रुकुम पश्चिम जिसस प्रमुखमा जनार्दन शर्माकी बहिनी निर्विरोध


रूकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) एक्लै जिल्ला समन्वय समिती गठन गरेको छ। ६ मध्ये चार पालिका जितेको माओवादीले एकलौटी रुपमा जिसस गठन गरेको हो।

प्रमुखमा लुम्बिनी गौतमसहित माओवादी केन्द्रको सिंगो प्यानल निर्विरोध निर्वाचित भएको छन्। जिसस प्रमुखमा निर्वाचित गौतम अर्थमन्त्री जनार्दन शर्माकी बहिनी हुन्।

उनी माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीकी नन्द हुन् भने उनका श्रीमान गोरखबहादुर केसी आठबिसकोट नगरपालिकाका निवर्तमान नगरप्रमुख हुन्। उनी अब प्रदेशमा चुनाव लड्ने तयारी गरिरहेकी छन्।

माओवादीले उपप्रमुखमा देवबहादुर कामीलाई उम्मेदवार बनाएको छ। खुला सदस्यतर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतम, महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपाली तथा दलित वा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी रहेको छ।

माओवादी केन्द्रको एकल जिल्ला समन्वय समिति बन्ने रुकुममा माओवादीका प्रभावशाली नेताहरुले नै आफन्तलाई प्रमुखको टिकट दिलाउँदै निर्विरोध चयन गर्न भूमिका खेलेका हुन्। अन्य दलले जिससमा उम्मेदवारी नदिएका कारण उनीहरु निर्विरोध निर्वाचित भएपनि घोषणा हुन भने बाँकी छ।

तपाईको प्रतिक्रिया