८ वर्षको अनुसन्धानपछि सरकारले धानका २ नयाँ उन्नत जात विकास गर्यो


झन्डै ८ वर्षको अनुसन्धानपछि सरकारले धानका २ नयाँ उन्नत जात विकास गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले थप २ नयाँ जात खुमल १२ र खुमल १४ उन्नत जात विकास गरेको हो  । नार्कअन्तर्गत राष्ट्रिय बाली तथा आनुवंशिक अनुसन्धान केन्द्रले विकास गरेको उक्त जात राष्ट्रिय बीउविजन समितिले अनुमोदन गरी राजपत्रमा प्रकाशन भइसकेको छ ।

‘खुमलटार’ नामक धानको जातमा रोगकीरा लाग्ने, उत्पादन घट्ने समस्या देखिएपछि नार्कले थप २ नयाँ जात विकास गरेका हुन । विकास गरिएको नयाँ जात मसिनो धान हो । यो धान १ सय ४५ देखि १ सय ४७ दिनमा पाक्छ । यसबाट प्रतिहेक्टर ४.७ टनसम्म उत्पादन हुन्छ । यो धान मध्यपहाडका लागि सिफारिस गरिएको नार्कले जनाएको छ ।

सरकारले नेपालमा खेती हुँदै आएका धानका ५ रैथाने जातलाई पञ्जीकरण अर्थात नेपालमा सूचीकृत गरेको छ । सुचिकृत गरिएको रैथाने धानमा एक्ले, रातो अनदी, कालो झिनुवा, बयर्नी र पहेंले नामका रैथाने जात रहेका छन् । समुद्री सतहबाट ८ सयदेखि १ हजार मिटरसम्ममा लगाउन मध्यपहाडी क्षेत्रमा ति धानहरु सिफारिस गरिएको छ । धान सुचिकृत भएपछि अन्य मुलुकले चोर्ने, विदेशमा लगेर आफ्नो उत्पादन भनेर दर्ता गर्ने सम्भावना नरहने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।

केन्द्रले आँपका ३ रैथाने जात पनि सुचिकृत गरेको छ । दशहरी, माल्दह र आम्रपाली जातलाई सरकारले सूचीकृत गरेको हो  । यी सबै जात समुद्री सतहदेखि ६ सय मिटर उचाइसम्मको क्षेत्रका लागि सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया