मुगुमा विद्यार्थीहरू यार्सा टिप्न गएपछि विद्यालय बन्द

मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि यस क्षेत्रका डेढ दर्जन विद्यालय बन्द भएका छन् ।
उक्त गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगा, लगायत विद्यालयमा अध्यायरत कक्षा ५ देखि १० सम्म छात्रछात्रा सातु–सामल खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर उक्लिएपछि पठनपाठन प्रभावित बनेको छ ।

विद्यार्थीहरु यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयहरुको पढाइ प्रभावित बनेको हो ।

केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बताए ।

भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताए । जेठ १५ देखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि मात्र पढाइ पुनः सुरु हुने अपेक्षा गरिएको छ । शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थीहरू पढाइ छोडेरै यार्सा टिप्न पाटन जाने गर्छन् ।

यससँगै उनीहरूले पढाइ खर्च पनि आफैं जुटाउने गरेको शिक्षकहरू बताउँछन् । यसरी यार्सा टिप्न जाने विद्यार्थीहरूले यार्सा बेचेर एक सिजनमा न्यूनतम ३० देखि ४५ हजार रुपैयाँसम्म कमाउने गरेको बताइन्छ ।

यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइल लगायत सामग्री पनि किन्ने गरेका छन् । पछिल्लो एक दशकयता नै यस क्षेत्रका विद्यार्थीहरू यार्सा टिप्न पाटन जाने गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । जसकारण यस क्षेत्रका स्कुल पनि यो सिजनमा एक महिनासम्म सुनसान हुने गरेको अध्यक्ष लामाको भनाइ छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको रिमार, टाँके, कोइकी, ह्यामार लगायत स्थानमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा यहाँका विद्यार्थीको मात्रै नभएर उनीहरूका अभिभावकको पनि प्रमुख आयस्रोत बनेको छ । #कान्तिपुर#

 

तपाईको प्रतिक्रिया