण गर्दा निम्न आधारहरु लिएको छु।
  • विगत देखि क्रमागत रुपमा संचालन हुँदै आएका आयोजनाहरुलाई निरन्तरता दिने।
  • जनस्वास्थ्य र उपचारात्मक स्वास्थ्यको साथै स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रको सबलीकरण गर्ने।
  • कृषि उत्पादन र उत्पादकत्व बृद्धि गरी धेरै भन्दा धेरै नागरिकका लागि रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने। कृषकलाई प्रविधि प्रविधि मैत्री बनाउने, कृषकलाई परामर्श दिन विज्ञ जनशक्ति व्यवस्थापन गर्ने ।
  • भोलिको समाजलाई दिशा निर्देश गर्ने शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउन विद्यालयको भौतिक अवस्था सुधार गर्ने।
  • निर्माणाधिन वडा कार्यलय भवन नभएका वडाहरुमा अनिवार्य वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने।
  • वडा नं= ७ को टिकाचौर सम्म सडकको पहुँच सुनिश्चित गर्ने।
  • प्रकोष व्यवस्थापन एवम् उद्धार, राहत र पुनर्लाभको लागि आवश्यक बजेट विनियोजन गर्ने।
  • सहकारी क्षेत्र मार्फत् नागरिकलाई रोजगारी सिर्जना गर्ने।
  • गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आयआर्जन बृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने।
  • आन्तरिक राजस्व बृद्धि र परिचालनमा योगदान पुर्याउने, स्थानीय श्रोत, साधन, श्रम र सीप र प्रविधिमा आधारित, लैंगिक मैत्री तथा समावेशिता प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पुर्याउने आयोजना तथा कार्यक्रमहरु सञ्चालन गर्ने।
  • स्थान विशेषको संस्कृती र पहिचान प्रवर्धन गर्ने, दिगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बजारमा पहुँच बृद्धि गर्न सघाउ पुर्याउने आयोजनाहरु सञ्चालन गर्ने,
  • कम लागतमा बढी लाभ लिन सकिने आयोजनाहरु, विपन्न वर्ग र क्षेत्रका बासिन्दाहरुलाई प्रत्यक्ष फाइदा पुग्ने खालका आयोजनाहरु।
  • कृषि उत्पादन र बजारीकरणमा प्रत्यक्ष टेवा पुग्ने खालका आयोजनाहरु
  • वातावरणमैत्री एवं जलवायु परिवर्तन अनुकूलनमैत्री आयोजनाहरु।
  • लागत साझेदारी र जनसहभागिता जुट्ने आयोजनाहरु।
  • भौगोलिक सन्तुलन कायम गर्न सहयोग गर्ने आयोजनाहरु।
  • ब्लक तथा पकेट क्षेत्र विस्तार र विकास हुने आयोजनाहरु ।
  • आवधिक योजनाले परिक्षलित गरेका योजना तथा कार्यक्रमहरु ।

श्रद्धेय सभाध्यक्ष महोदय,

अब म यहाँहरुसमक्ष समृद्ध छेडागाड, हाम्रो भविष्य भन्ने मूल नाराका साथ प्रस्ताव गरिएको  चालु आ.व. ०७८।७९ को हालसम्मको कार्यक्रम कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  1. चालु आ..२०७८/७९ को हालसम्मको यथार्थ आय विवरण यसप्रकार छः
  • संघीय सरकारको वित्तीय समानीकरण अनुदान रु. ११ करोड ८४ लाख प्राप्त भएको छ।
  • संघीय सरकार सशर्त अनुदान रु= ३७ करोड २२ लाख ९९ हजार छ।
  • विषेश अनुदान रु= १५ लाख ८० हजार प्राप्त भएको छ।
  • संघीय सरकार राजश्व बाडँफाड रु. ९ करोड ३४ लाख ९५ हजार ५५६ मात्र प्राप्त भएको छ ।
  • प्रदेश सरकार समानिकरण अनुदान रु= १ करोड २५ लाख प्राप्त भएको छ।
  • सशर्त अनुदान प्रदेश सरकार रु १ करोड ७८ लाख १६ हजार ८ सय ७१ प्राप्त भएको छ।
  • विशेष अनुदान प्रदेश सरकार रु १३ लाख २० हजार प्राप्त भएको छ।
  • आन्तरिक आम्दानी रु. ५५ लाख हजार मात्र संकलन भएको छ।
  • राजश्व बाँडफाँड १० लाख ९८ हजार ६ सय १२ प्राप्त भएको छ ।

जम्मा रु. ६१ करोड ८४ लाख ३० हजार ३९ रुपैया प्राप्त भएको छ।

  • त्यसै गरी,चालु आ.व. २०७८/०७९ मा संघीय सरकार, प्रदेश सरकार र स्थानीय स्रोतबाट प्राप्त समानिकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान विशेष अनुदान गरी चालु र पुँजीगत तर्फ कुल विनियोजन बजेटको ५७=७६ प्रतिशत खर्च भएको छ ।

सभाध्यक्ष महोदय,

अब म चालु आ.. ०७८/०७९ मा क्षेत्रगत बजेटको विनियोजन र खर्चको अवस्थाबारे सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु।

कूल केन्द्रिय सरकारबाट हस्तान्तरित कार्यक्रम

शिर्षक अनुमानित आय हाल सम्म प्राप्त आय बाँकी
संघीय सरकार      
वित्तिय समानीकरण अनुदान ११८४००००० ११८४०००००
संघीय सरकार शसर्त ३९९९१२००० ३७२२१९००० २७६९३०००
विशेष अनुदान २७०००००० १५८०००० २५४२००००
समपुरक ५७००००० ५७०००००
संघिय सरकार राजश्व बाँडफाँड १०७०२२००० ९३४९५५५६ १३५२६४४४
प्रदेश सरकार      
समानीकरण अनुदान १२५००००० १२५०००००
शसर्त अनुदान ३७६००००० १७८१६८७१ १९७८३१२९
विशेष प्रदेश ५५००००० ५५०००००
समपुरक १२०००००० १२००००००
प्रदेश सरकार राजश्व ७७००००० १०९८६१२ ६६०१३८८
जम्मा

७३३३३४००० ६१७११००३९ ११६२२३९६१

 

  • र्वाधार विकास तर्फः रु.१४ करोड ८७ लाख ९९ हजार १ सय ८७ विनियोजन भएकोमा हाल सम्म ४८=९२ प्रतिसत अर्थात रु. ७ करोड २७ लाख ९९ हजार १ सय ८७ खर्च भएको छ।

 

  • सामाजिक विकास तर्फः रु. ४५ करोड ७३ लाख ९२ हजार ७ सय १५ विनियोजन भएकोमा हाल सम्म ५५=३८ प्रतिसत अर्थात रु. २५ करोड ३२ लाख ९२ हजार ७ सय १५ खर्च भएको छ।
  • आर्थिक विकास तर्फरु. ३ करोड ३८ लाख ५ हजार विनियोजन भएकोमा हाल सम्म ६५=५३ प्रतिशत अर्थात रु. २ करोड २१ लाख ५५ हजार ५ सय ७० खर्च भएको छ।
  • वित्तीय व्यवस्था तथा सुशासन तर्फः रु. ५९ लाख ५० हजार विनियोजन गरेकोमा हाल सम्म ६५=९५ प्रतिशत अर्थात रु. ३९ लाख २४ हजार २ सय ३५ खर्च भएको छ।
  • कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फः रु.१४ करोड २५ लाख ९८ हजार ६ सय ७९ विनियोजन भएकोमा हाल सम्म ६७=९१ प्रतिसत अर्थात रु. ९ करोड ६८ लाख ४७ हजार १ सय ९८ मात्र खर्च भएको छ।

आदरणीय सभा अध्यक्षज्यू,

अब म आगामी आ.व. ०७९/८० को बजेटको सोच (Vision), लक्ष्य र उद्देश्य प्रस्तुत गर्दछु।

सोच(Vision):

यस बजेटको सोच “समृद्ध छेडागाड सुखी छेडागाबासी” रहेको छ।

लक्ष्यः

उपलब्ध श्रोतसाधनको समुचित उपयोग, व्यवसायिक उत्पादन र न्यायोचित वितरणमार्फत् आत्मनिर्भर, समृद्ध र समुन्नत छेडागाड नगरपालिका बनाउने यस बजेटको लक्ष्य तय गरेको छु।

उद्देश्यः

  • छेडागाड नगरपालिकामा उपलब्ध भौतिक तथा प्राकृतिक श्रोतसाधन तथा मानवीय संसाधनको उचित उपयोग मार्फत् कृषि तथा पशु, खानी तथा पर्यटन क्षेत्रमा व्यवसायिक उत्पादनमा बृद्धि गरी उपलब्ध अवसरको न्यायोचित वितरण गर्दै नगरबासीहरुको जीवनस्तरमा सुधार गर्ने।
  • शिक्षा क्षेत्रमा लगानी वृद्धि गरी सक्षम र क्षमतावान नागरिक तयार गर्ने।
  • स्वास्थ्य क्षेत्रमा लगानी अभिबृद्धि गरी भरपर्दो र सुरक्षित स्वास्थ्यमा नागरिकको पहुँच अभिबृद्धि गर्ने ।
  • सबै नागरिकलाई सुरक्षित र स्वस्थ रहने वातावरण सिर्जना गर्ने।
  • वडा कार्यालयहरु आफ्नै भवनहरुबाट सेवा संचालन गर्ने व्यवस्था मिलाउने।
  • सूचना प्रविधिको प्रयोग सहित शिक्षा क्षेत्रलाई चलायमान र गतिशील बनाउँदै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने।
  • पुराना र क्रमागत दायित्व भएका आयोजनाहरुलाई निरन्तरता दिई उचित प्रतिफल दिने आयोजना संचालन गर्ने।
  • नगरपालिकाको सेवा प्रवाहमा नागरिकको पहुँच तथा अपनत्व अभिबृद्धि गर्ने।
  • पारदर्शिता र जवाफदेहिता बृद्धि गर्दै सुशासन कायम गर्ने।

सभाध्यक्ष महोदय,

अब म आ.व. २०७९/०८० को बजेटका अपेक्षित उपलब्धी प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  • कोभिडपछि चलायमान हुदै गइरहेको आर्थिक प्रणाली गतिशील हुदै जानेछ ।
  • निर्माणाधिन वडा कार्यालयका भवनहरुको निर्माण सम्पन्न हुनेछ ।
  • सबै क्रमागत आयोजनाहरु सम्पन्न हुनेछन् ।
  • कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी बहुसंख्यक नागरिकले उक्त क्षेत्रबाट लाभ पाएका हुनेछन्।
  • आर्थिक तथा सामाजिक असमानता र विभेद अन्त्य गर्दै आत्मनिर्भर नगरपालिका स्थापनामा सहयोग पुग्नेछ।
  • सहज जीवनयापन र समुन्नत नगरपालिका निर्माणका लागि आवश्यकताको आधारमा भौतिक पूर्वाधारहरुको विकास हुनेछ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् सूचीकृत बेरोजगारहरुले रोजगारी प्राप्त गरेका हुनेछन्।
  • मानवअधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रवर्द्धन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ।
  • जलवायु परिवर्तनद्वारा सिर्जित प्रभाव तथा असरहरुसँग जुध्नका लागि जलवायु अनुकूलन, न्यूनीकरण र समानुकूलनका योजनाहरु कार्यान्वयन मार्फत् जलवायूमैत्री नगरपालिका निर्माण हुनेछ।
  • भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशासन र सुशासनयुक्त नगरपालिका निर्माणमा सघाउ पुग्नेछ।
  • ज्येष्ठ नागरिक, महिला, बालबालिका, शारीरिक रुपमा अशक्त, दलित आदिबासी वर्ग र क्षेत्रहरुलाई प्राथमिकतामा राखी लक्षित कार्यक्रमहरु सञ्चालन मार्फत् सामाजिक संरक्षणमा टेवा पुग्नेछ।
  • विभिन्न गुरुयोजनाहरु (खानेपानी, सडक, सिंचाई, विद्युत, सरसफाई) निर्माण गरी कार्यान्वयन हुनेछन्।
  • विद्यालयहरुको भौतिक सुधार एवं विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि हुँदै जानेछ र दक्ष जनशक्ती उत्पादन हुन सहयोग पुग्नेछ ।

सभाध्यक्ष महोदय,

म अब यस नगरसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  • नेपालको संविधान, २०७२
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • अन्तर सरकारी वित्त हस्तान्तरण ऐन, २०७४
  • चालु पन्ध्रौं पञ्चवर्षीय योजना,
  • संघीय सरकारका नीति, कार्यक्रम तथा बजेट वक्तव्य,
  • प्रदेश सरकारका नीति, कार्यक्रम तथा वजेट वक्तव्य,
  • छेडागाड नगरपालिकाको आवधिक योजना,
  • छेडागाड नगरपालिकाको आर्थिक ऐन, २०७९
  • छेडागाड नगरपालिकाको नगर प्रोफाइल,
  • वस्ती तथा टोलस्तरीय भेला, वडा समिति हुदै सहभागितामलक योजना तर्जुमा प्रक्रियाद्वारा आएका आयोजना तथा कार्यक्रमहरु।
  • छेडागाड नगरपालिकाको क्षेत्रमा विद्यमान विकास सम्बन्धी अवसर तथा चुनौती र वस्तुस्थिति अवस्थाको विश्लेषण।

सभा अध्यक्ष महोदय,

अब म आ.व. २०७९/०८० को बजेटका मुख्य मुख्य कार्यक्रमहरु र सो शीर्षकमा विनियोजित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु।

  • क्रमागत तथा अधुरा योजनाहरु

विश्वव्यापी कोरोना महामारीको रुपमा रहेको कोभिड१९ ले आक्रान्त बनाई सम्पूर्ण विकास निर्माणका कार्यक्रमहरु सम्पन्न हुन नसकि अलपत्र परिरहेको सन्दर्भमा क्रमागत तथा अधुरा आयोजनाहरु स्वास्थ्य चौकी भवनहरु, राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतका भवनहरु र वडा कार्यालयहरुको भवन निर्माणको लागि भुक्तानी गर्न लागि २ करोड  २५ लाख विनियोजन गरेकोछु । त्यसैगरी चालु आ== मा सम्पन्न भएका पाँचतारा यूवा संरक्षक मञ्च र हेल्भेटास नेपालसँगको साझेदारीमा संचालन भएका समपुरकका योजनाहरुको बाँकी रकम भुक्तानीको लागि रु= १ करोड ५१ लाख रुपैया विनियोजन गरेको छु ।

  • स्वास्थ्य क्षेत्रः
  • जनताको प्रत्यक्ष जीवनसँग सम्बन्धित जनस्वास्थ्य र उपचारात्मक स्वास्थ्यमा ध्यान दिँदै नगरबासीलाई सुरक्षित र स्वस्थ जीवन निर्वाहको व्यवस्था मिलाइनेछ । गत आर्थिक वर्षदेखि नगर अस्पताल निर्माणको कार्य सञ्चालन भई रहेको अवस्था छ । नगरपालिकाको आफ्नो भवन निर्माण नभएको अवस्थामा नगर अस्पतालमा विभिन्न सामाग्रीहरुको अभाव रहेको साथै नयाँ स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रहरुमा सामाग्रीहरुको अभाव भएको कुरालाई मध्यनजर गरी १५ लाख रकम विनियोजन गरेको छु भने नगर अस्पताल र स्वास्थ्य संस्थाहरुको लागि औषधी खरिद गर्नको लागि रु= ४० लाख रकम विनियोजन गरेको छु । त्यसैगरी नगर अस्पतालको दैनिक प्रशासन तथा अन्य व्यवस्थापन गर्नको लागि २५ लाख रकम विनियोजन गरेको छु ।
  • छेडागाड नगरपालिकाको भौगोलिक विकटता तथा जनताको गरिवीको अवस्थालाई मध्यनजर गरी जनताको न्यूनतम् स्वास्थ्य सेवाको उपलब्धताको लागि कार्कीगाउँ स्वास्थ्य चौकी र दशेरा स्वास्थ्य चौकीको माताहतमा रहने गरी २ वटा एम्बुलेन्स खरिद गर्नको लागि रु= ३० लाख रुपैया विनियोजन गरेको छु ।
  • नगरपालिका क्षेत्रभित्र संस्थागत रुपमा सुत्केरी भएका आमाहरुलाई सुत्केरी हुँदाकै बखत सुत्केरी भत्ता उपलब्ध गराउने गरी सुत्केरी भत्ता कोष स्थापना गर्नको लागि ५ लाख रुपैया विनियोजन गरेको छु ।

 

 

  • आर्थिक विकासः
  • नगरपालिकालाई कृषि उत्पादनमा क्रमशः आत्मनिर्भर बनाई गरिबी तथा भोकमरी उन्मूलन गर्न आय र रोजगारी बढाउन, कृषिको आधुनिकीकरण, विविधीकरण र व्यवसायीकरण मार्फत् कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न किसानसग मेयर कार्यक्रम संचालनको माध्यमबाट कृषि तथा रोजगारीमा टेवा पुर्याउन रु. १० लाख विनियोजन गरेको छु। किसानलाई परामर्श र सहयोग गर्न एक वडा एक कृषि प्राविधिक जनशक्तिलाई स्वयम् सेवकको रुपमा परिचालन गर्न आवश्यक बजेट विनियोजन गरेकोछु।
  • परम्परागत र रैथाने बालीको संरक्षण गर्दै किसानको खाद्य संप्रभुताको हक सुनिश्चित गर्नु नगरपालिकाको दायित्व हो त्यसैले उक्त कार्यक्रम संचालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। साथै कृषि जोखिम न्यूनिकरण कोष स्थापना गरी संचालन गर्नको लागि रु= १० लाख विनियोजन गरेको छु ।
  • व्यवसायिक बाख्रापालन, दुग्ध विकास कार्यक्रम संचालन गरी कृषि क्षेत्रको व्यवसायिक वातावरण निर्माण गर्न नगरबासीको जीवन स्तरमा सुधार गर्नको लागि कृषि तथा पशुविकास तर्फ समपुरकको रुपमा रु= १० लाख रकम विनियोजन गरेको छु ।
  • साना तथा घरेलु उद्यमीलाई प्रोत्साहन गर्दै नगरपालिकाको औद्योगिक वातावरण तयार गर्नको लागि आवश्यक बजेट विनियोजन गरेकोछु।
  • पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नगर गौरवको रुपमा रहेको सुयाडा मालिका मन्दिर निर्माणकार्य सम्पन्न गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। छेडागाड नगरपालिकामा रहेका व्यापार व्यवसायहरुलाई नियमन र व्यवस्थित गर्न दर्ता प्रक्रियामा ल्याइने छ।यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

     सभा अध्यक्ष महोदय,

  • सामाजिक विका

शिक्षा क्षेत्रः

  • सदा चलायमान हुनुपर्ने शिक्षा क्षेत्र बन्दाबन्दीको अवस्थाबाट विस्तारै उकालो चढ्दैछ । यस्तो विषम परिस्थितितिमा वैकल्पिक शिक्षाका उपायहरु अवलम्बन गरिनेछ । विद्यालयमा निर्माण हुने भौतिक पूर्वाधारहरु आरसीसी मोडेलमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छु। क्रमागत दायित्वको रुपमा रहेका विद्यालयका भवनहरुको लागि रु. ५० लाख विनियोजन गरेकोछु।
  • यस नगरपालिकामा रहेका उत्कृष्ट २ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा सघाउने गरी उत्कृष्ट विद्यार्थी छात्रवृत्ति कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेकोछु । शिक्षा क्षेत्रको समग्र सुधारको लागि आवश्यक बजेट विनियोजन गरेकोछु।
  • एकातिर आधारभूत तथा माध्यामिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जम्मेवारी संविधानले स्थानीय तहलाई सुम्पेको छ भने अर्कोतिर विद्यालयहरुमा विषयगत शिक्षक दरबन्दी अभाव भई गुणस्तरीय र प्रतिस्पर्धी नागरिक निर्माण गर्न अप्ठ्यारो पर्न गएको छ। यस्तै खालको समस्या हल गर्न माध्यमिक तथा आधारभूत विद्यालयका लागि आवश्यक जनशक्ति व्यवस्थापन अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छु । शिक्षा विकास तथा समन्वय ईकाइबाट शिक्षण सिकाई अनुदानमा नियुक्ति भएका प्रावि र आविका शिक्षकको पारिश्रमिकको लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • स्वस्थ र स्फूर्त नागरिक तयारी गर्न बच्चालाई गर्भावस्थामा नै पोषण आवश्यक पर्छ।यसका लागि गर्भ जाँच गर्ने महिलाहरुलाई हरेक पटक एक क्यारेट अण्डा वितरण गरी गर्भ अवस्थादेखि नै बच्चाको पोषणको हक सुनिश्चित गर्न बहुक्षेत्रीय पोषण कार्यक्रम तर्फ संघिय सरकारको शसर्त अनुदान वापत रु= ३० लाख प्राप्त भएको छ भने जसको लागि समपुरकको रुपमा नगरपालिकाबाट रु. ५ लाख विनियोजन गरेकोछु ।
  • विभिन्न स्थानहरुको असल अभ्यासहरुको अध्ययन अवलोकन गरी यस नगरपालिकामा कार्यान्वयन गर्नको लागि शैक्षिक भ्रमणमा ७ लाख र कर्मचारी तथा जनप्रतिनिधीहरुको अध्ययन भ्रमणमा १० लाख रकम विनियोजन गरेको छु ।
  • छेनपा ११ झाप्रामा रहेको नगर अस्पताल भवन निर्माणको कार्यलाई क्रमागत रुपमा निरन्तरता दिइनेछ ।

सभा अध्यक्ष महोदय,

  • शुद्ध खानेपानी सबै नागरिकलाइ सुनिश्चित गर्न संघीय सरकारको विशेष अनुदान अन्तर्गत पातलपानी चाल्नेमालिका खानेपानी आयोजना निर्माण गर्न रु १ करोड परिचालन गरिनेछ।
  • भौतिक पूर्वाधार विकास
  • क्रमागत वडा कार्यालय भवनहरुको बाँकी दायित्व भुक्तानीको लागि आवश्यक बजेटकोरु= ८० लाख रुपैया विनियोजन गरेको छु । बाँकी वडा कार्यालयका भवनहरु क्रमश निर्माण गरिनेछ जसको बजेट व्यवस्थापनको लागि सरोकारवाला निकायहरुमा आवश्यक समन्वय गरी बजेटको व्यवस्थापन गरिनेछ ।
  • नगरपालिकाको केन्द्र रहने स्थान चंखिलामा भौतिक पूर्वाधारहरु निर्माणको लागि रु= १ करोड ५ लाख रुपैया विनियोजन गरेको छु ।
  • यसै आ.. मा वडा नं= ७ को वडा केन्द्र टिकाचौर सम्म सडकको पहुँच सुनिश्चित गर्न रु. २० लाख विनियोजन गरेको छु।
  • पूर्वाधार विकासका कार्यक्रमहरु संघिय सरकारको साझेदारीमा सञ्चालन हुने जनकल्याण मावि सिरुगारको भवन निर्माणको लागि समपूरक कोषको रुपमा रु. ५० लाख विनियोजन गरेको छु।
  • सेभ द चिल्ड्रेनसँगको साझेदारीमा चालु आर्थिक वर्षको दायित्व रकम रु= ४४ लाख र आगामी आर्थिक वर्षको लागि रु+ ५० लाख विनियोजन गरेको छु ।
  • चालु आवमा सम्झौता भई बन्दाबन्दीको कारणले सम्पन्न हुन नसकेका आयोजनाहरुलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेकोछु।
  • नगरपालिकाका अधुरा तथा क्रमागत योजनाहरु संचालनको लागि ७१ लाख रकम विनियोजन गरेको छु ।
  • प्रत्येक विकास निर्माणका योजनाहरुमा विनियोजन भएको रकमको ५ प्रतिशत मर्मत संभार कोषमा जम्मा गर्ने र आगामी आर्थिक वर्षको लागि मर्मत संभार कोषमा ३५ लाख रकम विनियोजन गरेको छु ।
  • छेडा देखि थलह सम्मको सडकलाई अर्थ मन्त्रालय तथा सडक विभाग र सडक डिभिजन कार्यालयसँगको समन्वयमा यसै आगामी आर्थिक वर्षमा कालोपत्रेको कार्य शुरु गरिनेछ ।
  • वातावरणीय विकास र दिगो विकासः विपद व्यवस्थापनको पूर्वाधार
  • बन, वातावरण संरक्षणको लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा वृक्षारोषण र हरियाली प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।
  • साथै विभिन्न पर्व तथा दिवसको अवसरहरुमा पनि बृक्षारोपणलाई प्राथमिकतामा राख्न आवश्यक आवश्यक बजेटको व्यवस्थापन गर्न बन उपभोक्ता समितिहरुसँग सहकार्य गर्नेछु ।
  • विपदमा परेकाहरुको लागि आपतकालीन राहत कोषको स्थापना गरी सोही बमोजिम राहत उपलब्ध गराउन विपद व्यवस्थापन कोषमा रु= ४० लाख बजेट विनियोजन गरेको छु।
  • सामुदायिक बनको वार्षिक कार्ययोजना स्वीकृतिको लागि आवश्यक प्रबन्ध गरी सामुदायिक वनको वार्षिक आयको १० प्रतिशत स्थानीय तहलाई राजश्व बुझाउने व्यवस्थालाई कडाइका साथ लागु गरिनेछ ।
  • सुशासन
  • छिटो छरितो सेवा प्रवाहको लागि भ्रष्टाचारमुक्त एवम् सुशासनयुक्त प्रशासन हुनु आवश्यक छ। तब मात्र नागरिकमैत्री प्रशासन हुन सक्छ। जसको लागि दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ। हामीले प्रयोग गर्दै आएको अभिलेख प्रणालीलाई वैज्ञानिक बनाउनको लागि विद्युतीय सरकारको अवधारणा लागू गरिनेछ । कुनै पनि योजना तर्जुमाको पहिलो आधार भनेको तथ्याङ्क हो। जसको लागि प्रत्येक वडाको वस्तुगत विवरण निर्माण साथै प्रत्येक वडाको विपन्नता स्तरीकरण गर्नको लागि आवश्यक बजेट विनियोजन गरेको छु। नगरको पहिचान गराउने विभिन्न खालका राष्ट्रिय अभियानहरु (जस्तैः पूर्ण सरसफाई नगरपालिका, पूर्ण साक्षर नगरपालिका, पूर्ण खोपयुक्त नगरपालिका, बालमैत्री स्थानीय शासन नगरपालिका, वातावरणमैत्री नगरपालिका, जातीय भेदभाव र छुवाछुतमुक्त नगरपालिका, घरभित्रको धुँवामुक्त नगरपालिका आदि) सञ्चालन गरी नगरपालिकाको पहिचान स्थापित गर्न आवश्यक आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
  • उपभोक्ता समितिहरुलाई योजना व्यवस्थापन सम्बन्धी तालिमको व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • नगरपालिकामा रहेको न्यायिक समितिलाई सक्षम बनाउन र त्यसबाट प्रभावकारी न्याय सम्पादन गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
  • नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउनको लागि संगठन तथा संस्थागत विकासमा रु १५ लाख विनियोजन गरेको छु । जसबाट सार्वजनिक सुनुवाई, योजना उपभोक्ता समितिहरुको तालिम, सामाजिक परीक्षण र राजश्व सुधारको लागि निर्माण भएको कार्ययोजनालाई कार्यान्वयन गरिनेछ ।

सभा अध्यक्ष महोदय,

  • युवा तथा खेलक
  • स्वच्छ जीवनको लागि खेलकूद भन्ने मान्यतालाई मध्यनजर गरी नियमित रुपमा स्थानीय स्तरमा खेलकूदका विभिन्न कार्यक्रमहरु समावेश गरी नगरस्तरीय खेलकूद आयोजना गर्न रु= १० लाख रकम विनियोजन गरेको छु।
  • युवा प्रतिभा पहिचान कार्यक्रम र युवा परिचालनको लागि राष्ट्रिय युवा परिषद् नेपालसँगको सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेकोछु।
  • यूवाहरुलाई घरेलु उद्यम तर्फ तथा व्यवसायिक उत्पादनसँग जोडेर उनीहरुको जीविकोपार्जनलाई सहज बनाउन घरेलु उद्यम विकास कार्यक्रममा आवश्यक बजेटको विनियोजन गरेको छु ।
  • महिला तथा बालबालिकातर्फः
  • मानव सभ्यताको सम्मानः छुवाछूत र सामाजिक कुरीति बिरुद्धको अभियान“भन्ने नाराका साथ सामाजिक सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • महिला, दलित, शारीरिक अशक्त, जेष्ठ नागरिक र वालमैत्री कार्यक्रमहरु सञ्चालनको लागि रु. १० लाख विनियोजन गरेको छु।
  • महिला तथा बालबालिकासँग उपमेयर” कार्यक्रम मार्फत् महिलाहरुको क्षमता विकास तथा आत्मनिर्भर बनाउन र बालबालिकाहरुको संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्न रु. १० लाख विनियोजन गरेको छु ।

सभाअध्यक्ष महोदय,

  • संस्थागत विकास, सेवा प्रवाह र सुशासन
  • कर्मचारीहरुको पारिश्रमिक, जनप्रतिनिधिहरुको सुविधा लगाएत कर्मचारीहरुको वृत्ति विकास गर्न बिभिन्न कार्यक्रमहरु तर्जुमाको लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै क्षमता विकासका लागि विभिन्न किसिमका क्षमता अभिबृद्धि हुने खालका कार्यक्रमहरु संचालन  लगाएतको संस्थागत विकास र सेवाप्रवाहको प्रबन्ध मिलाउनको लागि चालु खर्चमा १२ करोड ९६ लाख ४५ हजार विनियोजन गरेको छु।
  • यस छेडागाड नगरपालिकाको आ.व. २०७९/०८० को लागि नगरपालिकाबाट छनौट भएका वडा कार्यालय भवन निर्माण, शैक्षिक जनशक्ति व्यवस्थापन, विषयगत शाखाका कार्यक्रम, मर्मत संभार कोष, समपरक कोष, पोषण कार्यक्रम, नगरस्तरीय खेलकूद प्रतियोगिता, विद्यालय सुधार कार्यक्रम लगायत विभिन्न सडक, खानेपानी, विद्यालय भवन, सिंचाई योजनाहरु नगरस्तरीय रुपमा घोषणा गर्न आवश्यक बजेट विनियोजन गरेको छु।
  • त्यसैगरी यस छेडागाड नगरपालिकाका १३ वटै वडाहरुमा क्षेत्रफल, जनसंख्या, नगरपालिकाको केन्द्र देखिको भौगोलिक दूरी, राजस्व क्षमता र सङ्कलन, पूर्वाधार विकासको अवस्था, भारित लागत, गरिबी तथा मानव विकास सूचकाङ्कको आधारमा वडाबाटै योजना छनौट गरी तपसिल बमोजिम कार्यान्वयन गर्नको लागि रु. २ करोड ३९ लाख रकम विनियोजन गरेको छु।

तपसिल

वडा नं. विनियोजित बजेट अंकमा रु. अक्षरमा कैफियत
२०९१०२४ बीस लाख एकानब्बे हजार चौविस रुपैया  
१९२६४१७ उन्नाइस लाख छव्विस हजार चार सय सत्र रुपैया  
१९८७४९० उन्नाइस लाख सतासी हजार चार सय नब्बे रुपैया  
१४९२३५८ चौध लाख बयानब्बे हजार तीन सय अन्ठाउन्न रुपैया  
१६२८०६७ सोह्र लाख अट्ठाइस हजार सतसठ्ठी रुपैया  
२०४२५९९ विस लाख बयालिस हजार पाँचसय उनान्सय रुपैया  
१२२९३१५ बाह्र लाख उनान्तिस हजार पन्ध्र रुपैया  
१९५५९६२ उन्नाइस लाख पचपन्न हजार नौसय बैसट्ठी रुपैया  
१६३५६२२ सोह्र लाख पैतिस हजार छ सय बाइस रुपैया  
१० २१५६७४४ एक्काइस लाख छपन्न हजार सात सय चवालिस रुपैया  
११ १९६८७७३ उन्नाइस लाख अर्सट्ठी हजार सात सय त्रिहत्तर रुपैया  
१२ २२६३३६५ बाइस लाख त्रिसट्ठी हजार तीसय पैसट्ठी रुपैया  
१३ १९१२९१६ उन्नाइस लाख बाह्र हजार नौसय सोह्र रुपैया  
जम्मा २३९००००० दुई करोड उनान्चालिस लाख    

 

सभा अध्यक्ष महोदय,

वित्तीय समानिकरण, राजश्व बाडफाँड, विशेष अनुदान, समपुरक अनुदान र आन्तरिक श्रोतको विनियोजन मध्ये पुँजीगत तर्फ रु १४ करोड ४० लाख ९० हजार रहेको छ भने चालु तर्फ रु= १३ करोड ६७ लाख ९७ हजार रहेको छ। साथै शसर्त अनुदानको खर्च शर्त अनुसार नै हुनेछ।

सभा अध्यक्ष मोहोदय,

अब मआ.व. ०७९/०८० को लागिमाथि प्रस्तावित खर्च व्यहोरीने स्रोतहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु।

क्र=सं= शिर्षक प्राप्त हुने रकम कैफियत
= समानीकरण अनुदान तर्फ    
संघ १२ करोड ४५ लाख  
प्रदेश १ करोड २५ लाख ९० हजार  
=ल्या= ७० लाख  
  जम्मा १४ करोड ४० लाख ९० हजार  
= सशर्त संघ तर्फ    
चालु ३२ करोड ९३ लाख  
पुँजीगत ३ करोड ५१ लाख  
समपुरक अनुदान ५० लाख  
विशेष अनुदान १ करोड  
  जम्मा ३७ करोड ९४ लाख  
= सशर्त प्रदेश तर्फ    
पुँजीगत ३ करोड ५७ लाख  
  जम्मा ३ करोड ५७ लाख  
= राजश्व बाँडफाँड तर्फ    
संघ १२ करोड ९६ लाख ४५ हजार  
प्रदेश ९ लाख ५२ हजार ७ सय ३८  
आन्तरिक श्रोत ५६ लाख  
अ.ल्या. १५ लाख  
  जम्मा १३ करोड ७६ लाख ९७ हजार ७ सय ३८  
  कूल जम्मा ६९ करोड ६८ लाख ८७ हजार ७ सय ३८  

 

 

सभाअध्यक्षज्यू,

कुनै पनि योजनाको दस्तावेज तयार गर्नु आफैमा महत्वपूर्ण र कठिन कार्य हो ।बस्ती तथा टोलहरुबाट योजना छनौट हुँदै नगरसभा सम्म आएको हुनाले पक्कै पनि लाग्छ यसपटकक छनौट भएका योजनाहरुबाट छेडागाडबासीहरुले प्रत्यक्ष रुपमा लाभ लिनेछन् । यसैगरी एउटै ढोकाबाट कार्यान्वयन गर्ने परिपाटीको विकास गर्न विभिन्न विषयगत निकायहरु र दातृ निकायहरुबाट आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने बार्षिक विकास कार्यक्रमहरुलाई पनि वार्षिक योजना पुस्तिकामा समावेश गरी कार्यान्वयन गरिनेछ । सिमित श्रोत साधन तथा अधिक जनचाहाना र मागको विचबाट तर्जुमा गरिएको यस छेडागाड नगरपालिकाको वार्षिक योजनाको कार्यान्वयन अझ चुनौतीपूर्ण हुने महसुस गरेको छु। सम्बद्ध सबै पक्षको सार्थक सहयोगबाट तयार भएको यो बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा समेत यहाँहरुको महत्वपूर्ण भूमिका रहने छ भन्ने विश्वास लिएको छु। यस अवसरमा छेडागाड नगरपालिकाको समग्र पक्षको विकासमा प्रभावकारी भूमिका खेल्ने राजनीतिक दल, विषयगत निकायहरु, विभिन्न दातृ निकायहरु लगायत सम्पूर्णप्रति नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा समेत यथोचित सहयोग र सद्भावको अपेक्षा गरेको छु।

अन्तमा,

हाम्रो निमन्त्रणालाई हार्दिकता पूर्वक स्वीकार गरी पाल्नुहुने यस सभामा उपस्थित अतिथि महानुभावहरु लगायत योजना तर्जुमाको प्रारम्भिक चरणदेखि बजेट सार्वजनिक गर्दा सम्मका हरेक क्रियाकलापमा प्रत्यक्ष वा परोक्ष संलग्न रही सहयोग पुर्याउनुहुने नगरपालिकाका सम्पूर्ण वडाका वडाअध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्य, वडा सदस्य, पत्रकार मित्रहरु, नागरिक समाज लगायत सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसै गरी नगर सभा तयारीको प्रारम्भिक चरणदेखि अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु। नगरपालिकाले लिएको लक्ष्य प्राप्त गर्न स्वीकृत कार्यक्रम तथा बजेट समयमै सञ्चालन तथा सम्पन्न गरी प्रतिफल प्राप्तिका लागि यहाँहरु सहित सम्पूर्ण नगरपालिकाबासीहरुको समान तथा सक्रिय सहभागिता र सहयोग रहनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

धन्यवाद!

तपाईको प्रतिक्रिया