जाजरकोटको जिसस प्रमुखमा खत्री र उपप्रमुखमा सिंह निर्वाचित

No description available.
जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको प्रमुखमा कालीबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराएका खत्रीको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दलबहादुर सिंह निर्वाचित भएका छन् ।

बुधबार भएको निर्वाचनमा ११ मत प्राप्त गर्दै सिंह निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका गोरे कार्कीले ३ मत प्राप्त गरेका थिए । जिल्ला समन्वय समितिको निर्वाचनमा जाजरकोटमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

नवनिर्वाचित जिल्ला समन्वय प्रमुख छेडागाड नगरपालिका ११ बाट खुला सदस्यमा निर्वाचित भएका थिए । उपप्रमुखमा विजयी सिंह बारेकोट गाउँपालिका ४ बाट खुल्ला सदस्यमा निर्वाचित भएका थिए ।

त्यस्तै, काँग्रेसबाट अन्य सदस्यमा खड्कबहादुर बुढा, चित्रप्रसाद शर्मा, जितबहादुुर रोकाय, विन्दु शाही, र पानसा सिंह जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् । यस्तै, नेकपा माओवादी केन्द्र बाट नन्दकला विक, विनिता विक निर्वाचित भएका छन् ।

जाजरकोटमा ७ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा काँग्रेसले २ पालिकामा अध्यक्षसहित २ उपाध्यक्ष र छेडागाड नगरपालिका प्रमुख सहित भेरी नगरपालिका र नलगाड नगरपालिकामा उपप्रमुख जितेको थियो । माओवादी केन्द्रले नलगाड नगरपालिका प्रमुख सहित छेगागाड नगरपालिका उपप्रमुख, शिवालय गाउँपालिका र बारेकोट गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । नेकपा एमालेले अध्यक्ष बारेकोट, जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा प्रमुख जितेको छ । कुल १४ मतदातामध्ये ७ काँग्रेस, ४ माओवादी केन्द्र, ३ नेकपा एमाले छन् ।

तपाईको प्रतिक्रिया