छेडागाडमा जिल्लाकै पहिलो नगर स्तरीय प्रारम्भिक बालविकास शिक्षकहरुको सम्मेलन

छेडागाड । जिल्लाको छेडागाड नगरपालिकामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको सहयोगमा छेडागाड नगरपालिकाको आयोजनामा नगरस्तरीय प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन सम्पन्न भएको हो ।

छेडागाडको प्रशासनिक केन्द्र मनघाटमा विहिबारदेखि सुरु भएको प्रारम्भिक बाल विकास शिक्षकहरुको प्रथम सम्मेलन शुक्रबार सम्पन्न भएको थियो । दुई दिनसम्म चलेको सम्मेलनबाट १५ बुँदे छेडागाड घोषणा–पत्र जारी गरिएको छ भने, सुनिता शाहीको संयोजकत्वमा १३ सदस्य नगरस्तरीय बालविकास शिक्षकहरुको संजाल गठन गरेको छ ।

१ सय ६५ जनाको सहभागीतामा सम्पन्न प्रथम सम्मेलनले बाल बिकास केन्द्रमा सतप्रतिशत बालबालिकाहरुको भर्ना र निरन्तरता, बर्षमा २२० दिन बालविकास केन्द्र खोल्नुको साथै १ सय ९२ दिन पठनपाठनको सुनिश्चिता, ९० प्रतिशत दैनिक उपस्थितिको सुनिश्चितता, क्षमता विकास तथा सिकाई आदानपदान गर्न घुम्ती बैठक, नमूना बालविकास केन्द्र बनाउन भौतिक, व्यवस्थापकीय तथा न्यूनतम ६ कुना सिकाइ सामग्रीहरूको व्यवस्थापन, एक वडा एक नमुना बाल विकास केन्द्र, गृह विद्यालय, गृह शिक्षक, घरमै प्रारम्भिक साक्षरता र गणित तथा घरमै विद्यालय कक्षाहरूको विस्तार गर्नुपर्ने जारी घोषणा–पत्रमा उल्लेख गरिएको छ ।

बालबालिकाहरुलाई ६–६ महिनाको एक पटक जुकाको औषधी खुवाउनुपर्ने, स्वास्थ्य परीक्षण, भिटामिन ए, आईरन चक्की खुवाउनुको साथै दिवा खाजाको सुनिश्चितता गर्ने, बालविकास केन्द्रहरूको अनुगमन, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम मापदण्डहरूको सुनिश्चितता, अभिभावक शिक्षाको विस्तार, नयाँ पाठ्यक्रम–२०७७ अनुसार दैनिक पाठ्योजनाको आधारमा कक्षालाई बालमैत्री बनाउने, बालविकास केन्द्रहरूको गुणस्तर सुधार गर्न नगरपालिकाको एकीकृत रणनैतिक योजना र बालविकास केन्द्रका न्यूनतम मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, प्रथम नगरस्तरीय प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको सम्मेलनबाट गठन भएको नगरस्तरीय बालविकास केन्द्रका शिक्षकहरूको संजालको क्षमता अभिवृद्धि, शिक्षकहरुले राखेका मागहरूको सम्वोधन जस्ता विषयलाई जारी गरिएको घोषणा–पत्रमा उल्लेख गरिएको छ ।

छेगाडाड नगरपालिकामा सम्पन्न भएको नगर स्तरीय प्रारम्भिक बालबिकास शिक्षकहरुको प्रथम सम्मेलन जिल्लाकै पहिलो सम्मेलन हो । नगर प्रमुख रत्न बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको नगरस्तरीय प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकहरुको प्रथम सम्मेलन सफलताको शुभ कामना मन्तव्य नगर उपप्रमुख चन्द्र बहादुर थापा, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंग बहादुर आरसी, सेतो गुराँस सूर्खेत जिल्ला संयोजक जानकी देवकोटा, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवी पन्त, नगरपालिकाका सामाजिक विकास समितिका संयोजक मोतिलाल खत्री लगाएतका व्यक्तिहरुले राखेका थिए ।

जारी-छेडागाड-घोषणा—पत्रको-पूर्णपाठ

तपाईको प्रतिक्रिया