
जाजरकोट । जाजरकोटका होटेल व्यवसायीहरुलाई दुई दिने अर्गानिक तथा रैथाने परिकार सम्बन्धी तालिम दिईएको छ । जिल्ला कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका कृषि शाखाको समन्वयमा उक्त तालिम दिईएको हो । तालिममा जिल्लाका सात वटै स्थानीय तहका २० जना व्यवसायीहरुको सहभागिता रहेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले जानकारी दिए । तालिममा जिल्लामा पाईने विभिन्न अर्गानिक तथा रैथाले वालीहरु बाट बनाउन सकिने परिकारहरु सम्बन्धी तालिम दिईएको थियो ।

कोदो, फापर,कालो मार्सी धान बाट बनाउन सकिने परिकार सम्बन्धी धेरै कुराहरु सिकेको सहभागी शिला नेपाली ( विश्वकर्मा)ले बताईन् । उनले भनिन्, ‘हामीले तालिम बाट कोदोको केक, फापरको केके, मम, नमकिन, विस्कुट, मार्सीको खीर बनाउन सिकियौं ।’ समापन कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले अर्गानिक खानेकुराको धेरै महत्व रहेको र उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘अहिले हामीले धेरै रसायनिक खानेकुराहरु प्रयोग गरिरहेका छौं, यसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ, अव हामीले अर्गानिक परिकार उत्पादन गरी प्रयोग गरेमा स्वाथ्यमा निकै ठुलो सुधार आउनेछ ।’ जिल्लामा सञ्चालित होटल व्यवसायीहरुलाई दिएको यो तालिम निकै प्रशंसनीय र महत्वपूर्ण रहेको समेत बताए ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालले कर्णाली प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने नीतिलाई सफल पार्न तालिमको आयोजना गरेको बताए । उनले भने, ‘हाम्रो जीवनमा अर्गानिक परिकारहरुको निकै महत्व रहेको छ, अर्गानिक परिकारहरुको उत्पादनमा जोड दिनुपर्ने छ ।’

तालिममा सहभागीहरुले अव गाउँगाउँमा अर्गानिक परिकार तथा उत्पादनमा जोड दिने बताएका छन् । हाम्रै गाउँघरमा पाईने अर्गानिक चीजहरु बाट धेरै परिकारहरु बनाउन सकिने रहेछ । अव हामी अर्गानिक उत्पादनमा जोड दिनेछौं तालिममा सहभागीहरूले भने । तालिममा प्रशिक्षक जुम्लाकी राधिका भण्डारी थिईन् ।
















































। १ असार २०७९, बुधबार