मध्यपहाडी राजमार्गले फेरिँदै जनजीवन

blog
जाजरकोट । जाजरकोट र दैलेखको सिमाना स्थित सुयाडामा अहिले होटल र रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ । १० वर्षअघिसम्म घना जंगल रहेको उक्त क्षेत्रमा अहिले होटल, रेस्टुरेन्ट खोल्नेको होडबाजी चलेको छ भने जिल्लाको मुख्य व्याारिक केन्द्र बन्न लागेको छ ।
मध्यपहाडी राजमार्गको संञ्जाल जोडिएसँगै गाउँमा बजार विस्तार भएको हो । अहिले आसपासका ठाउँबाट सुयाडामा घरजग्गा किन्ने र व्यवसाय गर्नेहरूको लहर चलेको छ ।

२०६० सालमा रोजगारीका लागि भारत छिरेका छेडागाड नगरपालिकाका रामबहादुर सिंहले राजमार्ग खुलेपछि आफू गाउँ फर्किएको बताए । अहिले सुयाडामा उनले झन्डै ५० लाख रुपैयाँको लगानीमा रेस्टुरेन्ट खोलेका छन् ।

जुनीचाँदे गाउँपालिका–५ का लयनबहादुर विसीले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए । ‘पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो, कि सबैलाई बाडेर सकिन्थ्यो,’ उनले भने, ‘सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि झन् यो पेसामा प्रेरणा मिलेको छ ।’ व्यवसायसँगै सडक सुविधापछि पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको उनले बताए ।

मध्यपहाडी राजमार्गको कार्यालय दैलेखका अनुसार रुकुम पूर्वको पातीहाल्ने देखि अछामको चौखुट्टेसम्म ४ सय ४० किलोमिटर सडक बनेको छ । यसमध्ये ३ सय किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको कार्यालयका इन्जिनियर देवेन्द्र भट्टराईले बताए । उनका अनुसार अबको एक वर्षमा १ सय ४० किलोमिटर कालोपत्रे गर्ने राजमार्गको लक्ष्य छ ।

अहिलेसम्म दैलेखमा ६५, अछाममा १ सय ७, रुकुम पूर्वमा ३२, रुकुम पश्चिममा ६० र जाजरकोटमा ३६ किलोमिटर सडक कालोपत्रे भइसकेको उनले जानकारी दिए । कार्यालयले अछामदेखि रुकुम पूर्वसम्म २४ वटा सडक निर्माणका ठेक्का र ५ पुल ठेक्का संञ्चानमा ल्याएको छ । #कान्तिपुर#

तपाईको प्रतिक्रिया