प्रयोगविहिन अवस्थामा विज्ञान प्रयोगशाला

Files Photo

प्रेम विश्वकर्मा
जाजरकोट । भेरी नगरपालिका ११ जगतिपुरमा रहेको शिव शंकर माद्यामिक विद्यालय जगतिपुरमा रहेको विज्ञान प्रयोगशाला प्रयोग विहिन अवस्थामा छ । विद्यालयमा प्रयोगशाला भएपनि प्रयोगमा भने नआएको हो । साविकको गाउँ विकास समिति हुदाँ बखत नै गाउँ विकास समितिको सहयोगमा यस विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको थियो । २०६३ सालमा यस विद्यालयलाई जगतिपुर गाविसले प्रयोगशालाको लागि सहयोग गरेको थियो । संघीयता आएपछि भेरी नगरपालिकाले पनि विज्ञान प्रयोगशालाको लागि सहयोग गरेको थियो । तर विद्यालयमा विज्ञान प्रयोगशाला हुदाँ पनि प्रयोगमा नआएको विद्यार्थीहरुको गुनासो छ ।

कक्षा १ देखि सोही विद्यालयमा पढ्दै आएका विबेक आचार्य अहिले कक्षा १० मा पढ्छन् । उनले बाल्यकाल देखिको शिक्षा यहि विद्यालयबाट पाएका छन् । तर विद्यालयमा विज्ञान प्रयोगशाला छ भन्ने मात्र सुनेको उनको भनाइ छ । विज्ञान प्रयोगशालाको नाम बारम्बार सुने पनि त्यहाँ कस्ता सामग्रीहरु राखिएको हुन्छ त्यो भने थाहा नपाएको उनको दुखेसो पोखे । त्यस्तै सोही विद्यालयमा अध्ययनरत कक्षा १० का छात्र सन्तोष चन्दको पनि यस्तै दुखेसो छ । प्रयोगशाला भएपनि विद्यालयले देखाउन कहिलै पनि नलिएको सन्तोषको भनाइ छ ।

उनले भने, ‘विद्यालयमा यो प्रयोगशाला त छ भन्नलाई मात्र हो यसको काम कुनै बेला पनि आएको छैन् ।’ विद्यालयले यसको सही सदुपयोग गर्न नसकेको सोही विद्यालयमा अध्ययरत एक छात्रा बताउँछिन् । जे जति समान छन् त्यति मात्र देखाएपनि केही सिकाइ हुने यस विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बताउँछन् । समय भएपनि विषय शिक्षकले देखाउन नचाहने तथा वेवास्ता गरेको समेत बताउँछन् ।

तर विद्यालयमा निमावि तहमा विज्ञान पढाउने शिक्षक हरि नारायण यादवले यस विज्ञान प्रयोगशालामा आवश्यक सामग्रीहरु नभएको बताएका छन् । भवनको अभावका कारण पनि यस प्रयोगशालालाई व्यवस्थित तरिकाले राख्न नसकेको कारण पनि विद्यार्थीहरुलाई प्रयोयशाला देखाउन नसकिएको यादवको भनाइ छ । विषय शिक्षकलाई विज्ञान प्रयोगशालाको बारेमा उपयूक्त तालिम नभएको उनको गुनासो छ । प्रयाप्त मात्रामा यस सम्बन्धि तालिम भएपनि यसको प्रयोग बारे छात्रछात्राहरुलाई जानकारी गराउन सजिलो हुने यादवको भनाइृ छ ।

शिव शंकर माविमा मात्र होइन भेरी नगरपालिकाका अधिकांश माविमा विज्ञान प्रयोगशाला भएपनि प्रभावकारी रुपमा प्रयोगमा भने आएका छैनन् । कुनै विद्यालयमा यस बारे तालिम नभएको र कुनै विद्यालयमा त विज्ञान शिक्षक नभएको कारण पनि प्रयोगमा नआएको भेरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमूख अमृत बहादुर पुनले बताएका छन् । विज्ञान प्रयोगशाला आजको आवश्यकता भएका कारण यसको प्रभावकारी प्रयोगका लागि नगरपालिकाले आवश्यक पहल चाल्ने शिक्षा शाखा प्रमुख पुनको भनाइ छ ।

तपाईको प्रतिक्रिया